स्वर्गीय इरा आचार्यको स्मृतिमा सभा हुँदै
डालस, टेक्सास । डालसमा सक्रिय डालस एभरेस्ट लायन्स क्लब लगायतका केहि संस्थाहरुको संयुक्त आयोजनामा नेपाली मन्दिरको सभाहलमा आज नोभेम्बर २४ आइतबार स्वर्गीय इरा आचार्यको स्मृति सभा हुने भएको छ । स्मृति सभा अपरान्ह ४ देखि ६ बजे सम्म हुनेछ । त्यस अघि ११ बजे देखि ४ बजेसम्म उहाँकै सम्झनामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ ।
स्वर्गीय इरा आचार्य डालसको नेपाली समाजमा एक चिरपरिचित मात्र होइन एक सम्माननिय नाम हो । डालस एभरेस्ट लायन्स क्लबको अध्यक्ष समेत भैसक्नु भएकी आचार्य समाजसेवाको बास्तविक उदाहरण हुनुहुन्छ । समाजसेवा प्रचारप्रसारको लागि र ठुलो मान्छे बन्ने उद्देश्यको लागि गर्नु हुन्न भन्ने उहाँको सिद्धान्त थियो र सोहि अनुसार काम गर्नु हुन्थ्यो । सामान्य आर्थिक अवस्था हुनेले पनि समाजसेवा गर्न सकिन्छ भन्ने उहाँ एक उदाहरण हुनुहुन्थ्यो ।
प्रबाशी नेपाली समाजमा मौलाउँदै गएको “पैसा र पैसावालाहरुको हस्तक्षेप” को सन्दर्भमा इरा आचार्यको स्मृतिमा सभा हुन लागेको छ । एनआरएन देखि समाजका बिभिन्न संस्थाहरुमा पैसाको बढ्दो प्रभावले यी संस्थाहरुमा आम सर्बसाधारणको चासो र बिस्वासको संकट बढ्दै गएको यो सन्दर्भमा स्वर्गीय आचार्यको स्वार्थरहित समाजसेवाको उदाहरणले समाजलाई केहि सकारात्मक उर्जा दिने आशा गर्न सकिन्छ ।
यो वा अन्य सन्दर्भहरुमा उहाँको समाजमा रहेको देन बारे पक्कै छलफलहरु पनि हुँदै गर्लान । तर जहिलेसम्म जुनसुकै अस्त्र प्रयोग गरेर पनि पैसा कमाए पछि समाजमा चोखो हुन वा समाज र संस्थाहरुलाई आफ्नो अनुकुल प्रयोग र दुरुपयोग गर्ने कथित अगुवाहरुको पछि लाग्ने संस्कार त्याग्न सकिन्न, त्यो बेलासम्म इरा आचार्य जस्ता सच्चा समाजसेवीहरुको स्मृति वा स्तुति फगत नाटक मात्र साबित हुन्छ ।