के हो एम्बोस्ड नम्बर प्लेटको किस्सा ?
नेपालमा सदन देखि सडकसम्म एम्बोस्ड प्लेटको चर्चा छ। यातायात मन्त्रालयले लामो समय देखि गृहकार्य गरिरहेको र लागु गर्न खोजिएको यो बिशेष खालको प्लेट हो। यो क्यामेराले पढ्न मिल्ने र गाडीमा रहेको जिपिएससंग जोडिएको हुन्छ जसले गर्दा गाडी हराएको, चोरी भएको वा दुर्घटना भएको अबस्थामा कुन ठाउँमा छ भन्ने थाहा पाउन सकिन्छ। क्यामेराले पढ्न मिल्ने भनिए पनि यसको लागि बिशेष खालको क्यामेरा चाहिन्छ जुन सरकारी निकाय वा प्रहरीसंग मात्र हुन्छ। सामान्य क्यामेराले यो काम गर्दैन।
नयाँ प्रबिधिको जमाना संगै यातायात मन्त्रालयले सवारी साधनमा यस्तो प्रबिधि जडान गर्ने सम्बन्धि नियमावली लामो समय अघि नै ल्याइसकेको थियो। तर कोरोना महामारीका कारण लागु भएको थिएन। तर यहि साउन एक गते देखि यसलाई पूर्ण रुपमा लागु गर्न लागेको महाप्रनंधक नमराज घिमिरेले बताएका छन्। नयाँ दर्ता हुने सवारी साधनले अहिले देखि नै एम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने छ भने अन्य पुराना गाडीहरुले नबिकरण गर्दा त्यस्ता प्लेट राख्नु पर्ने छ।
नेपालमा अहिले करिव ३७ लाख निजी, भाडाका र सरकारी सवारी साधनहरु छन्। यति धेरै सवारी साधनमा एकै चोटी यो नियम लगाउँदा र प्रयाप्त समय नदिंदा सवारी साधनका धनीहरु ठगिने वा मर्कामा पर्ने देखिन्छ। त्यस्तै यी प्लेटहरुको मुल्य पनि निकै महँगो छ। एक सय रुपैयाँमा हातले लेखेर बनाउन मिल्ने यस्ता प्लेट एम्बोस्ड प्लेट किन्न हज्जारौं रुपैयाँ खर्च गर्नु पर्ने देखिन्छ। महामारीको कारण आर्थिक अवस्था कमजोर भएको बेला सरकारको यो कदमले जनता झन् अप्ठेरोमा पर्ने भन्दै ब्यापक बिरोध पनि शुरु भएको छ।
यस्ता प्लेटको लागि यातायात विभागले मोटरसाइकलको लागि २५ सय रुपैयाँ, तीन पान्ग्रेको लागि २९ सय रुपैयाँ, बयान र ट्रयाक्टरको लागि ३२ सय र ठुला सवारी साधनको लागि ३६ सय रुपैयाँ असुल्ने भएको छ। यहि अतिरिक्त भार उपभोक्ताहरुमा नथोपर्न, मूल्य समायोजन गर्न, समय सिमा थप्न समेत सरकार माथि दवाब शुरु भएको छ।