बोकेको कुकुरले मृगको शिकार गर्दैन
एनआरएन अमेरिका निर्बाचनको संघारमा छ। सन् २०२१-२३ को लागि एनआरएन एनसिसि अमेरिकाको चुनाव केहि समय पछि हुँदैछ। त्यसको लागि देशभरिबाट उम्मेद्वारी दिने लहर चलेको छ। अध्यक्ष लगायत सबै पदहरुमा उत्साहजनक रुपमा उम्मेद्वारी परेको छ। यो पक्कै पनि खुसीको कुरा हो। संस्थामा धेरै मान्छे आएर सेवा गर्न इच्छा राख्नु संस्थाको हितमा छ। धेरै मान्छे सक्रिय भएर काम गर्दा संस्था अघि बढ्छ र यसले स्थापनाको उद्देस्य पुरा गर्न सक्छ।
निर्बाचनको संघारमा आउंदै गर्दा अमेरिकाको नेपाली समाज भने उही श्राद्ध गर्न बिरालो खोज्ने बाहुन जस्तै देखिन्छ। बास्तवमा अधिकांश हामी नेपालीहरु बिगतमा जस्तै पछुताउने काम गर्दैछौं। हामीले अमेरिकाको नेपाली समाज र एनआरएन अमेरिका हाँक्ने होइन हाम्रा कुण्ठाहरु शान्त पार्ने मान्छे खोज्दैछौं। हामीभित्रका स्वार्थ पुरा गर्ने हतियारको खोजि गर्दैछौं। संस्थाको उद्देस्य अनुरुपको नेतृत्व खोज्ने तर्फ हामी पटक्कै सक्रिय छैनौं। हामी बिगत बिर्सिने, वर्तमानमा गल्ति गर्ने र भविस्यमा पछुताउने धारमा नै बगिरहेका छौं। यसलाई परिवर्तन गर्न कोहि लागेकै छैन। समाजसेवी देखि पत्रकारसम्म “मेरो मान्छे” अघि बढाउने र नेता बनाउने अभियानमा छन्। संस्थाको नेतृत्व गरेर अघि बढाउने नेतृत्व होइन झोले बनेर अघिपछि गर्ने मान्छे चाहिएको छ। एनआरएनको बास्तविक लक्ष पुरा गर्न सक्ने विचार र क्षमता भएको व्यक्ति होइन काठमाडौँमा डेलिगेट बनाइदिने मान्छे चाहिएको छ।
चुनावको मुखमा एउटा समूह “मिलाउन” सक्रिय छ। मिल्ने र मिलाउने केका लागि भन्ने कुराको आधारभूत ज्ञान नभएको समुह “मिल्नु” लाइ नै संस्थाको उन्नति ठान्छ। प्रतिष्पर्धालाइ दुश्मनी र पराजयलाई अपमान ठान्ने त्यो समूह चुनाव भयो भने संस्था विभाजित हुने ठान्छ र “मिल्न” ठिक हुने मान्यता राख्छ। तर मिल्ने नाममा हुने “चलखेल” र “सम्झ्यौता” को कारण “मिलेर” आएको व्यक्तिको बाँधिएको हातले काम गर्न सक्दैन भन्ने त्यो जमातलाइ हेक्का छैन। प्रतिष्पर्धा गर्दा “पछि” पर्ने डरले हो वा किन हो उनीहरु मिल्ने र मिलाउने तिरै बढी सक्रिय हुन्छन। तर कुन कुरामा मिल्ने हो भन्ने कुरा भने उनीहरुलाई नै थाहा हुँदैन। “मिल्ने” भन्ने मात्र थाहा हुन्छ।
यस्तो माहोलमा मतदाता वा यतिबेला अमेरिकाको एनआरएनका सदस्यहरुको हातमा ठुलो जिम्मेवारी छ। बुझ्ने र चिन्ने बेला यहि हो। को संस्थाको उद्देस्य अनुरुप काम गर्न सक्छ भनेर पहिल्याउने बेला यहि नै हो। आफै पैसा तिरेर बनेका सदस्यहरुले आफु किन सदस्य बनियो र मेरो प्रतिनिधित्व गर्नेले के गर्नु पर्छ भनेर छुट्टाउन सक्नु पर्छ। कसैले पनि हाम्रो “चुलो बाल्दैन” भन्ने बुझेर नीतिगत तहमा काम गर्न सक्ने नेतृत्व हामीले रोज्नु पर्छ। पक्कै सबैजना सम्पूर्ण रुपमा योग्य त नहोलान तर कमसेकम राम्रोको खोजि भने हामीले जारी राख्नु पर्छ। खोज्दा आफ्नो खुट्टामा उभिएको खोज्नु पर्छ। “बोकेको कुकुरले मृगको शिकार गर्दैन” भन्ने कुरा बुझ्नु पर्छ। समग्र मतदाताहरुको रोजाइ भन्दा पनि “केहि खेलाडी” हरुको रोजाइमा परेको वा बोकेर ल्याइएको मान्छेले सिन्को भाँच्न सक्दैन भन्ने बुझ्नु पर्छ। हो मा हो मिलाउने मात्र होइन पर्दा “नो” भन्न सक्ने मान्छे खोज्नु पर्छ।
अबको चुनावमा अमेरिकाका नेपाली मतदाताहरुले क्षेत्र, लिङ्ग, जातभात, पेशा वा रंग हेरेर मतदान गर्न हुँदैन। कसले राम्रो काम गर्न सक्ने क्षमता राख्छ, त्यसलाई मत दिनु पर्छ। आफ्नो खुट्टामा उभिएको उम्मेदवार रोज्नु पर्छ। गुट उपगुट वा “स्पेसल इण्टेरेस्ट” को होइन नेपाली समुदायको हकहितको लागि काम गर्न सक्ने मान्छे रोज्नु पर्छ। जित्न साम, दाम, दण्ड, भेद सबै गर्ने तर हारे पछि अदालत धाउने वा संस्थाको अहितको लागि सक्रिय हुने मान्छे यतिबेलै छिन्न पर्छ। बेलैमा यी कुरामा ध्यान पुर्याउन सके केहि हदसम्म सुधार हुँदै जान्छ र आउँदा केहि चुनावमा संस्था ट्रयाकमा आउंछ। नत्र बिगत भुल्ने, बर्तमानमा गल्ति गर्ने र भविस्यमा पछुताउने हाम्रो पुरानो रोगको निरन्तरता नै हुनेछ आगामी निर्बाचन पनि। त्यसैले यतिबेलै आफ्नो कर्तब्य निर्बाह गरौँ। पछि पछुताएर फाइदा छैन। अस्तु : (विश्लेषण: लेखनाथ गौतम)