के हुँदैछ अमेरिकाको दक्षिणी राज्य जर्जियामा ?
सामान्यतया राजनीतिक पार्टीहरु चुनावमा पराजित भएपछि त्यसको लेखाजोखा गर्न लाग्छन। हामीले भोट किन कम पायौं भन्ने विश्लेषण गरेर जनताको मन जित्ने कार्यक्रम ल्याउनु सहि मार्ग हो। तर जर्जियामा भने त्यसको उल्टो काम गर्न लागे रिपब्लिकनहरुले। मतदाताहरुको भोटले जित्न नसकेपछि तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपले निर्बाचन उल्टाउन अनेक प्रपन्च गरे। त्यहाँका निर्बाचन अधिकारीहरुलाई फोन गर्दै निर्बाचनको परिणाम बदल्न दबाव दिए। निर्बाचनमा धाँधली भएको आधारहीन तर्क गर्दै ट्रंपले निर्बाचन गर्न अपनाइएका पद्दतिहरुलाई दोष दिए। उनले निर्बाचनको परिणाम स्वीकार गरी जनताको मन जित्ने तर्फ लाग्नु भन्दा नियम र कानुन परिबर्तनलाइ जोड दिन थाले।
अर्कोतिर जर्जियाका रिपब्लिकनहरु पनि निर्बाचनको नतिजासंग सन्तुस्ट थिएनन। आफैले स्थापित गरेको नियमहरुबाट भएको निर्बाचन र आफैले सम्पन्न गरेको निर्बाचन भएकोले त्यसको परिणाम स्वीकार गर्न बाध्य भए पनि उनीहरुले आफु सत्तामा रहिरहन मतदानका नियमहरुमा परिबर्तन गर्न आबस्यक ठाने। फलस्वरूप केहि दिन अघि मात्र एउटा कानुन पास गरे जसले मतदान केन्द्रहरु कम गर्ने, मतदानको समय कम गर्ने, निर्बाचनको दिन अघि नै भोट हाल्न मिल्ने दिनहरु कम गर्ने, भोट हाल्न लाइनमा बसेकालाइ पानी वा अन्य खानेकुरा दिने कामलाई अपराधको रुपमा लिने कानुन पारित गरे। एकातिर समय कम गरेर मान्छे लाइनमा बस्न बाध्य पार्ने तर लामो समय लाइनमा बस्दा पानी समेत दिन नपाइने कानुन पारित गर्दै मतदान गर्न असजिलो पार्ने नियम बनाए।
मार्च महिनाको अन्त्यमा जर्जियाका गभर्नर ब्रायन केम्पले हस्ताक्षर गरेर बनाइएको कानुनलाइ रास्ट्रपति जो बाइडेनले “एक्काइसौँ शताब्दीको जिम क्रो” भनेर आलोचना गरेका छन् भने जर्जियाको गभर्नर पद्की डेमोक्र्याटिक उम्मेदवार स्टेसि अब्राहमले यो अल्पसंख्यक माथिको हमला हो भन्दै मतदानको अधिकार एबम पहुँच बढाउनु पर्नेमा झन् झन्झटिलो बनाउनु प्रजातन्त्रको बिरुद्ध भएको उल्लेख गरेकी छन्। त्यस्तै अधिकारबादीहरु पनि यो कानुनको बिरुद्ध आवाज बुलन्द गरिरहेका छन्।
डोनाल्ड ट्रंपको निर्बाचनमा अनियमितता भएको भन्ने आधारहीन तर्क कै आधारमा अमेरिकाका ४७ वटा राज्यहरुमा ३६० भन्दा बढी कानुनहरु प्रस्तावित गरिएका छन्। निर्बाचन प्रणालीमा बिस्वास जगाउने खोल यी कानुनहरुले ओढे पनि खास उद्देस्य भने अल्पसंख्यक कालाजातिहरुलाई भोट हाल्न असजिलो बनाउनु रहेको घाम जस्तै छर्लंग छ। सबैलाई भोट हाल्न मिल्ने गरी सजिलो बाताबरण तयार गर्ने हो भने रिपब्लिकनहरुले चुनाव कहिल्यै जित्न सक्दैनन् भन्ने ट्रंपको भनाइले पनि यो कुराको पुस्टि गर्छ। प्रजातन्त्रको आधार निर्बाचन भए पनि निर्बाचनमा मतदान गर्न अप्ठेरो बनाउने जर्जियाको अहिले ब्यापक बिरोध भैरहेको छ। यसमा खेलकुद क्षेत्र समेत अघि सरेको छ। त्यस्तै ठुला कर्पोरेटहरुले पनि उक्त कानुनको बिरोध गरेका छन्।
मतदानलाई कठिन बनाउने कानुनको बिरोधमा कोकाकोला र डेल्टा एअरलाइन्स खुलेर लागेका छन् भने बेसबलको लिग खेल जर्जियामा नखेलाउने घोषणा गरेका छन् भने पीजीएले भने पुर्बनिर्धारित खेल बिभिन्न कारणले जारी राख्ने जनाए पनि आगामी खेलहरु नखेलाउन सकेन संकेत गरेको छ। यसको बिरोधमा रिपब्लिकनहरुले कर्पोरेटहरुलाई दिंदै आएको करमा छुट हटाउने धम्कि दिएका छन्। अब यो लडाइ जनस्तर, राजनीतिकस्तर, अधिकारबादीस्तर सहित कर्पोरेटस्तरमा पुगेको छ। जर्जियामा पास भएको यो कानुनको उचित जवाफ दिन नसकेमा अन्य राज्यहरुले पनि सोहि मार्ग अपनाउने अवस्था देखिए पछि सबैले जर्जियातिर आफ्नो ध्यान केन्द्रित गरेका छन्। उक्त कानुनलाई टक्कर दिन केन्द्रमा डेमोक्र्याटहरुले पनि एचआर-१ नामक निर्बाचन सम्बधि कानुन निर्माण गरेर तल्लो सदनबाट पास समेत गरिसकेका छन्। त्यस्तै हरेक तहबाट बिरोध जनाएर यस्तो प्रतिगामी यात्रा रोक्न डेमोक्र्याट एबम अधिकारबादीहरु सक्रिय भएका छन्।
गत नोभेम्बरमा भएको निर्बाचनमा जो बाइडेनले तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपलाइ पराजित गरेपछि जर्जिया अमेरिकी राजनीतिको केन्द्रबिन्दु हुन पुगेको छ। १९९२ मा बिल क्लिन्टनको जित पछि संधै रिपब्लिकनले जित्ने गरेको यो राज्य २८ बर्ष पछि बल्ल जो बाइडेनले जित्न सफल भए। बाइडेनले रास्ट्रपतिमा जितेको करिव एक महिना पछि भएको सिनेटको पुनार्निर्बचनमा फेरी डेमोक्र्याटहरुले विजयको झन्डा फ़हराउन सफल भए। जोन ओसोफ़ र रफ़ाएल वारनोकको जित डेमोक्र्याट पार्टीको मात्र जित थिएन, एक यहुदी र अस्वेतको बिजयले जर्जिया चर्चाको केन्द्रबिन्दुमा आयो। राज्यका गभर्नर देखि अन्य धेरै पदहरुमा रिपब्लिकनको बर्चस्व रहेको जर्जियामा यो निर्बाचन परिणामले रिपब्लिकनहरुलाई झस्काइदिएको छ।