केलर स्कुलमा नेपालीहरुद्वारा नेपाली संस्कृति प्रदर्शन
डालस फोर्ट वर्थ, अमेरिका । गत महिना फेब्रुअरी २३ गतेका दिन केलर स्कुल डिस्ट्रिक्त अन्तर्गत पर्ने सनसेट भ्याली स्कुलमा नेपालीहरुले आफ्नो नेपाली पहिचान प्रस्तुत गरेका छन् । केलर स्कुल डिस्ट्रिक्टको अनुरोधमा नेपाली खाना, पहिरन, भेषभुषा एबम नेपालको परिचय झल्काउने बस्तुहरु उक्त स्कुलमा अध्यन गर्ने बालबालिका र उनका अभिभावकहरुले मिलेर सबै सामु प्रस्तुत गरेका थिए ।
आफ्नो देशको परिचय र पहिचान झल्काउने सामग्री प्रस्तुत गर्न केलर स्कुल डिस्ट्रिक्टले नेपाली भाषामै अभिभावकहरुलाई पत्राचार गरेको थियो । स्कुलबाट आएको उक्त नेपाली भाषाको पत्रले उनीहरु उत्साहित बनेका थिए । बास्वुड क्षेत्र भनेर चिनिने उक्त क्षेत्रमा करिव १ सय परिवार नेपालीहरु रहेको अनुमान छ । स्कुलमा यसरी सबैको सामु आफ्नो पहिचानका बस्तुहरु प्रस्तुत गर्न पाउँदा उपस्थित मध्यका छबि हुमागाईं, रन कार्की, बाबु राम सुबेदी लगायतका व्यक्तिहरु उत्साहित भएका थिए ।
टेक्सास राज्यको डालस फोर्ट वोर्थ नेपालीहरुको बढ्दो बस्ति रहेको क्षेत्र मानिन्छ । बढ्दो जनसंख्या संगै स्थानीय स्कुल, ब्यबसाय एबम समुदायमा समेत नेपालीहरुको उपस्थिति र प्रभाव बढ्दै गएको प्रमाणको रुपमा यो घटनालाई पनि लिन सकिन्छ । स्थानिय गतिविधिहरुमा जति बढी संलग्न भयो त्यति नै नेपालीहरुको अस्तित्व र परिचय विस्तार गर्न सकिने भए पनि भाषाको कारण धेरै नेपालीहरु यस्ता गतिबिधिमा संलग्न हुन हिच्किचाउने गर्दछन । तर यस्ता गतिविधिले उनीहरुको हौसला बढ्ने हुनाले सबैले यस्ता कामको थालनी गर्नु उचित देखिन्छ ।