रवि लामिछानेको राजनीतिक यात्राको पृष्ठभूमि र चुनौतिहरु
संचारकर्मी रवि लामिछानेले राजनीतिमा हाम फाले पछि देशमा र बिदेशमा तरंग उत्पन्न भएको छ। स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङ्गले जिते पछिको परिदृश्यमा लामिछानेले पूर्णकालीन राजनीतिमा आउने उद्घोष गर्नु संयोग मान्न पक्कै सकिन्न। व्यक्तिगत रुपमा रवि लामिछानेको महत्वाकांक्षा कसरी बढ्यो भन्ने आंकलन गर्नु एउटा कुरा हो तर रवि लामिछानेहरु जस्ता लोकप्रिय व्यक्तिहरु जोखिम मोलेर किन राजनीतिमा आउन लागे भन्ने कुराको अनुमान गर्न भने वर्तमान नेपालका राजनीतिका केहि परिस्थितिगत विशेषताहरु तर्फ विचार गर्न आबस्यक हुन्छ।
राजनीतिक दलहरु प्रतिको अविस्वास :
नेपालमा २००७ सालदेखि राजनीतिक परिवर्तनको शुरुवात भएको हो। त्यसपछि २०३६, २०४२,२०४६,२०५२,२०६२ सालमा बिभिन्न खाले आन्दोलन र परिवर्तनहरु भए। त्यसमा बिभिन्न दलहरुले नेतृत्व गरे। सबै आन्दोलनहरुमा प्रजातन्त्र र सम्वृद्धि देखि पहिचानका कुराहरु पनि मुखरित भए। जनताले ज्यान, मन र धन दिएर ती सबै आन्दोलन वा संघर्षहरुमा राजनीतिक दलहरुको साथ् दिए। तर उनीहरुले जुन उद्देश्यको लागि आफ्नो सम्पूर्ण कुरा समर्पण गरेका थिए, सो अनुरुप राजनीतिक दलहरुले काम गर्न सकेनन। काम गर्न नसक्ने मात्र होइन राजनीतिमा अत्यन्त फोहोरी चरित्र प्रदर्शन गरे।एउटा राजनीतिक परिवर्तन पछि त्यसलाई संस्थागत गर्दै सम्वृद्धिको यात्रामा जानु पर्नेमा देश झन्झन् गरिव, परनिर्भर बन्दै गयो। भ्रस्टाचार संस्थागत भयो भने समाजमा स्वतन्त्रताको नाममा विकृत संस्कारहरु मौलाउदै गए। राजनीति त फोहोरी थियो नै समाज पनि विकृत, भ्रस्ट र छाडा हुँदै गयो।
क्षेत्रिय र पहिचानबादी अभियानको पतन :
क्षेत्रिय र पहिचानको नाममा अगाडी आएका समूह वा शक्तिहरु पनि पतनको मार्गमा लागे। जसको लागि राजनीति गर्ने भनेर उनीहरु स्थापना भएका थिए, त्यसलाई दुहुनो गाइ झैँ गरी दुहुने तर त्यो बर्गको उत्थानको लागि भने सिन्को नभाँच्ने कामहरु देखिने गरी लज्जास्पद रुपमा प्रकट भए। तराइमा मधेशी राजनीतिक दलहरुको पराजय, काठमाडौँमा बालेन शाहको विजय र पूर्वमा हर्क सम्पांगको बिजयले पहिचानको आन्दोलनबाट आएकाहरुका दिन समाप्त भएको संकेत दियो।
संघियता र धर्म निरपेक्षताको क्रुर प्रयोगको असफलता:
२०६२/६३ को आन्दोलनमा संघियता र धर्म निरपेक्षताको कुरा कहिल्यै उठेन। तर माओबादीको जबर्जस्तिको कारण यी महत्वपूर्ण कुराहरु संबिधानमा राखियो। सानो देशमा धेरै प्रदेश घातक हुन्छ भन्ने नबुझेर वा कसैको दवावमा राजनीतिक दलहरुले संघिय ढाँचामा देश लैजाने निर्णयमा पुगे। प्रदेशको प्रशासनिक खर्च धान्न सक्ने हैसियत नभएका प्रदेशले विकास गर्न सक्ने कुरै थिएन। संघिय सरकारमा झैं त्यहाँ पनि भ्रस्टाचार मौलायो। भन्न नसके पनि संघियता धेरैले घाँडो मान्न थाले।
