एनआरन बिचारले चल्नु पर्छ: पैसावालाहरुको चाकडीले संस्था बन्दैन
सामान्य मान्छे देशमा ढुक्कसंग खान, स्वास्थ्योपचार गर्न र केटाकेटी पढाउन नसके पछि विदेशिन्छ। यो दैनिक समस्याबाट पार पाएको अलि माथिल्लो बर्ग सानो भागले नपुगेर ठुलो खोज्न विदेशिन्छ। त्यो भन्दा पनि धनी मान्छे भने पैसा अझ धेरै कमाउन, अन्तररास्ट्रिय बजार खोज्न र आफुलाई बिस्वब्यापी बनाउन विदेशिन्छ। हामी प्राय नेपालीहरुको हकमा विदेश पलायनको मुख्य अभिप्राय यी तीन कुराहरु हुन्।
त्यसो त मान्छे हिँसा, दमन र प्राकृतिक प्रकोपबाट बाँच्न बिदेशिन बाध्य हुन्छ। जातिय, धार्मिक र राजनैतिक हिंसाबाट बच्न मानिस आफ्नो थातथलो छोडेर अनिश्चित भबिस्यको यात्रामा लम्किन्छ। हामी नेपालीहरुको हकमा भने हिंसा भन्दा पनि यतिबेला अवसर र राम्रो जीवनयापनको खोजि बिदेसिनुका मुख्य कारणहरु हुन् अपवादलाई छोडेर।
खाडी मुलुकमा जाने नेपालीहरुको हालत त्यति राम्रो छैन। महिनाको २०/३० हजार कमाउन उनीहरु निकै कठिन काम गर्न बाध्य छन्। आफ्नो परिवारको खुसीको लागि खाडी मुलुक गएका कति नेपालीहरु कति त्यहीं जीवन गुमाइरहेका छन् भने कति अपाङ्ग भएर फर्किरहेका छन्। कतिपय भने घर पुग्दा घर नै अस्त व्यस्त भै टुटीसकेको हुन्छ। बैदेसिक रोजगारीले समाज बिचलित भएको छ।
खाडी बाहेक जापान, अस्ट्रेलिया, युरोप, क्यानाडा र अमेरिका जस्ता देशहरुमा जाने नेपालीहरुको अवस्था तुलनात्मक रुपमा राम्रो छ। उनीहरुले काम गर्ने हो भने गरीखान सक्ने अवस्था छ। त्यसको लागि उनीहरुले न कसैको ढोकामा धाउनु पर्छ न कसैको चाकडी नै गर्नु पर्छ। उनीहरु स्वाभिमान्पुर्बक आफ्नो दैनिक जीवन चलाउन सक्छन। न उपचार गर्न साहुकोमा तमसुक गर्न जानु पर्छ न त केटाकेटी पढाउन। राम्रै पढेलेखेका देखि कखरा समेत नचिन्ने मान्छेले आफ्नो हैसियत अनुसारको काम गरेर खान सक्छन।
अमेरिकाको हकमा पनि यहि कुरा लागु हुन्छ। मिहिनेत गर्न अल्छी नमान्नेहरुलाइ यहाँ बाँच्न कठिन छैन। निकै पढेका देखि खासै नपढ़ेकाहरुले पनि अमेरिकामा आफ्नो अवस्था राम्रो बनाएका छन्। करोड करोडका गफ हाँक्न नसके पनि आफ्नो लागि इज्जत्पुर्बक दुइछाक खान र लाउन सक्छन। सामान्य जीवन यापन गर्ने चाहना राख्नेले यहाँ कसैको चाकडी गर्नु पर्दैन। अलि ठुलो मान्छे हुन चाहने वा छिटो धनी हुन चाहनेले भने मिहिनेत भन्दा धनी र ठुला भनिनेहरुको चाकडी गर्ने मार्ग अपनाएको पनि देखिन्छ।
एनआरएनमा चाकडीवाल र पैसावालहरुको बिगबिगी
रसियाका धनाढ्यहरुले एनआरएन खोल्न किन विचार गरे भन्ने उनीहरुको तत्कालिन माइण्डसेट त थाहा भएन तर अहिले एनआरएन भन्नाले प्रबासमा बस्ने नेपालीहरु भन्ने बुझिने भएकोले यो संस्था निकै महत्वपूर्ण छ। प्रबासमा बस्नेहरुको सरकारको रुपमा एनआरएनलाइ लिने हो भने यसको लागि धेरै बैचारिक र शैद्धान्तिक छलफलहरु गरिनु पर्छ। तर यसमा त्यो रुपमा छलफल भएको कहीं पनि पाइंदैन। चुनाव केन्द्रित गतिबिधि भन्दा माथि एनआरएनका गतिविधिहरु अघि बढ्न सकेका छैनन्।
शुरुवाती दिन देखि नै यसलाई प्रबासी नेपालीहरुको स्वार्थ र मुद्धाहरु भन्दा पनि धनीहरुले नाम कमाउने र नेटवर्क बिस्तार गर्ने संगठनको रुपमा प्रयोग गरियो। तिनै केहि धनाढ्यहरुको वरिपरि नै संस्था घुमिरह्यो। उनीहरुका व्यक्तिगत रिसइबी र कुण्ठाहरुको ब्यबस्थापन गर्दा गर्दै संस्थाले आफ्नो बास्तविक काममा ध्यान दिनै सकेन। संस्थामा योगदान गर्न धनी हुन पर्छ भन्ने भाष्य निर्माण गरियो र यसको बैचारिक महत्वलाई नजरअन्दाज गरियो।
