मोमो टु गो को मोमो फेस्टिभल सनिबार अक्टोबर २८ मा आयोजना हुँदै
डालस, टेक्सास। नेपालीहरुको मनपर्ने खाजाको रुपमा परिचित मोमोलाइ अमेरिकामा परिचित गराउने उद्देश्यले अक्टोबर २८ सनिबार एक “मोमो महोत्सब” को आयोजना गरिएको छ। डालस नजिकै रहेको आर्लिंगटन सिटिको लिविट पेभिलियनमा यो कार्यक्रम आयोजना हुँदैछ। अघिल्लो बर्षको चापलाई ध्यानमा राखेर यसपटक फ़ाउण्डिङ्ग प्लाजा र ड्रिम लटको जग्गा समेत समाबेश गरिएको छ।
यस बर्षको मोमो महोत्सवमा करिव दश हजारको उपस्थिति हुने अनुमान गरिएको छ भने यो महोत्सबमा आएर मनोरंजन लिन टिकट अनिवार्य गरिएको छ भने गेटमा परिचय पत्र र टिकट पक्का पक्कि गरिने हुनाले समयमै टिकट लिन आयोजकले अनुरोध गरेका छन्। गेटमा आउँदा टिकटको लिमिट सकिएमा फर्किनु पर्ने सम्म अवस्था आउने भएकोले समयमै टिकट लिइहाल्न जरुरी छ।
महोत्सव स्थलमा सुरक्षाको लागि १० जना प्रहरी र १७ जना सुरक्षा गार्ड परिचालन गरिने छ भने दुइजना प्यारामेडिक सहित एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ। आबस्यकता अनुसार यो थप गरिने जनाइएको छ।
मोमो फेस्टिवल भनिए पनि यो समग्र नेपाली खानाको प्रचारको लागि गरिएको महोत्सब हो। यसमा २५ वटा खानाका स्टल रहनेछन जसमा मोमो अनिबार्य छ भने बाँकी सबैले आफ्नै तरिकाले नेपाली खाना बेच्न सक्नेछन। यो महोत्सव नेपाली खाना महोत्सव भएकोले सबैले गुणस्तरिय खाना सुपथ मुल्यमा उपलब्ध गराउने आयोजकको अपेक्षा रहेको छ। उपलब्ध ५० स्टल मध्ये बाँकी २५ वटामा अन्य सेवा संग सम्बन्धित स्टलहरु रहनेछन।
कार्यक्रम ठिक २ बजे शुरु भएर १० बजे अन्त्य हुनेछ। महोत्सव समय तालिका अनुसार नै अघि बढ्नेछ, ढिलो गए पहिलाका कार्यक्रम छुट्नेछन् भने छिटो गए कुर्नु पर्नेछ। महोत्सवमा मास्टर सेफ सन्तोष शाहले आफ्नो खाना बनाउने कला देखाउनेछन् भने कोदोको खीर समेत त्यहाँ उपलब्ध हुनेछ। त्यस्तै गायक तथा नायक प्रकाश सपुतले साँझ साढे ६ देखि ८ बजे सम्म र गायक राजु लामाको ब्याण्डले ८ बजे देखि १० बजे सम्म स्टेज सम्हाल्नेछ।
उक्त अबसरमा मोमो खाने प्रतियोगिता, समूह नृत्यहरु, जनावर प्रदर्शन, केटाकेटीहरुको लागि उफ्रिन मिल्ने घर, पोनी राइड, बल फ्याँक्ने प्रतियोगिता र डिजेको सांगीतिक माहोल जस्ता बिबिध कार्यक्रमहरु हुनेछन। भित्र छिरेपछि खान बाहेक अन्य कुरामा टिकट लाग्ने छैन।त्यस्तै १० बर्ष मुनिका बालबालिकाहरुको लागि टिकट लिनु पर्ने छैन।
यो महोत्सवको मुख्य प्रायोजक बैंकहेड ब्रुइङ्ग रहेको छ भने अन्य स्थानीय संघ, संस्था, व्यक्ति एबम ब्यबसयाहरुले प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गरेर यो महोत्सव हुन गैरहेको आयोजकले जनाएका छन्।
गतबर्ष बर्ष देखि शुरु गरिएको यो महोत्सवमा १० हजार जनालाई सेवा र मनोरंजन दिने कार्यक्रम रहेको मोमो टु गो का प्रमुख प्रदिप गिरीले जानकारी गराएका छन्। यो मेरो मात्र महोत्सव होइन, यसमा धेरैको साथ र सहयोग छ। यसमा नेपालीहरुकै नाम जोडिएको हुनाले यसलाई निर्बिघ्नातापुर्बक सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरेको गिरीले जनाएका छन्। नेपाली बाहेक अन्य मुलका मानिसहरु पनि उपस्थित हुने हुनाले यसमा नेपालीहरुले आफ्नो पहिचान र परिचय पनि देखाउन सक्ने भएकोले अनुशासनमा बिशेष ध्यान दिन पनि सबैलाई गिरीले अनुरोध गरेका छन्।