नेपाली समाज टेक्सासको निर्बाचनमा उदानसीनताका कारण र समाधान
नेपाली समाज टेक्सासको निर्बचानको तिथि नजिकिंदै छ । अन्तिम दिन डिसेम्बर २१ तोकेर सदस्य बन्नको लागि आव्हान पनि गरिसकिएको छ । उम्मेद्वारी दाखिला गर्ने अन्तिम दिन डिसेम्बर २२ तोकिएको छ । तर डिसेम्बर महिनामा हावापानी जति कठ्याङ्ग्रिएको छ, त्यो भन्दा बढी नेपाली समाज टेक्सासको चुनावी चहलपहल कठ्याङ्ग्रिएको देखिन्छ ।
१९९८ मा सामान्य चाडबाड मनाउने उद्देश्य साथ खोलिएको यो संगठन बिगत केहि बiर्ष देखि खुम्चिंदै गएर बिलाउला कि भन्ने अबस्थामा पुगेको छ । यसको मुख्य कारण यसप्रतिको जनचासो घट्दै जानु हो । डालसमा एक दुइसय जनामात्र नेपाली हुँदा यसको जति आकर्षण थियो अहिले पूर्णता क्षीण भैसकेको छ । ४०/५० हजार नेपालीहरुको बसोबास रहेको भनिएको डालसमा यहाँका नेपालीहरुका संगठनहरुको छाता संगठन मानिने यो संगठनको हालत कसरी भयो भन्ने बिषयमा सोंच्नु र यदि यो संस्था हामीलाई आबस्यक छ भने कसरी यसलाई सुधारेर बलियो बनाउन सकिन्छ भन्ने तर्फ सोंच्न ढिला भैसकेको छ ।
सबभन्दा पहिले त संस्था कम्जोर हुनुका कारण बारे सबैले आफ्नो भूमिकाको समालोचना गर्नु पर्छ । बिशेष गरी बिगत २० बर्ष देखि संस्थामा सक्रिय व्यक्तित्वहरुले यसलाई मनन गर्नु पर्छ । हाम्रा कुनकुन कमजोरीका कारण संस्था संस्थागत हुन सकेन र व्यक्तिहरु हावी हुँदै आजको दिनसम्म आइपुग्यो भन्ने कुराको समिक्षा हुन जरुरी छ । पछिल्लो नेतृत्वको कमजोरीलाई नै सबै समस्याको जड ठानेर उम्किन मिल्दैन । त्यो त केवल हामीले बर्षौं देखि रोपेको कुराको फल मात्र मिलेको हो ।
नेपाली समाज टेक्सास ५०१ सी अन्तर्गत स्थापित गैर नाफामुलक संस्था हो । यसमा सेवा गर्नेहरुको तलव हुँदैन । रातदिन नाभानी सामाजिक सेवामा तल्लिन हुनु पर्छ । तर धेरै सामान्य मानिसहरुको प्रश्न छ, यसमा मान्छे किन मरिहत्ते गर्छन । चुनाव जित्नको लागि किन गुटबन्दी गर्छन ? चुनाव जित्न किन हज्जारौं डलर पैसा खर्च गर्छन ? किन आपसमा गाँड कोराकोर गर्छन ? कुरोको चुरो यहींनिर छ । आम जनताले यो संस्थामा सक्रिय हुन अनिच्छा देखाउनुको मुख्य कारण यहि हो ।
अझै पनि बिग्रिसकेको छैन । संस्थामा गुटगत चुनाव बन्द गर्नु पर्छ । सकेसम्म सर्बसम्मत गर्न प्रयास गर्नु पर्छ भने चुनाव हुने अबस्थामा पनि टीम बनाएर जाने कामलाई बन्द गर्नु पर्छ । खुल्ला रुपमा व्यक्तिगत बलमा चुनावमा मत ल्याउनु पर्छ । टीममा परेकै भरमा खेलौना उम्मेदवारहरु आउनु हुँदैन । समाज सेवा जस्तो काममा एकअर्कासंग मिलेर काम गर्न सक्दिन, फलानो भयो भने मात्र सेवा गर्छु भन्छ भने त्यो मान्छे अयोग्य हो । संस्थाको निर्णय प्रक्रियामा पदिय जिम्मेवारीको भूमिका भए पनि सेवा गर्ने कुरामा सबैको दायित्व र अधिकार एउटै हो ।
त्यसैले आउनुहोस सबै मिलेर समाजको लागि केहि गरौँ । सेवा गर्ने समय भएका, संस्था हाँक्ने गुदी भएका र स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता भएका उम्मेद्वारहरु खोजौं र रोजौं । आउन चाहने पनि आफ्नै खुट्टा टेकेर आउनुस । अर्कालाई बैसाखी बनाएर दौड जित्ने दाउ नगर्नुस । पद हत्याउनकै लागि बन्द कोठाभित्र बसेर अनुचित सम्झौता नगर्नुस । आफ्नो बिगतको राजनीतिक गन्हाउने झोला फाल्नुस । यो प्रबासी भूमिमा हामी सबै एउटै हो । सबै नेपाली हो । हामी सबैले एउटै समस्या भोगिरहेका छौं । साझा रुपमा हाम्रा समस्या समाधान गर्ने संस्थाको रुपमा नेपाली समाज टेक्सासलाई विकास गरौँ । अहम, कुण्ठा र अभिमानले समाज बन्दैन । यो कार्यमा हरेकले आफ्नो तर्फबाट सकारात्मक योगदान दिउँ । अनि त्यसपछि हेरौंला नेपाली समाज टेक्सासमा सदस्य बनाउन पैसाको पोको बोकेर घरघर धाउनै पर्दैन । कार्यक्रम गर्दा चिया खुवाउने पैसा खल्ती बाट हाल्नै पर्दैन ।