अस्पताल निर्माण गरौँ, झाँक्री बिस्थापित गरौँ !!
आजकल झाँक्री निकै पिछडिएका गाउँघरमा बाहेक अन्त पाइंदैन। अँध्यारा बस्तीहरु र पहाडका ओढारहरुमा झाँक्रीहरु बस्छन भन्ने सुनिन्छ। यिनले खासमा उपचार केहि गर्दैनन्, खालि ढ्यांग्रो र कुचो लिएर तर्साऊंछन्। यिनले उपचारको नाममा मान्छेको हुर्मत लिन्छन। बोलेको सुनिन्छ तर यिनले बोलेको पटक्कै बुझिन्न। के के फत्फताउँछन्, कसैले पत्तो पाउंदैन। तर मान्छेले सुनेकै हुन्छन।
देशमा गरिखान असजिलो भए पछि वा अलि धेरै उन्नति गर्न बिदेसिएकाहरुलाइ झाँक्रीहरुले बडो खुनी नजरले हेर्छन। तिमीहरु खुसीले गयौ, उतै जे गर्नु हो गर, यहाँ भाग खोज्न नआओ भनेर यी झाँक्रीले ढ्यांग्रो ठटाउछन। हामीले देश सर्बनास गरे पनि तिमीहरुले बोल्न पाउँदैनौ भन्छन झाँक्रीहरु। यहाँको कुशासन, दलाली र बेथितिमा बोल्न हुन्न भन्छन झाँक्रीहरु। हामीले जे गरे नि बोल्न पाउन्नौ, तिमीहरुको अधिकार छैन भन्छन झाँक्रीहरु।
कुनै एकजनाले भनेको सुने “अहिले नेपालमा नेता कर्मचारी र बिचौलियालाइ बाहेक कसैलाई बस्न खान छैन”। शायद उनी प्रबासी भएको भए उनी आफ्नो आफ्नो मन्त्रले ठहरै पार्ने प्रयत्न गर्थे झाँक्रीहरुले। तर उनी नेपालमै छन् र बल्ल बाँचे। दैनिक हजारौं युवाहरुले देश छोड्दा यिनलाई पीर छैन तर आउन मन गर्नेहरुलाइ ढ्यांग्रो बजाएर तर्साऊंछन् झाँक्रीहरु।
संसारभर बिदेशी लगानीको कुरा छ, यहाँ आफ्नै दाजु भाइले केहि गर्न केहि बढी अधिकार मागेका छन्, तैपनि झाँक्रीहरुलाई कतै आफ्नो लुटको स्वर्गमा आगो लाग्छ कि भन्ने पीर छ। विदेश बसेकोले नियम कानुन खोज्छ, सुरक्षा खोज्छ, बेथितिमा प्रश्न गर्ने हिम्मत राख्छ, त्यसैले झाँक्रीलाइ डर छ कतै फर्किहाले भने हाम्री पछाडी परिन्छ कि भनेर।
केहि बर्ष अघि प्रबाशबाट एउटा ठिटो नेपाल गएको थियो, त्यसले झाँक्रीहरुको भ्रस्ट स्वर्गमा आगो झोंस्ने प्रयत्न गर्दैछ। यो एनआरएन नागरिकताको नाममा कतै अन्य रबिहरु नेपाल आउलान र मेरो लुटको स्वर्गमा आगो लाग्ला भनेर डर छ झाँक्रीहरुलाई। यिनीहरु सोंच्छन, यी भगौडाहरुलाई कुनै अधिकार दिन हुन्न । यिनीहरुले प्रबासी नेपालीहरुले गरेको योगदानको कुनै कदर गर्न सक्दैनन्।
रेमिटेन्सले देश बन्दैन, देश बन्न देशमै उत्पादन हुनुपर्छ। कलकारखाना खुल्नु पर्छ, टुरिज्म बिस्तार हुनुपर्छ। तर रेमिटेन्सको पैसाले रड र सिमेन्ट किनेर सबै पैसा विदेश पठाउने अनि आफु त्यहि कमिसनमा आहाल मारेर मस्ती गर्न पल्केका झाँक्रीहरुलाई बिदेशमा बस्ने नेपालीहरुको नेपाल प्रतिको माया र दायित्वबोधको अनुभूति भएर पनि बुझ पचाएर गालि गलोजमा उत्रिदैछन्।
एकातिर प्रबासका केहि झाँक्रीहरुले हामीलाई उताको कुरा किन मान्छस भनेर ढ्यांग्रो देखाउँछन् भने अर्को तिर नेपालका झाँक्रीहरु तँ बिदेशी होस् नेपाल किन चाहियो भन्छन। यताका झाँक्रीहरु विदेश आए पछि केको नेपालको परम्परा र संस्कृति, केको नेपाली भाषा, केको नेपालीपन भनेर ढ्यांग्रो ठोक्छन भने उताका झाँक्रीहरु यता नहेर उतै बस, उतैको भाषामा बोल भनेर उर्दी जारी गर्छन। हामी कहाँ जाने ? के गर्ने ?
नेपालबाट अस्ति भर्खर भुटान गएकाहरुलाई शरणार्थी बनाएर बेचेर खाने यिनै झाँक्रीहरु हुन्। नेपाली जनताको सोझोपनको फाइदा उठाएर यी झाँक्रीहरुले देशलाई पटक पटक घाइते पारेका छन्। अहिले आउदा सम्म यिनीहरुले देशमा बस्नै नसक्ने अवस्था बनाएका छन्। स्कूल छन् बिद्यार्थी छैनन्, कलेज छन् बिद्यार्थी छैनन्, होटेल छन् ग्राहक छैनन्, देश छ जनता छैनन्। तर पनि छाती फुलाएर बिदेशिन बाध्य नेपालीहरुलाई गालि गर्छन, हामी जे गरे नि गर्छौं भनेर। हामीले केहि भन्न नहुने रे, सुझाव दिन पनि नहुने रे।
तर हामी आत्तिन हुन्न। एक दुइ बाहेक हामी सबैको लक्ष नेपालको सेवा गर्नु नै हो, नेपाललाई केहि दिनु नै हो। हामीले सपनामा पनि नेपालबाट केहि लिने सोंचेका छैनौ। यो हाम्रो जन्मभूमिलाई केहि गर्ने सोंचको बिचमा झाँक्रीहरुलाई आउन दिन हुन्न। उनीहरुका गालि सहेर पनि आफ्नो जन्मभूमिको ऋण जति सकिन्छ तिरेरै छोड्ने हो। यिनले जति सत्तोसराप गरे पनि हामी पछि हट्न हुन्न।
नेपालमा धेरै ठाउँमा झाँक्रीहरु छैनन्, अस्पताल खुलिसके तर केहि ठाउँमा अझै झाँक्रीहरु छन्। उनीहरुलाई पनि अस्पताल खोलेर जतिसक्दो छिटो बिदा गर्यो भने मात्र झाँक्रीहरुका कारण ज्यान जाने क्रम रोकिनेछ। अस्तु :
व्यंग्य: लेखनाथ गौतम