फोर्ट वर्थमा नानीबाबुहरुको लागि संचालित नेपाली भाषा कक्षाको दिक्षान्त समारोह सम्पन्न
फोर्ट वर्थ, टेक्सास। स्थानीय समाजसेवी छबि हुमागाईको निवासमा आज एक दिक्षान्त समारोह सम्पन्न भएको छ। आफ्नै घरमा गत एक बर्ष देखि निरन्तर नेपाली भाषा र संकृति सिकाउने उद्देश्यले लिएर हुमागाईंले स्कुल संचालन गर्नु भएको थियो। स्कुलमा ३० भन्दा बढी बालबालिकाले आफ्नो मातृभाषा सिक्नुको साथै संस्कार र धर्म सम्बन्धि कक्षाहरु लिइरहेका थिए।
उक्त दिक्षान्त समारोहमा ती बालबालिकाहरुले सिकेका कुराहरु सबैको सामु प्रस्तुत गरेका थिए। नेपाली राष्ट्रिय गान, सरस्वति गाथा तथा अन्य दैनिक प्रयोगमा आउने मन्त्रहरु समेत उनीहरुले सुनाएका थिए। उनीहरु नेपाली पोशाकमा चिटिक्क परेर दिक्षान्त समारोहमा उपस्थित भएका थिए। घरमा कार्यक्रम भए पनि रमाइलो र भव्य थियो कार्यक्रम।कार्यक्रमको अध्यक्षता हेमा पौडेलले गर्नु भएको थियो।
कार्यक्रममा ग्लोबल स्कुलका प्रिसिपल विजय राज भट्टराई, मन्दिर बोर्ड अफ ट्रस्टीका अध्यक्ष बिनय अर्याल, एनआरएन टेक्सास च्याप्टरका सभापति सोफिन थापा, नेपाली पत्रकारहरुको संस्था नेजाका महासचिव सुरज भण्डारीले अतिथिको रुपमा आफ्ना विचारहरु प्रस्तुत गर्नु भएको थियो। त्यस्तै प्रमिला सुबेदी, राधा अधिकारी, निशा श्रेष्ठ, राजेश अधिकारी, कृष्ण अर्याल, गोबिन्द आत्रेय लगायतका अभिभावकहरुले कक्षा संचालन गरेर बाबुनानिहरुलाई दिक्षित बनाएकोमा छबि हुमागाईंलाइ धन्यवाद दिंदै निरन्तरताको लागि अनुरोध समेत गर्नु भएको थियो। संगठित रुपमा औपचारिक कक्षा संचालनको लागि नेपाली मन्दिरलाई पहल गर्न अनुरोध समेत गरिएको थियो।
कार्यक्रममा दिक्षित बिद्यार्थीहरुलाई हौसला स्वरुप पदक, तक्मा तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो।
अमेरिकामा डालस क्षेत्र नेपालीहरुको बाक्लो बस्ती भएको स्थान मानिन्छ। बिभिन्न कारणले नेपालीहरुले डालसलाइ आफ्नो स्थायी बासस्थान बनाउन अन्य राज्यहरुबाट समेत बसाइ सराइ गरिरहेका छन्।
बसाइ सरेसंगे आफ्नो भाषा, संस्कृति र धर्मको लागि बिभिन्न खाले कामहरु पनि गरिरहेका छन्। डालस नजिकै रहेको अर्को सिटि अर्भिंगमा रहेको नेपाली मन्दिरले नेपाली भाषा पढाउने तथा अन्य सामुदायिक कामहरु गर्दै आएको छ। डालस फोर्ट वर्थ एरियाको ठुलो क्षेत्रफ़लमा नेपाली फैलीइरहेका छन्। त्यसको लागि यस्ता संस्थाहरुको बिस्तार समेत अत्याबस्यक भैसकेको छ।
प्रबासमा आफुलाई चिनाउने माध्यम भनेको हाम्रो भाषा र संस्कृति नै हो। आफ्नो भाषा भुलेको मानिस कुहिरोको काग जस्तो हुन्छ गन्तब्य बिहिन र अन्योलग्रस्त। संस्कार बिनाको मान्छे निर्जीव प्राणि जस्तो हुन्छ। हरेक मान्छेले जन्मिँदा एउटा पहिचान लिएर आएको हुन्छ जसलाई पुस्तान्तरणको खाँचो पर्छ। आफ्नो बालबालिकालाई पहिचान प्रति सचेत बनाउदै त्यस्ता कुराहरुमा शिक्षित बनाउनु एक अभिभावकको मूल दायित्व हो। उनीहरुलाई भाषा र संस्कृति रुपी सर्बोत्क्रिस्ट उपहारबाट बन्चित गर्नु उनीहरु माथि अन्याय गर्नु हो।
त्यसैले सकेसम्म आफ्नो घरमा नेपाली भाषा वा आफ्नो मातृभाषाको प्रयोगमा कडाइ गर्नु पर्छ। आफ्ना बालबालिकाहरुलाई हाम्रा सांस्कृतिक गतिविधिहरुमा संलग्न गराउनु पर्छ। त्यस्ता सामाग्रीहरुको घरमा संचय गर्ने र प्रयोग गर्ने गर्दा उनीहरुमा पनि त्यो प्रभाव पर्छ जसले पक्कै पनि उनीहरुलाई असल मान्छे बन्न प्रेरित गर्छ। हाम्रा राम्रा परम्पराहरु, संस्कारहरु उनीहरुमा पनि स्थानान्तर गर्न अप्ठेरो मान्नु हुँदैन।
(रिपोर्ट: लेखनाथ गौतम)