नेपालमा हिन्दु धर्म सापेक्ष हुँदा कुनै धार्मिक दमन थिएन। धर्म परिवर्तन छाडा नै थियो। झन् धर्म निरपेक्ष राष्ट्र बने पछि हिन्दु धर्म माथि अन्याय गर्न शुरु भयो। धार्मिक संबेदनशीलताको ख्याल नगरी हिन्दु धर्म, यसका केहि संस्कार र मूल्य मान्यतामाथि निरन्तर प्रहार भयो। हिन्दु धर्म र यसका अनुयायीहरुले आफुलाई आफ्नै देशमा डिफेन्सिभ महशुस गर्न थाले। धर्म परिवर्तन र हिन्दु धर्म माथिको प्रहार विस्फोटक रुप लिने अबस्थामा आइपुग्यो।
आर्थिक सम्वृद्धि र बिस्वब्यापिकरणको प्रभाव :
बिभिन्न कारणले नेपालीहरु बिस्वमा छरिए पछि त्यसको सिधा प्रभाव नेपालमा पर्ने नै भयो। बिदेसमा गए पछि उनीहरुले राजनीति सम्वृद्धिको लागि भएको देखे। त्यहाँ उनीहरु जात, धर्म वा अन्य पहिचानको कारणले भन्दा पनि नेपाली भनेर चिनिए वा नेपाली भएकै कारणले विभेदमा परे। नेपालमा जीविकोपार्जनको अवसर नपाउंदा बिदेसिनु परेको पिडा भोगे। यो वा त्यो नाममा गरिने राजनीति भन्दा सम्वृद्धिको लागि गरिने राजनीतिक मार्गलाई सकारात्मक रुपमा हेर्न थाले। राजनीतिक परिवर्तन वा अन्य मुद्धा गणतन्त्र स्थापना संगै समाप्त भएको र अब आर्थिक सम्वृद्धि नै एकमात्र बाटो भएकोमा बहुसंख्यक जनता बिसेष गरी युवापुस्ता बिस्वस्त भए। त्यो उद्देस्य पूर्तिको लागि उनीहरुले नयाँ पात्रहरु र त्यसले देखाएको प्रवृति हेर्न थाले। निरन्तरता होइन क्रमभंगताको यात्रामा नेपाली जनता अगाडी बढी सके।
यी र यस्तै अन्य थुप्रै परिस्थितिका कारण हौसिएर रवि लामिछाने राजनीतिमा आएका छन्। उनले अपनाउने रणनीति, पेचिला मुद्धाहरुमा उनको धारणा, राजनीतिक दलहरुको रबैयाले उनको यात्रा तय हुनेछ। राजनीतिमा नआउन्जेल उनको कामको समर्थन गर्नेहरु समेत बिरोधी खेमामा जाने सम्भावना छ। त्यसमाथि राजनीतिक दलहरुको असहयोग, आक्रमण त स्वाभाविक नै भयो। यस्तो परिस्थितिमा उनले कति र कस्तो तयारी गरेर आएका छन् भन्ने त आगामी दिनमा प्रस्ट हुनेछ। तर अहिलेको नेपाली जनताको सेन्टिमेन्ट अनुसारको राजनीति र त्यसलाई गाइड गर्ने संयन्त्र निर्माण गर्दै संगठित यात्रा शुरु गरे भने सफल हुने सम्भावना पनि छ। आशा गरौँ लामिछानेले नेपाली जनताको आकांक्षा अनुसार नेपाली राजनीतिमा नयाँ बहार ल्याएर सम्बृद्ध, स्वच्छ, बिकृति र छाडापन मुक्त समाज निर्माणको यात्रामा सफल हुनेछन। एउटा होनहार युवाको राजनीतिमा प्रबेसलाइ हामीले यहि परिवेसमा बुझ्नु पर्छ र त्यसरी नै स्वागत पनि गर्नु सहि हुन्छ। विश्लेषण : लेखनाथ गौतम