सकारात्मक सोंचौं, स्वस्थ बनौं
हामी बिहान उठे देखि सुत्ने बेलासम्म समाचार र बिचारहरुको नियमित सम्पर्कमा रहन्छौं । त्यस मध्ये अधिकांश नकारात्मक हुन्छन । केहि सकारात्मक भए पनि धेरै मानिसका आँखा त्यता जाँदैनन । नकारात्मक र नराम्रा कुराहरुले नै हामी धेरैको ध्यान आकर्षित गर्छ । त्यहि मानवीय स्वभावको फलस्वरूप नराम्रो हल्ला छिटो फैलिन्छ । राम्रो कुरा सितिमिति सानो घेरा भन्दा बाहिर जाँदैन ।
संसारमा बढ्दो संचारको प्रभावले नकारात्मक कुराहरुको प्रचार पनि तिब्र गतिमा भएको छ । यसले कतिपय व्यक्तिहरुको सामाजिक जीवन अनाहकमा ध्वस्त पनि भएको पाइन्छ भने नियमित नकारात्मक समाचार र बिचारहरुको उपभोगले अधिकांश मानिसहरुमा बिभिन्न खालका समस्याहरु समेत देखिने गरेका छन् । यसको प्रतिवादमा सकारात्मक सोंच जरुरी छ । हाम्रो शरीरमा रहेको प्रणालीले सकारात्मक कुराहरु अपेक्षा गरेको हुन्छ । सकारात्मक कुराहरुले मान्छेको जीवन, सम्बन्ध र स्वास्थ्यमा ठुलो प्रभाव पार्छ । सकारात्मक सोंच र क्रियाकलापका केहि फाइदाहरु :
सकारात्मक सोंचले प्रतिकुल परिस्थितिमा संयम बनाउँछ । मान्छेले सोंचे जस्तो प्राय हुँदैन । केहि न केहि लफडा झेल्नु परेकै हुन्छ । एउटा समस्या पार लाग्न नपाउंदै अर्को आइहाल्छ । जति सुकै खुशी र सुखी देखिने मान्छेहरुले पनि केहि न केहि समस्या व्यहोरेकै हुन्छन । तर जसले कठिन परिस्थितिमा पनि सकारात्मक सोंच राख्न सक्छ उसले त्यस्ता समस्याबाट त पार पाइनै हाल्छ, उसले त्यसबाट हुने मानसिक तनावबाट पनि मुक्ति पाउँछ । सकारात्मक सोंचले मान्छेलाई समस्या समाधान तर्फ डोर्याउँछ । छोटो समयमा नै अप्ठेरा स्थितिलाइ पार लगाउन सकारात्मक सोंच फलदायी हुन्छ ।
अर्को कुरा सोंचले नै मानिसको भबिस्य निर्माण गर्छ । आफु भित्रको अबचेतन मनलाई हाम्रो सोंचाईले नै खुराक दिइरहेको हुन्छ । अबचेतन मनमा गहिरो संग गडेको कुरा जीवनमा पुरा हुन्छ । त्यसैले जति सकारात्मक कुरा सोंच्यो, त्यसै गरी हाम्रो भविस्य निर्धारण हुन्छ । आफु र जगतको भलाईको लागि सोंचिरह्यो भने एकदिन भलाई भएरै छोड्छ । अबचेतन मनलाई राम्रो भबिस्यको मार्गचित्र तयार गर्ने स्थिति बनाउन हाम्रो सोंच सकारात्मक हुनु पर्छ ।
सकारात्मक सोंचले पारिवारिक सम्बन्ध प्रगाढ हुन्छ । प्रगाढ पारिबारिक सम्बन्ध मानिसको समग्र सफलता र स्वास्थ्यसंग गाँसिएको हुन्छ । सकारात्मक सोंचले शतप्रतिशत सफलता नपाइए पनि सम्भावना भने अधिक हुन्छ । लामो समयसम्म गरिएका अनुसन्धानहरुले सकारात्मक सोंचले मानिसको जीवन, सम्बन्ध र स्वास्थ्यमा निकै ठुलो महत्व राख्छ ।
त्यसैले हामीले सकेसम्म सकारात्मक समाचार र विचार हेर्ने र पढ्ने गरौँ । नकारात्मक कुराहरुलाई पनि सकारात्मक रुपमा ग्रहण गरौँ । यसले हाम्रो जीवनमा ठुलो सकारात्मक असर गर्छ । विचार (लेखनाथ गौतम)