पुष्पा खनालले पाइन् सर्वोत्कृष्ट आधुनिक गीतकार अवार्ड
काठमाडौँ संवाददाता । गीतकार पुष्पा खनाललाई सगरमाथा म्युजिक अवार्ड २०७८ को सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) अवार्ड प्राप्त भएको छ । “केवल माया” गीतका लागि उनलाई सो अवार्ड प्रदान गरिएको हो । अर्थ नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको थियाे । अर्थ नेपालले सर्वाेत्कृष्ट गीतकारसहित अन्य विभिन्न ४८ विधामा अवार्डहरू वितरण गरेकाे छ ।
सरोज कोइराला र अञ्जु पन्तको स्वर तथा सरोज कोइरालाको सङ्गीत रहेको यो गीतकाे म्युजिक भिडियाे पुष्पाकाे आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स् मार्फत् सार्वजनिक भएको छ ।
गोविन्दमधुर आचार्यको सङ्गीत संयोजन रहेको गीतमा मोडल श्रीदेव भट्टराई, ममता चापागाईँ, लोकराज अधिकारीले अभिनय गर्नुभएको छ । हेम प्रभासले निर्देशन गर्नुभएको यो गीत सबै पुस्ताबीच उत्तिकै लोकप्रिय रहेको छ ।
गीतकार खनाल कामको सिलसिलामा बाहिर भएकाले हिजो काठमाडौँमा आयोजना गरिएको अवार्ड वितरण समारोहमा उहाँका पुत्ररत्न आश्वीन लम्साललाई उहाँको अवार्ड हस्तान्तरण गरिएको थियो । खनालको यही गीत नवौँ म्युजिक खबर म्युजिक अवार्ड, सर्वोत्कृष्ट गीतकार विधामा पनि मनोनयनमा गरेको छ ।
गीतकार खनालका दुई वटा गीति कृति प्रकाशित छन् भने आमा बोलको गीतले सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत अवार्ड प्राप्त गरिसकेको छ । विगत तीस वर्षभन्दा लामो समयदेखि साहित्यमा कलम चलाइरहनुभएकी खनाल नेपाली साहित्यका स्थापित संस्थाहरूको कार्यकारिणी पदमा रहेर नेपाली साहित्यिक क्षेत्रमा योगदान पुर्याइरहेकी छन् ।