डाक्टर अर्जुन बन्जाडेको उम्मेद्वारी घोषणा सभामा उठेका प्रश्नहरु
मार्च १४ आइतबारको दिन डाक्टर अर्जुन बन्जाडेको उम्मेद्वारी घोषणा सभामा जाने अवसर मिल्यो। डालस नजिकैको अर्भिंग सिटिमा अबस्थित नेपाली मन्दिरमा उक्त घोषणा सभा आयोजना गरिएको थियो। कार्यक्रममा कोरोना भाइरसको त्रासका बाबजुद राम्रै उपस्थिति थियो। कतिपय टेक्सास र अन्य राज्यबाट आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्न आएका थिए भने कोहि रमाइलो हेर्न। कोहि गफ दिन आएका थिए भने निकै कम मान्छे मात्र त्यहाँ कुरा सुन्न आएका थिए। डाक्टर बन्जाडेको कार्यक्रममा उनका कुरा सुन्न, उनका भबिस्यका योजना सुन्न र त्यसबाट आफ्नो धारणा बनाउन होइन अधिकांश उल्टो उनैलाई आफ्नो उपदेश सुनाउन आएका थिए।
म एक पाहुनाको रुपमा डाक्टर बन्जाडेको उम्मेद्वारी घोषणा सभामा गएँ। कार्यक्रमको लगभग अन्तिमसम्म म अघिल्लो कुर्चीमा बसेर सबैका कुराहरु सुन्ने प्रयत्न गरें। डाक्टर अर्जुन बन्जाडे देखि जुममा उपस्थित सबैका कुरा प्रत्यक्ष सुने। अध्यक्ष पदका उम्मेदवार डाक्टर बन्जाडेको बिगत, उनले एनआरएनमा गरेको अनुभव, गरेका कामहरु देखि उनको आगामी दिनमा गर्न चाहेका कामहरुको बेलिबिस्तार सुने। उहाँको प्रस्तुति एकदम उत्तेजित भएर एनआरएनमा हाम्फालूं जस्तो नभए पनि सफा र स्पस्ट थियो। त्यहाँ आफ्नो गौरब गाथा भन्दा पनि आफुले केहि गरेका कामहरु र केहि गर्न चाहेका कामहरुको ब्याख्या थियो। बिशेष गरी एनआरएन अमेरिकाका सदस्यहरुलाई बीस डलर तिरे पछि केहि दिन पर्छ भन्ने सोंचाई र योजना उहाँको रहेको पाएँ।
नेपालमा हुँदै गरेको १० अर्ब लगानीमा थोरै पैसा हुनेहरुलाई पनि समाबेश गराउने, नेपाली नागरिकताको निरन्तरताको माग पुरा नहुन्जेल नेपाली ग्रीनकार्डको व्यवस्था गर्न प्रयत्न गर्ने, नेपाली बिद्यार्थीहरुलाई अमेरिकाका माथिल्लो स्तरका ठाउंहरुमा इण्टर्न्शिप मिलाउन पहल गर्ने, नेपालीहरुलाई अमेरिकाको राजनीतिमा लाग्न प्रेरणा र सहयोग गर्ने लगायत अन्य नीतिगत कार्यक्रमहरु ल्याउने योजनाहरु प्रस्तुत डाक्टर बन्जाडेले गर्नु भयो। उहाँले भन्न बिर्सेको कुरा चाहिं यो सबै काम गर्न केकस्तो साधन र श्रोत चाहिन्छ र कस्तो टीम चाहिन्छ भन्ने थियो। त्यसको लागि आफुसंग आबस्यक टीम र साधनश्रोत छ भनेको भए सुनमा सुगन्ध हुने थियो। किनभने करिव ४ लाख नेपालीहरु एबम करिव २३ हजार सदस्यहरुको प्रतिनिधित्व गर्ने एनआरएन अमेरिकामा जति चमत्कारिक भए पनि एक जनाले केहि गर्न सक्दैन। त्यसको लागि एक सबल, इच्छाशक्ति भएको, समय र जाँगर भएको एबम एनआरएनको अभियान प्रति समर्पित व्यक्तिहरुको समुह चाहिन्छ। नत्र कागजमा पद र योजना रद्दीको टोकरीमा हुन्छन।
कार्यक्रमको बिषयबस्तु र बक्ताहरुको भाषणको भाषा
कार्यक्रम संचालक सन्तोष बिस्टले बोल्ने बिषयबस्तु र समय समेत तोकेर बक्ताहरु बोलाए। बोल्न दुइ मिनेट र बिषय अध्यक्ष पदका प्रत्यासी डाक्टर अर्जुन बन्जाडेलाइ बधाई एबम शुभकामना दिनु थियो। तर करिव सबै बक्ताहरुले उक्त माइकको चरम दुरुपयोग गरे। कसैले त्यसलाई आफ्नो मनको भडास पोख्न प्रयोग गरे भने कतिपयले सुझाव र दवाबको लामै सुची प्रस्तुत गरे। संचालक सन्तोष बिस्टले पटक पटक बिषयबस्तु सम्झाए तर कसैले पनि त्यसलाई सुनेनन्। उनीहरुले न त श्रोताहरुको मनोभाव बुझे न त कार्यक्रमको बिषयबस्तु नै। मन्चमा पुगेर माइक समाते पछि बक्ताहरुले समयको पनि ख्याल गरेनन। सुन्ने मान्छे आफ्नै तालमा, भाषण गर्ने मान्छे अर्कै तालमा। आखिर यहाँको चलन नै यस्तै छ।
निमन्त्रणाको तात्पर्यता र श्रोताहरुको चर्तिकला
