नारायणी नदीमा चलाउने पानिजाहाज बन्दै
चितवन – पानी जहाजको बहस चलिरहँदा चितवनको नारायणी नदीमा चलाउन मिल्ने गरी मिनी पानी जहाज (ठुुुलोमोटर बोट)बनिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. १६ काब्रेघाटमा मोटरबोट बनाउने काम भैरहेको छ । नदीमा पाँच मिटर गहिराई भए चल्न सक्नेगरी यो जहाज बनाइएको छ । नारायणी नदीको मुग्लिनदेखि त्रिवेणीधामसम्म यो मिनी पानी जहाज चलाउने लक्ष्य राखिएको छ ।
पानी जहाज बनिरहेको र यसको चर्चा पनि बढ्दै गए संगै पर्यटक बढ्ने संकेत देखिएको ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले बताउनुभयो । वनभोज खाने क्षेत्रको रुपमा चिनिएको ज्ञानेश्वर क्षेत्रमा पानी जहाज अर्को नयाँ पहिचान पनि थपिएकोमा स्थानीय बासिन्दा खुसी भएको उहाँले बताउनुभयो ।
यसैबीच नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यता सम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारदेखि पहिलो चरणको अध्ययन सुरु गरेको हो ।
चितवनको दासढुंगादेखि नेपाल–भारत सीमानामा पर्ने गण्डक ब्यारेजसम्म करिब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो । नाप जाँचको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । साभार उज्यालो मिडयाबाट ।