कुन्ता शर्मा र मात्रिका तिम्सिनालाई योगमाया सम्मान प्रदान गरिने
काठमाडौँ, जेठ १० गते । नेपाल स्रष्टा समाजले वि सं २०७५ को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान श्री कुन्ता शर्मालाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान डा. श्री मात्रिका तिम्सिनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
“योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान” नेपाली साहित्यमा विशिष्ट योगदान दिएका, सामाजिक रूपान्तरणमा योगदान गर्ने तथा सामाजिक प्रतिष्ठाका हिसाबले समेत नेपाली समाजमा परिचित राष्ट्रियस्तरका नारी स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ । सो सम्मान एक सम्मानपत्र र राशि रू. २५,१११ सहित समर्पण गरिन्छ । विसं २०६५ मा स्थापित यस राष्ट्रिय सम्मानबाट २०७५ सालसम्ममा १० जना विशिष्ट नारी स्रष्टाहरू सम्मानित भई सकेका छन् ।
यसै गरी “योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान” योगमायाका बारेमा समेत अध्ययन तथा अनुसन्धान गरेको या उनका आदर्शलाई पछ्याउँदै सामाजिक रूपान्तरणका निम्ति विभिन्न माध्यमबाट अभियन्ता भई काम गरेको व्यक्तिलाई प्रदान गरिन्छ । यो सम्मान पनि सम्मानपत्र र राशि रू. २५,१११ सहित समर्पण गरिन्छ । यो सम्मान गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको हो ।
वरिष्ठ साहित्यकार श्री रमा शर्माका संयोजकत्वमा वरिष्ठ साहित्यकार श्री मन्जु तिवारी ’काँचुली’, गोरखापत्रका सम्पादक श्री श्रीओम श्रेष्ठ रोदन र सम्मानका संस्थापकहरू श्री पवन आलोक तथा श्री राजेश न्यौपाने सम्मिलित एक सिफारिस समितिले उक्त नामहरू सिफारिस गर्ने निर्णय लिएको थियो । विसं २०७५ का लागि यी दुई सम्मान आगामी २०७६ साल आषाढ २७ गते शुक्रवार, हरिशयनी एकादशीका दिनमा प्रदान गरिने छ ।