डाक्टर अर्जुन बन्जाडेले पठाएको निमन्त्रणा पत्रमा उम्मेद्वारी घोषणा सभामा उपस्थित हुन आग्रह गरिएको थियो। एक पाहुनाको रुपमा त्यहाँ जानु, उसले गरेको सत्कार अनुसारको व्यवहार गर्नु पाहुनाको कर्तब्य हुन्छ। एउटा उम्मेद्वारी घोषणा सभामा गैसके पछि उसका कुरा सुन्नु पर्छ, नबुझेका कुरा सोध्नु पर्छ। उसको घरमा पाहुना भएर गैसके पछि कमसेकम उसको फर्म्याटको मर्यादा राख्नुपर्छ। तर अधिकांश पाहुना र श्रोताहरुमा त्यस्तो मर्यादा राख्ने धैर्यता देखिएन। हलको बाहिर गफ दिएर बस्ने, पछि बसेर गफ चुट्ने काम निरन्तर चलिरह्यो। धेरैजसो पाहुनाहरु त्यहाँ उम्मेदवारको कुरा होइन आफ्नै कुरा सुनाउन गएको भान हुन्थ्यो। निमन्त्रणाको मर्यादा राख्न अधिकांशले सकेको देखिएन। जब सम्म अरुको कुरा राम्रोसंग सुनिन्न, उसको कुरा बुझिन्न। उम्मेदवारको कुरा नसुनेपछि हल्लाको पछि लागिन्छ र भोट हालिन्छ। हल्लाको पछि लागेर भोट हाले पछि संस्था र यसको अभियानको हालत के हुन्छ, हाम्रो अगाडी घामजस्तै छर्लंग छ।
भोट हालेर नेतृत्व छान्ने अधिकार मतदाताहरुलाई देउ
शुभकामना दिन बोलाइएका बक्ताहरुको एउटै जोड मिलेर जानुस भन्ने थियो। खासगरी टेक्सासबाट नै दुइजना अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने र अर्जुन बन्जाडे भएकोले दुइमा एक हुनुस भन्ने धेरैको चाहना देखियो। तर कसले के इस्यु ल्याएको छ र कसले एनआरएन अमेरिकाको अध्यक्षको वजन अनुसारको योग्यता राख्छ भनेर त्यहि अनुरुप सुझाव दिन भने सकेनन। मिल्ने नाममा कोठे बैठक र केहि ठेट्नाहरुलाई अधय्क्ष चुन्ने अधिकार दिने हो भने २३ हजार सदस्यहरुको काम के हो ? उम्मेदवारहरुको योग्यता र दक्षताको आधारमा नभई तिनै ठेट्नारुको निकटताको आधारमा नेता चुन्ने हो भने चुनावको नौटंकी किन गर्नु पर्यो ? उम्मेदवारहरुले पनि आफ्नो क्षमता र योग्यता मतदाता सामु प्रस्तुत गरेर उनीहरुको मन जितेर नेतृत्व गर्ने आँट नगरी तिनै ठेट्नाहरुको पछि लाग्ने हो भने यो सब नौटंकी बन्द गरेकै राम्रो। किन बित्थामा दुनियालाई मुर्ख बनाउने ? किन बित्थामा दुनियाँको समय र उर्जा बर्बाद गर्ने ?
अन्त्यमा,
संस्था सुध्रिन हामी सुध्रिन पर्छ। हामी भनेको मतदाताहरु हो। हामी भनेको उम्मेदवारहरु हो। हामी भनेको संस्थाका अभियन्ताहरु हो। सबैले आफुलाई होइन संस्थाको हितलाई केन्द्रबिन्दुमा राख्नु पर्छ। ब्यक्तिबादी कुराहरुलाई होइन विचार र लक्षहरुलाई प्रस्रय दिनु पर्छ। संस्था बलियो हुँदा सबैजना बलियो भइन्छ । व्यक्ति बलियो भयो भने संस्था कम्जोर हुन्छ। यी सबै कुरा निर्बाचनको संघारमै गर्ने हो। यहि बेला गर्ने हो। सबैका कुरा सुन्ने बेला यहि हो। उम्मेदवारहरुका योजना र भिजन थाहा पाउने बेला यहि हो।
मिल्ने नाममा “राम्रो” उम्मेदवारको बली चढाएर “हाम्रो” उम्मेदवारलाइ राज्यारोहण गर्ने र गराउने काम गर्नु हुन्न। बैचारिक छलफललाई बिबाद भनिन्न। योजनाहरुको मन्थन बिभाजन होइन, यो त संस्थाको अग्रगमनको शुत्र हो। खाली यसलाई स्वस्थ बनाउनु पर्छ र रोजाइ मतदाता सामु राखिदिनु पर्छ। उम्मेदवार राम्रोसंग चिनेको र उसको योजना थाहा पाएको मतदाताले मात्र सहि अर्थमा संस्थाको भलाइको लागि काम गर्न सक्ने उम्मेदवार छान्न सक्छ। उम्मेदवारहरुले पनि आफ्नो खुट्टामा उभिनु पर्छ। टेको लगाएको कुभिन्डोले सांकेतिक रुपमा “बोका” को काम त गर्ला, संस्थाको हित र हज्जारौं सदस्यहरुको नेतृत्व गर्न सक्दैन। एनआरएन अमेरिकाको आगामी निर्बाचनका उम्मेदवार, एनआरएन अभियानका सारथीहरू र नेतृत्व चुन्ने तालाचावी भएका सदस्यहरुको लागि आफ्नो बुद्धिको बिर्को खोले यहि अवसर हो। नत्र फेरी बिगत बिर्सिने, बर्तमानमा गल्ति गर्ने र भविस्यमा पछुताउने पुरानो चक्र दोहोरिन्छ। यो चुनाव पनि केहीलाई पद, संस्थालाइ बिषालु बायु नहोस।