आफ्ना छोराछोरी टुहुरा पारेर अर्काका छोराछोरीको सुसारे बन्दै नेपाली आमाहरु
प्रकृतिको नियम के हो भने एउटी आमाले बच्चा जन्माए पछि त्यसलाई लालनपालन गरेर हुर्काइ आफ्नै खुट्टामा उभिने भए पछि स्वतन्त्र छोड्छन। हामी जनावरहरुलाई हेर्यौं भने पनि त्यो कर्तब्य उनीहरुले पालन गरेकै हुन्छन। मानव अतिक्रमणको बाबजुद पनि सकेसम्म उनीहरुले आफ्ना सन्तानलाई त्यतिक्कै छोड्दैनन। जनावरको प्रकृति अनुसार कुनै छिटो त कुनै ढिलो आफ्ना खुट्टामा उभिने हुन्छन। मान्छे भने अलि ढिलो हुर्किन्छ र ढिलै आफ्ना खुट्टामा उभिन सक्छ। लामो आयु, चेतनास्तर र असाधारण शारीरिक संरचना (कम्प्लेक्सिटी) को कारण मानिसलाई हुर्किन अन्य जनावरको तुलनामा समय लाग्छ।
तर जे जस्ता कारणहरु भए पनि अन्य जनावरहरुले भने आफ्नो धर्म छोडेका छैनन्। आफ्ना बच्चाहरु हिड्न, उड्न सक्ने भए पछि र आफुलाई आफै हेरचाह गर्न सक्ने र शत्रुहरुबाट बच्न सक्ने भए पछि मात्र आमाहरुले स्वतन्त्र छोड्ने गर्छन । मानवको हकमा पनि लगभग हरेक आमाहरु आफ्ना छोराछोरी हुर्काउनु र उनीहरुलाई आफ्नै खुट्टामा उभिन सक्ने बेला सम्म आफुलाई हरदम तयार राख्छन। आफ्ना सन्ततिहरुको सुखमा रमाउछन र दुखमा साथ् दिन्छन। त्यसैले आमालाई धर्ती, जननी जस्ता उपनामहरुले चिन्ने गरिन्छ। आमाको यहि सन्तानहरु प्रतिको बलिदानी स्वभावका कारण सबै सन्तानको प्रिय मात्र होइन समाजको हेराइ समेत आमाहरुको लागि फरक हुन्छ।
आमाहरुको यति ठुलो बलिदानी प्रकृति र स्वभाव हुँदा हुँदै पनि अहिले नेपालमा बाध्यताको नाममा बिकृति व्याप्त छ। हिड्न र बोल्न सक्ने मात्र होइन दुधे बालकहरु समेत छोडेर पैसा कमाउन लाहुर जाने प्रवृति नराम्रोसंग बढेको छ। आफ्ना साना लालाबालाहरुलाई चटक्क छोडेर प्रदेशी साहुहरुका छोराछोरी हेर्न जाने चलन चलेको छ। घर बनाउने, ऋण तिर्ने, धन कमाएर ऐस आराम गर्ने नाममा आफ्नो प्राकृतिक कर्तब्य भुलेर बिदेसका घरहरुमा नोकर बन्ने अनौठो तर लाजमर्दो गतिबिधि नेपाली आमाहरुले गरिरहेका छन्। यो जति अनैतिक, अप्राकृतिक र अस्वाभाविक छ त्यति नै घातक पनि छ।
त्यसरी बिदेसिने आमाहरुको तर्क घर चलाउनको लागि बाध्यताले गएको भन्ने नै हुन्छ। तर हाम्रो नेपाली समाजको संरचना हेर्ने हो भने आमाहरु माथि यो स्तरको जिम्मेवारी वा बाध्यता भएको पाइंदैन। कताकति कुलंगार बाउहरु बाहेक अधिकांश बाउहरुले आफ्नो परिवारको पालनपोषण आफुले गर्नु पर्छ भन्ने जिम्मेवारी बोध गरेकै हुन्छन। अधिकांश परिवारहरुले आफ्ना छोरी बुहारीहरु प्रबासमा जाने कुराको बिरुद्ध नै हुन्छन त्यसमाथि साना साना बालबच्चा भएको अबस्थामा त झन् महिलाहरु लडेरै बिदेस जानु पर्ने हुन्छ। यस्तो सामाजिक संरचना हुँदा हुँदै पनि किन यति महिलाहरु आफ्नो प्राक्र्तिक कर्तब्य बिर्सेर बिदेसिने गरिरहेका छन्, यो निकै चिन्ताको बिषय छ।
