नेपाल जर्नीको तेश्रो “सांगीतिक रात्रिभोज” डिसेम्बेर ८ मा हुँदै
डालस, टेक्सास । नेपालमा केहि सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकामा स्थापना भएको नेपाल जर्नीले डिसेम्बर ८ मा बार्षिक “खानको साथमा मनोरंजन साँझ” आयोजना गरेको छ । डालस नजिकै रहेको सुन्दर सहर ग्रेपभाइन स्थित मेरिअट होटेलमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ ।
नेपाल जर्नी २०१५ मा स्थापना भएको एक सामाजिक संस्था हो । यसले बिशेष गरी शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको छ । गत बर्ष मात्र हेटौडामा अपाङ्ग मैत्री पुस्तकालय निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरिसकेको यो संस्थाले अन्य ठाउँहरुमा समेत पुस्तकालय स्थापना वा स्थापनामा सहयोग गरिसकेको छ । त्यस्ता प्रयोजनको लागि केहि रकम संकलन गर्ने उद्देश्यले बार्षिक रुपमा “सांगीतिक भोज” आयोजना गर्ने गरेको छ । यसबर्ष पनि चितवन जिल्लामा एक नमुना पुस्तकालय निर्माणको लागि यो कार्यक्रम आयोजना गर्न लागिएको उपाध्यक्ष बद्री श्रेष्ठले बताउनु भएको छ ।
“यो अत्यन्त महत्वाकांक्षी योजना हो । पुस्तकालय देखि ध्यानकेन्द्र र अन्य थुप्रै पूर्वाधारहरु समेत बनाउने योजना हाम्रो छ । भरतपुर नगरपालिकाको समेत प्रत्यक्ष सहयोगमा हुन लागेको यो परियोजना नेपाल जर्नी एक्लैले सम्पन्न गर्न कठिन भएकोले हामी अन्य संस्थाहरुसंग पनि मिलेर काम गर्न चाहन्छौं । अमेरिकामा रहेका अन्य संस्थाहरुलाई यो परियोजनाको अंगको रुपमा समाबेश गराउन हामी चाहन्छौं । यसको लागि समुदाय र सामुदायिक संघ संस्थाहरुको सहयोग एबम संलग्नताको लागि अपिल गर्छौं ।” उपाध्यक्ष बद्री श्रेष्ठले चितवनको भरतपुरमा निर्माण गर्ने भनिएको नमुना पुस्तकालय निर्माणको लागि सबै संग मिलेर काम गर्न अपिल गर्दै भन्नु भएको छ ।
नेपाल जर्नीले छोटो समयको अन्तरालमा पनि धेरै महत्वपूर्ण काम गरेको छ । यसको आगामी परियोजना झनै बृहद भएकोले यसमा ठुलै लगानी हुने अनुमान गरिएको छ । उक्त योजनाको लागि आबस्यक रकम उठाउने अभिप्रायले गर्न लागिएको यो “सांगीतिक भोज साँझ” मा डालसको नेपाली समुदायको राम्रो समर्थन रहेको संस्थाले जनाएको छ भने उपस्थित भएर वा कार्यक्रममा सके जति रकमको प्रायोजन गरेर यो असल कार्यमा एउटा इट्टा थप्न सबैमा अनुरोध समेत गरिएको छ ।