डेमोक्र्याटहरु द्वारा साढे तीन ट्रिलिएन डलरको सामाजिक सुरक्षा योजना पेश
वाशिंगटन डिसी, अमेरिका। एक ट्रिलिएन डलरको पुनर्निर्माण योजना माथिल्लो सदन सिनेटमा छलफलकै क्रममा रहेको बेला डेमोक्र्याटहरुले फेरी साढे तीन ट्रिलिएन डलरको महत्वाकान्क्षी सामाजिक सुरक्षा सम्बन्धि प्रस्ताव अगाडी सारेका छन्। स्वास्थ्य, शिक्षा र बाताबरण संरक्षणको क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको यो प्रस्ताव रास्ट्रपति जोसेफ बाइडेनको ४ ट्रिलिएन डलर खर्च गर्ने योजनाको अर्को हिस्सा हो। फ़िलिबस्टर भनिने प्राबधान कायमै रहंदा रिपब्लिकन भोट बिना कसरी पास हुन्छ भन्ने हेर्न भने बाँकी नै छ।
सिनेटमा बहुमतका नेता चक सुमरले यो योजना पास भएमा मध्यम बर्गको स्थान मजबुत हुनुको साथै निम्न बर्गका अमेरिकीहरुलाई मध्यम बर्गमा उक्लिन मद्धत पुग्ने विश्वास व्यक्त गरका छन्। प्रगतिशील सिनेटर बर्नी स्याण्डर्सको चुनावी नारा बनेका मेडिकेडको बिस्तार जसमा आँखा, दांत र सुन्न मद्धत गर्ने यन्त्रको सुबिधा उपलब्ध हुने, निशुल्क पुर्ब प्राथमिक शिक्षा, दुइ बर्षे सामुदायिक कलेज निशुल्क गर्ने कुराहरुलाई अहिले प्रस्तावित साढे तीन ट्रिलिएन डलरको योजनामा समाबेश गरिएको छ। त्यस्तै जलबायु परिबर्तनको समस्यासंग जुध्न नागरिक जलबायु आयोग बनाउने योजना अगाडी सारिएको छ।
यति ठुलो खर्च कसरी जुटाउने भन्ने बिषयमा पनि डेमोक्र्याट र रिपब्लिकनहरु बीच ठुलो मतभिन्नता छ। रिपब्लिकनहरु २०१७ मा पास गरिएको कर कटौती जारी राख्न चाहन्छन भने डेमोक्र्याटहरु धनी र ठुला कर्पोरेसनहरुको आम्दानीमा कर लगाएर यो खर्च जुटाउने योजनामा छन्। सिनेटर एलिजाबेथ वारेनले धनी र ठुला कम्पनीहरुले आफ्नो भागको कर तिर्नु पर्ने जनाउंदै त्यो कानुनको तयारी गर्दै छिन।