एनआरएनमा जानुमा मेरो कुनै “लुकेको स्वार्थ” छैन: सन्तोष बिस्ट, उम्मेदवार सह-कोशाध्यक्ष
एनआरएन अमेरिकाको चुनाव आउन केहि दिन मात्र बाँकी छ । मैदानमा धेरै खेलाडीहरु छन् । सबैले आफ्नै एजेन्डा र उद्देस्य लिएर आएका छन् । यो अबसरमा मलाई पनि एनआरएन अमेरिकामा गएर केहि गरूँ जस्तो लाग्यो । धेरै साथीभाईहरुको सुभेच्छा, सुझाव र मेरो अनुभवको आधारमा सह कोशाध्यक्ष ( जोइण्ट ट्रेजरर) पदमा मैले उम्मेद्वारी दिएको छु ।
मेरो पृष्ठभूमिको कुरा गर्दा नेपालमा नेपाल बिद्यार्थी संघको राजनीति शुरु गरे देखि नै मैले सामाजिक काममा सक्रिय छु । नेपालमा भएका बिभिन्न आन्दोलनहरुमा सक्रिय सहभागी भएको छु । तर जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो आस्थाको बिरुद्ध र व्यक्तिगत स्वार्थको लागि मैले आफ्नो इमानमा कहिल्यै सम्झौता गरिन । बिभिन्न खालका जाली प्रवृति बिरुद्ध मैले आफ्नो आवाज उठाईरहें ।
मेरो त्यो यात्रा प्रबासमा पनि जारी रह्यो । समाजमा रहेका गलत प्रवृति र पात्रहरुको बिरोध गर्न मैले कहिल्यै डर मानिन । सक्रिय, सम्बृद्ध र अनुशासित समाज निर्माणको लागि व्यक्तिगत र संस्थागत रुपमा मैले पहल गरिरहें । नेपाली समाज टेक्सासमा रहेर काम गर्दा डालसको नेपाली समाज राम्रोसंग बुझ्ने र हामी नेपालीहरुले प्रबासमा व्यहोर्नु पर्ने समस्याहरुबारे झन् गहिराइमा पुगेर अनुभूत गर्ने अवसर पाएँ । प्रबासमा पनि अत्यन्त व्यक्तिगत र तुच्छ स्वार्थको लागि समाज विभाजित गर्न खोज्ने प्रवृतिसंग मैले पटक पटक लडीरहें ।
एक सामान्य नेपालीको रुपमा प्रबासमा मेरा आफ्नै समस्या र बाध्यता एबम सिमाहरु छन् । पारिबारिक समस्याको घेरा तोडेर समाजसेवामा निस्कन त्यति सजिलो पनि छैन । तर मैले मेरो आफ्नो परिवारको घेरामा मात्र रमाएर बस्न चाहन्न । मेरो बुद्धि, बिबेक, क्षमता र बिचारहरु प्रबासी नेपाली समाजको बृहत्तर हितमा लगाउन चाहन्छु । एनआरएन अमेरिका लाइ धनी व्यक्तिहरुको क्लब होइन सबै नेपालीहरुको साझा चौतारी बनाउन मेरो उम्मेद्वारी हो । मेरो पदको सिमा र मर्यादा भित्र रहेर अहिले एनआरएन अमेरिकाले भोगिरहेका चुनौतिहरुको सामना गर्न मेरो इमान्दार र सक्रिय पहल रहनेछ ।
सह- कोशाध्यक्षको रुपमा एनआरएनको कोषको सहि प्रयोग सहि ठाउँमा र सहि तरिकाले गराउने मेरो प्रयास रहनेछ । अनाबस्यक दवाव र प्रभावका आधारमा एनआरएनको कोषको प्रयोग वा दुरुपयोग गर्न नदिन मैले आफ्नो भूमिका निर्वाह गर्नेछु । आर्थिक पारदर्शिताको लागि केकस्तो नियम, नियमावली वा योजना चाहिन्छ, त्यसको निर्माण र पालना गर्दै एनआरएन अमेरिकालाई पारदर्शी संस्थाको रुपमा संस्थागत विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । प्राय नेपाली संघ संस्थाहरुमा आर्थिक अपारदर्शिताको कारण जनमानसमा शंकाको बाताबरण भएकोले मेरो कार्यकालमा आर्थिक पारदर्शिता कडाइपुर्बक पालन गर्दै आबस्यक अन्य प्रणाली निर्माणमा जोड दिनेछु ।
अन्त्यमा मेरो एनआरएन यात्रामा कुनै अर्को “लुकेको इच्छा” छैन । म त्यहाँ कसैको स्वार्थ पूर्तिको लागि वा कसैलाई बदला लिन जान लागेको होइन । कोशाध्यक्षमा उठेर “ठुलो नेता” हुने मेरो चाहना होइन । नेपालमा व्यक्तिगत लगानी गर्ने बाताबरण तयार गर्नु मेरो उम्मेद्वारीको लक्ष होइन । कतै ठेक्का पट्टा वा लगानीमा पहुँच पुर्याउन मैले उम्मेदवार भएको होइन । एनआरएन अमेरिकालाई एक सामान्य नेपालीहरुको संस्थाको रुपमा विकास गर्न केहि टेवा पुर्याउने मेरो उद्देस्य हो ।
एनआरएनलाइ मुद्धाहरुको बोझबाट बाहिर निकाल्न पनि मेरो पहल रहनेछ । संस्थाको स्वार्थ भन्दा व्यक्तिगत तुस्टी पुरा गर्न गरिने कुनै क्रियाकलापमा मेरो सहभागिता र समर्थन रहने छैन । गुटउपगुटहरुको चंगुलमा फसेको एनआरएनलाइ मैले मेरो भूमिकाले दिएको परिधिमा रहेर बाहिर निकालेर एक गर्ब गर्न लायक संस्थाको रुपमा विकास गर्न भरमग्दुर प्रयास गर्ने बाचा गर्दछु । मेरो यो अभियानलाई अमेरिकाबासी नेपालीहरुले साथ् दिनुहुनेछ भन्ने मेरो आशा छ । अमुल्य मत दिएर मलाई बिजयी गराउनु भयो भने मैले तपाईंहरुले दिएको विश्वास कायम गर्ने बाचा पनि गर्दछु ।
(सह-कोशाध्यक्षका उम्मेदवार सन्तोष बिस्टसंगको कुराकानीमा आधारित रहेर लेखनाथ गौतम द्वारा तयार पारिएको)