यौन हिंसाको बिकराल अवस्था र निराकरणमा छुटेको पाटो
यतिबेला नेपाली समाजमा यौन हिंसाका घटनाहरुले निकै ठाउँ पाएका छन्। रेडियो, टिभी र पत्रपत्रिका देखि सामाजिक संजालमा पनि धेरैले यौन हिंसा र पिडितलाइ न्याय कसरी दिलाउन सकिन्छ भनेर आफ्ना बिचारहरु प्रस्तुत गरिरहेका छन्। हदम्यादका कुरा, सजायको अवधिका कुराहरु आफ्नो सोंचाई र बुझाइ अनुसार व्यक्त गरिरहेका छन्
यी अपराधहरु के कारणले भैरहेका छन् र किन वृद्धि भैरहेका छन् भन्ने मूल कुरा भने यहाँ छुटेको छ वा छुटाइएको छ। यसको जरो कहाँ छ र त्यसलाई कसरी मौलाउन नदिने भन्ने तर्फ कसैले ध्यान दिएको देखिन्न। परिणामलाइ ब्यबस्थापन गर्ने बहस त चलेको छ, कारणको बारेमा भने कसैले बहस गर्न तयार देखिदैन। कुलो धमिलो छ भने फिल्टर गरेर एकदुई पटक संग्लो पानी त प्राप्त होला, मुहान सफा गर्न सकिएन भने यो समस्या निरन्तर रहन्छ। दिगो समाधान भनेको मुहान सफा गर्नु हो। यहाँ मुहानमा फोहोर गरेर तलको पानी सफा गर्नुपर्छ भनेर मानिसहरु दौडिरहेका छन्।
यौन हिंसा नेपाल मात्र होइन बिस्वब्यापी र परापुर्बकाल देखि कै समस्या हो। महिलालाई एक बस्तुको रुपमा प्रयोग गर्ने प्रचलन शुरु भए देखि यौन हिंसामा अरु वृद्धि हुँदै गएको हो। पतिब्रता नारीलाई छ भने उसको श्रीमानलाइ भगवानले समेत सजिलै केहि गर्न सक्दैनन् भन्ने संस्कारबाट हामी हुर्के बढेका हौँ। ब्रम्हचारी ऋषिहरुको अनगिन्ति कथाहरु सुनेर हामीहरु हुर्केका हौँ। हाम्रा बेद र पुराणहरुमा यौनको स्थान मर्यादित र सिमित थियो जसले समाजमा सन्तुलन र सामाजिक अनुसासन कायम गरेको थियो। तर पनि अहिले हाम्रो समाज भ्रस्ट र बिचलित भैसकेको छ। यौन हिंसाको मुहान हाम्रो बिग्रिंदो चिन्तन हो।
हाम्रो पुर्बिय दर्शन यौनको मामिलामा निकै अनुशासित र मर्यादित छ। पश्चिमाहरू यसलाई जथाभावी रुपमा प्रयोग गर्ने शुरु गरेपछि बिस्तारै हाम्रो समाजमा पनि यसले असर गर्न थालेको छ। यौनलाइ हावा, पानी र अन्न झैं अत्याबस्यक भनेर ब्याख्या गर्ने थालिएको छ। नेपालमै पनि रेडियो, टिभि र पत्रपत्रिका हेर्ने हो भने र सार्बजनिक बहस हेर्ने हो भने यौन अत्याबस्यक हो भन्ने तरिकाले भाष्य निर्माण गर्ने गरिएको देखिन्छ। जसरी हावा, पानी र अन्न दैनिक नभई हुन्न, यौन पनि त्यति नै आबस्यक कुरा हो भनेर मान्छेहरुलाई बुझाइएको छ।
आधारभूत रुपमा हेर्ने हो भने यौन कर्म भनेको प्रजननको लागि हो। त्यसबाहेक गरिने यौन क्रियाकलाप आनन्द वा प्लेजरको लागि हो। यो मनोरन्जनको लागि यौन क्रियाकलाप गरिन्छ। यो दैनिक वा साप्ताहिक रुपमा नभई हुन्न भन्न मिल्दैन। आनन्द भए राम्रो तर नभए पनि केहि फरक पर्दैन। दालभात जस्तै नभई नहुने भन्ने तरिकाले भाष्य निर्माण गर्ने काम अहिले भैरहेको छ जुन सर्वथा गलत छ। हामीले अब भन्न पर्छ, यो नभए पनि मरिन्न। भोको मान्छेले खानेकुरा चोर्नु त्यति ठुलो अपराध नहुन सक्छ जति उसले मजा दिने बस्तु चोर्दा हुन्छ।
त्यस्तै सामाजिक संजाल र सार्बजनिक स्थलहरुमा महिलाहरुको शरीरको कानुनी र गैरकानुनी ब्यापार भैरहेकै छ। सुन्दरी प्रतियोगिताहरुका नाममा उनीहरुलाई नाङ्गो बनाएर छाला बेच्ने गरिन्छ। सामाजिक मर्यादाको ख्याल नगरी सामाजिक संजालमा यौन उत्तेजक सामग्रीहरु, फोटोहरु राख्ने गरिन्छ जसले मान्छेको मानबियतालाइ बिचलित बनाइदिन्छ। व्यक्तिगत स्वतन्त्रताको नाममा सामाजिक मर्यादा भुलेर जथाभावी बोल्ने, लेख्ने गरिन्छ जसले आपराधिक मानसिकताका मान्छेहरुलाई झन् उत्तेजित पार्ने काम हुन्छ।
त्यसैले अहिलेको आबस्यकता भनेको वर्तमान कानुनहरुमा आबस्यक संसोधन गर्दै यौन हिंसा गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम गर्नु पर्छ भने संगसंगै अपराधी उत्पादन हुने र उनीहरुलाई मलजल गर्ने प्रवृतिहरु पनि कम गर्दै यौनको अनुशासित प्रयोग र यो अत्याबस्यक होइन नभए पनि हुने कुरा हो भन्ने स्थापित गर्ने हो भने बिस्तारै यौन हिंसा पनि कम हुँदै जान्छ। नत्र बिकृति र विसंगति उत्पादन बढाउदै जाने हो भने कानुनको बाटोले मात्र समस्या झन् झन् बल्झिदै जाने देखिन्छ। विश्लेषण: लेखनाथ गौतम