एचडीएनपीले अर्थ संकलनको लागि अक्टोबरमा गाला डिनर गर्ने
डालस, अमेरिका। टेक्सास राज्यको आर्लिंगटनमा रहेको गैर नाफामुलक समाजसेवी संस्था एचडीएनपीले आगामी अक्टोबर महिनामा आर्थिक संकलन गर्ने उद्देस्यले एक गाला डिनर आयोजना गर्ने भएको छ। स्थानीय स्तरमा घरबार बिहिन अमेरिकीहरुलाई खाना खुवाउने, कपडा वितरण गर्ने लगायतका काम गर्दै आएको उक्त संस्थाले हरेक बर्ष जस्तै यस बर्ष पनि गाला डिनर आयोजना गर्न लाएको हो। अक्टोबर ९ सनिबार हुने उक्त कार्यक्रमको उद्देश्य पनि घरबार बिहिनहरुलाई खाना उपलब्ध गराउन आबस्यक अर्थ संकलन गर्नु रहेको छ।
एचडीएनपी इन्टरनेसनल २०१२ मा अमेरिकाको टेक्सासमा स्थापित सामाजिक संस्था हो। यसले स्थापना कालदेखि नै घरबार बिहिनहरुलाई त्रैमासिक रुपमा खाना खुवाउने, रक्तदान कार्यक्रम संचालन गर्ने, गरिब दुखिहरुलाई लत्ता कपडा उपलब्ध गराउनुका साथै नेपाल र अन्य अफ्रिकी देशहरुमा समेत राहतका कामहरु गर्दै आएको छ।
संस्थाका अध्यक्ष देवी आचार्यले एचडीएनपीले अमेरिकाको समुदायको लागि समेत काम गरेर कर्मभूमिको ऋण चुकाउन प्रयत्न गरेको बताउंदै आगामी दिनहरुमा संस्थाले अझ धेरै काम गर्न सम्पूर्ण समुदायको सहयोग र हौसलाको आबस्यकता रहेको जनाउनु भयो। अर्थ संकलन डिनरमा उपस्थित भएर पनि केहि सहयोग हुने कुरा व्यक्त गर्दै आचार्यले सबैलाई सामाजिक काममा हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गर्नु भएको छ।