तपाईंले दुख गरेर हुर्काएको ब्यबसायमा कसैले आँखा गाडेको त छैन ? चनाखो हुनुहोस !
बिगत करिव साढे दुइ बर्ष देखि मेरो परिवारले दुखसुख एउटा सानो पसल चलाएका छौं। पसल शुरु गरेको करिव २० महिनासम्म त्यो पसलबाट हामीले एक डलर पनि आम्दानी गर्न सकेनौं। पहिलो करिव ८ महिना मैले काम गरें तर आम्दानी नभए पछि घर चलाउन अन्तै काम शुरु गरें। मेरो घरका अन्य सदस्यहरुले बाँकी १२ महिना उक्त काम सम्हाले। १२ घण्टा संचालन हुने उक्त पसल १२ घण्टा काम गरेर पनि २० महिना सम्म एक डलर पनि काम गरे बापत पैसा लिन सकिएन। २० महिनाको अबधिमा करिव ६ महिना त पसलको भाडा समेत क्रेडिट कार्डबाट झिकेर दिन बाध्य भैयो। महिनाभर ब्यापार गर्दा पनि ५ हजार डलर पुग्दैनथ्यो। इन्टरनेट, बिजुली र अन्य खर्च मात्र धान्न गार्हो थियो। पसलमा सामान पनि खासै थिएन।
२०१९ को डिसेम्बर देखि वार कि पारको रुपमा म आफै पसलमा फर्केर काम शुरु गरें। क्रेडिट कार्ड, साथिभाइहरुसंग सापट गरेर थप ४० हजार डलर ऋण लिएर पसलमा समान थपें। व्यापार बिस्तारै बढ्दै गयो। फेब्रुअरीको अन्तिमबाट कोरोनाको महामारी शुरु भयो। धेरै पसल बन्द भए। तर मैले पसल बन्द गरिन। त्यति ऋण तिर्ने चुनौती भएको मान्छे डराएर घर बस्ने अवस्था थिएन। पुलिस आएर बन्द गर भन्यो भने मात्र बन्द गरुला भनेर पसल खोलिराखें। पसलले पनि राम्रो परिणाम दिन थाल्यो। खर्च कटाएर अलिअलि नाफा पनि हुन थाल्यो।
केहि महिना अघि देखि संगै रहेको अर्को खालि ठाउँमा केहि नेपाली भाइहरु मिलेर गेमरुम शुरु गरे। गेमरुमबाट सायद राम्रै आम्दानी गरे। नेपाली भएको नाताले आउने जाने पनि थियो। एकपटक पार्किङ्गको बिषयमा केहि समस्या आएको थियो तर पछि त्यो पनि समाधान भएको थियो।
करिव एक महिना अघि मेरो बिल्डिंगको मालिक मलाई भेट्न आयो। उ एकदम डराएको देखिन्थ्यो। मसंग हात जोड्दै उसले आफ्नो कहानी सुनायो। आफु पेटको समस्यामा परेको र मर्ने अबस्थामा पुगेको बतायो। भन्दै गर्दा उसले आफुले प्रोपर्टी बेच्न लागेको र मैले ठाउँ छिट्टै खाली गर्नुपर्ने जनाउदै सहयोग गर्न भनेर गयो। ४/५ लाख पर्ने ठाउँलाइ एक मिलियन अर्थात् दश लाख डलर पाएकोले आफुले यो डील गरेरै छाड्ने भन्दै उसले मलाई बिकल्पमा जान भन्यो। उसले यो पनि भन्यो कि मिलियन डलर अफर गर्नेहरुको शर्त मैले पसल गरेको ठाउँ खाली गर्नु पर्थ्यो।
म बिलखबन्दमा परें। मेरो लिज सम्झौता सकिएको थियो। नविकरण गर्न एकदुई चोटी कुरा गर्दा उसले पर्दैन बिस्तारै गरौँला भनेर टारेको थियो। अझ उसले तिमीहरुलाई मैले कुनै हालतमा निकाल्दिन भनेर आस्वस्त पारेको थियो। मेरो कमजोरी भनौं वा गल्ति, मैले पनि उसको बोलीमा विश्वास गरें। लिज सम्झौता गर्ने तिर ध्यान दिइन।