अंग्रेज लेखक फ्रान्सिस बेकनले “पैसा राम्रो नोकर हो तर खराब गुरु हो” भनेर उल्लेख गरेका छन्। अर्थात् पैसालाइ प्रयोग गरियो भने त्यसले सहि काम गर्छ तर पैसाले मानिसलाई प्रयोग गर्न थाल्यो भने त्यहाँ बित्याँस पर्छ। अहिलेको अबस्थामा पैसा आबस्यक भए पनि त्यसको प्रयोग विचार, बुद्धि र बिबेकले गर्ने हो भने मात्र त्यसले सहि काम गर्छ नत्र त्यसले व्यक्ति मात्र होइन संस्था र समाजलाई पनि भ्रस्ट बनाउँछ।
विशेषण: लेखनाथ गौतम
एनआरएनमा अहिलेको समस्या भनेको भिजनको हो अर्थात् यसले अब के गर्ने भन्ने नै हो। संस्था र सदस्यहरुको सहि ब्यबस्थापन यसका प्रमुख चुनौतिहरु हुन्। सहि विचार र योजनाले संस्था ब्यबस्थित रुपमा संचालन गर्न, नयाँ कार्यक्रमहरु अगाडी ल्याउन र त्यसको लागि आबस्यक श्रोत जुटाउन सक्छ। संस्थामा विचारका बहसहरु हुनु पर्छ। तिनै विचार र भिजनले आर्थिक श्रोत जुटाउनु पर्छ। पैसा कमाएका मान्छे खोज्दै हिंडेर संस्था गतिलो बनेको संसारमा कुनै उदाहरण छैन। संसारको कुनै यस्तो देश छैन जसको विकास पैसाले भएको होस्। एउटा राम्रो भिजन भएको नेता वा पार्टीले नै ती देशहरु सम्पन्न भएका छन्।
एनआरएन अमेरिका पनि त्यहि रोगबाट ग्रस्त छ। सामाजिक काममा हिंड्ने मान्छे नियमित यात्रा गर्नु पर्ने अबस्थामा केहि आर्थिक चुनौतीहरुको सामना गर्नु र आर्थिक रुपमा अलि सुविधाजनक अबस्थामा हुँदा सजिलो हुने कुरामा दुइमत छैन। तर एनआरएनमा लाग्न धनी नै हुनुपर्छ र अरुले केहि गर्न सक्दैनन् भन्ने गलत प्रचार प्रसार गरिएको छ। सामान्य काम गर्ने मान्छेले पनि योगदान गर्न सक्ने बिधि, प्रणाली र अवस्था निर्माण नगर्ने, खालि बोझिलो बिधि र प्रणाली निर्माण गरे पछि आम मानिसको पहुँचमा एनआरएन पुग्ने कुरै भएन। समस्या यहि हो।
त्यसको लागि पैसावालाको चाकडी गर्ने र उनीहरुलाई देवत्वकरण गर्ने काम बन्द गर्नु पर्छ। सिधै उनीहरुकै दानापानी खाएकाहरुले त त्यो चाकडी गर्नु उनीहरुको बाध्यता नै होला, अलिकति स्वाभिमान भएकाहरुले भने यस्तो चाकडी संस्कारलाइ त्याग्न जरुरी छ। कमसेकम संस्थामा केहि सुधारका मुद्धाहरु उठाउने, आफुलाई भन्दा संस्थालाई मुख्य ठान्ने व्यक्तिहरुलाई हौसला दिने तरिकाले काम कुराहरु गर्नुपर्छ। आइसिसिको चुनाव आउंदै गर्दा यस्ता चाकडीका भाषाहरु सामाजिक संजालमा छ्याप्छ्याप्ती देखिन सक्नेछ जसलाई पाठकले पनि त्यसरी नै बुझ्नु जरुरी छ। उनीहरुका लेखाइहरु कतै व्यक्तिगत लाभ वा हानिमा केन्द्रित त छैनन् भनेर क्रस चेक गर्नु पाठकको दायित्व हो।
त्यसैले आउनुहोस चाकडी बन्द गरौँ। स्वस्थ, सक्रिय र सबल एनआरएन निर्माणको प्रक्रियामा सबैलाई सामेल हुने बातावरण तयार गर्ने तर्फ अगाडी बढौं। अहिले सम्म हामीले गरेका काम र गतिविधिले एनआरएनमा विभाजन र नेपाली समाजमा अन्योल निर्माण भएको छ। यहि यात्रा निरन्तर राख्नु संस्थाको केहि चाकडीवाल र नामको लागि संस्थामा छिरेकाहरुलाई त फलदायी होला, समग्र प्रबासी नेपाली समाजको लागि हानिकारक छ। फरक परिणामको लागि फरक तरिकाले सोंचौं, उही तरिकाले काम गरेर फरक परिणाम आउने आशा गर्नु दिवालियापन हो। संस्थामा विचार, योजना र मिसनको प्रतिष्पर्धा गरौँ। को धनी आउला र पैसा मागेर पद सुम्पौला भनेर नबसौं।