किन यसरी बिदेसिदै छन् नेपाली महिलाहरु जोखिम मोलेर
१ बाध्यता :
केहि महिलाहरुको घरमा श्रीमान जड्याहा, रोगी, असक्त वा कर्तब्यच्युत हुनाले आफ्ना बालबच्चाहरुको भबिस्यको लागि नेपाली महिलाहरु बिदेसिन बाध्य छन्।
२ महत्वाकांक्षा :
सामाजिक संजालले बिस्व सानो गाउँ जस्तो भए पछि सेवा, सुबिधाको लालचा उनीहरुमा पैदा हुन थाल्यो। देखाउन कै लागि भए पनि राम्रै लगाउन पर्ने, जे छ त्यहि होइन अर्काले के खायो त्यहि खानु पर्ने, बजारमा उपलब्ध हरेक भौतिक बस्तु प्रयोग गर्नै पर्ने मनस्थितिको कारणले गर्दा अहिले धेरै नेपाली महिलाहरु बिदेसिने गर्छन। उनीहरुलाई अनलाइनमा देखिने पिज्जा र बर्गरको लोभ लाग्न थालेको छ। आटो पिठोको सट्टा यस्ता बिदेसी खानाहरुमा आँखा लगाए पछि र घरमा त्यो उपलब्ध हुने अवस्था नभए पछि उनीहरु घरमा बिद्रोह गर्छन र बाध्यताको बहानामा आफ्नो प्राकृतिक जिम्मेवारी भुलेर दुधे बालक छोडेर बिदेसिने गर्छन।
बाध्यता वा महत्वाकांक्षा जुनसुकै कारणले बिदेसिए पनि साना छोराछोरी छोडेर जाने आमाहरु र उनले जसको लागि देश छोडेको भन्छन ती बच्चाहरुको पनि भविस्य अन्धकार हुने कुरा निश्चित नै छ। केहि पैसा कमाएर केहि फेन्सी लुगा त लगाउन सकिएला वा केहि क्षणको लागि जिव्रोको स्वाद फ़ेरिएला, परिवार र बालबच्चाहरुको भविस्य भने अँध्यारो नै हुन्छ। त्यसरी आमाको माया नपाएका बच्चाहरु भबिस्यमा समाजमा निर्जीव प्राणि झैं माया र ममता बिहिन बन्न पुग्छन। उनीहरु समाज, परिवार र आफ्नै बाउआमा भन्दा पनि पैसाकै पछि लाग्ने हुन्छन जसले समाज विकृत, परिवार खण्डित र देश रुग्ण हुन जान्छ।
त्यसैले नेपाली आमाहरुले आफ्नो प्राकृतिक र सन्तान प्रतिको दायित्व नबुझेको अबस्थामा समाज, परिवार र देशले यसमा हस्तक्षेप गर्न ढिला भैसकेको छ। कमसेकम १० बर्ष भन्दा साना बालबच्चा भएका आमाहरुलाई कामको शिलशिलामा लामो समय बिदेसिन नपाउने गरी परिवार, समाज र राज्यले भूमिका खेल्नु पर्छ। नत्र हाम्रो अर्को पुस्ता नितान्त पैसामुखी र नैतिक रुपमा बिचलित बन्न जानेछ। केहि महत्वाकांक्षीहरुको कारण हामी हाम्रो देशको भविस्य माथि खेल्न हुँदैन र खेल्न पाइंदैन। विश्लेषण: लेखनाथ गौतम