त्यसपछि मैले किन्न खोजेको मान्छे को होला भनेर त्यो भारतीय साहुलाई सोधें। शुरुमा त उसले भन्न तयार भएन। पछि मैले उनीहरुसंग कुरा गर्छु भने पछि उसले उनीहरुको परिचय दियो। त्यो किन्न खोज्ने अरु कोहि नभएर मेरो पसलको आडैमा गेमरुम गर्ने नेपाली भाईहरु र उनीहरुका साथीहरु रहेछन। मलाई अचम्म लाग्यो। उनीहरुसंग कुरा गर्दा पनि कुरा मिलेन। नोभेम्बर १० मा प्रोपर्टीको साहु आएर ३० दिन भित्र खाली गर्न चिट्ठी छोडेर गएको छ। अब म यहाँ बाट अन्त सर्नु पर्ने बाध्यता आइपरेको छ। सर्ने ठाउँ खोज्दै छु। लगभग ठाउँ मिलिसकेको छ।
यो मेरो कथा लेखाइको उद्देश्य मलाई अन्याय पर्यो भन्ने होइन। म यस्ता धेरै अल्झन झेलेर आएको छु। तर बढ्दै गरेको नेपाली समाजमा कस्ता कस्ता प्रवृतिहरु मौलाउंदै छन् र हामी कसरी सचेत हुनु पर्छ भन्ने हो। पैसाको लागि नेपालीहरु कतिसम्म गर्न तयार हुन्छन भन्ने हो। त्यस्ता प्रवृतिहरुसंग आफुलाई बचाउन आफु कसरी तयार हुनुपर्छ भन्ने जनचेतनाको लागि यो मेरो व्यक्तिगत कथा शेयर गरेको छु । आफ्नो दुख गरेर सिर्जना गरेको ब्यबसायमा मान्छेहरु ब्वाँसा जस्तै आँखा गाडीरहेका हुन्छन र त्यस्ता संग कसरी सतर्क रहन सकिन्छ भनेर बुझ्नु पर्छ भन्ने हो। संगसंगै त्यस्ता प्रवृति मौलाउन नदिन सामाजिक रुपमा पनि हामीले केहि दवाव सिर्जना गर्नुपर्छ भन्ने आसय समेत हो। आफुले लामो समयको मेहनत र दुखले सिर्जना गरेको ब्यबसाय पैसाको आडमा हडप्न खोज्नेहरुसंग कसरी बच्न सकिन्छ भनेर बेलैमा सचेत बन्नु पर्छ भन्ने संदेश दिनु यसको उद्देश्य हो।
यो बिचमा मैले यो एउटा पृथक घटना होइन भन्ने पनि थाहा पाएँ। यस्ता घटना धेरै हुँदा रहेछन। बिशेष गरी नेपाली नेपाली बीच अस्वस्थ प्रतिष्पर्धा हुँदो रहेछ। प्रायजसो यस्तो लफडा भारतीयहरुसंग हुँदो रहेछ। भारतीयहरु पैसाको लागि बेइमान गर्न तयार हुने परिस्थितिको फाइदा उठाएर केहि नेपालीहरु उनीहरुलाई भाडा धेरै दिन्छु भनेर भडकाउदा रहेछन। सम्पति किन्दा त्यसको पैसा धेरै दिन्छु भनेर उनीहरुलाई भड्काउदा रहेछन। नेपालीहरुले पैसाको आडमा र भारतीयहरुले पैसाको लोभमा यस्ता काम गर्दा रहेछन।
यसमा संलग्न व्यक्तिहरुको परिचय अहिलेलाई मैले गोप्य राखेको छु। आबस्यक परे अबस्य सार्बजनिक गर्नेछु। फेरी पनि भन्छु यो मेरो लेखाइको उद्देस्य मलाई अन्याय पर्यो भन्ने भन्दा पनि समाजमा देखा परेका प्रवृतिहरुको उजागर गर्नु हो। अन्य व्यक्तिहरुका कथा पनि म बिस्तारै सार्बजनिक गर्नेछु। यदि तपाईंहरुसंग पनि कोहि कसैबाट अन्याय वा यस्तै चपेटामा परेको अनुभव छ भने शेयर गर्नु होला।