नेपाली भाषामै सवारी चालक प्रमाणपत्रको परिक्षाको लागि एनआरएनले ज्ञापन पत्र बुझायो
अस्टिन, टेक्सास । अमेरिकाको टेक्सासमा नेपालीभाषीहरुको संख्या बढिरहेको छ । सरकारी कार्यालयहरुमा प्रयोग हुने अंग्रेजी भाषाको कारण कतिपय नेपालीहरुले असजिलो समेत महसुस गर्ने गरेका छन् । सोहि कुरालाई मध्यनजर राख्दै गैर आबसिय नेपाली संघ टेक्सासले नेपाली भाषामा सवारी चालक प्रमाणपत्रको परिक्षा दिन सकिने व्यवस्था गर्न अनुरोध गर्दै टेक्सास राज्यका सचिवालय प्रमुखलाई भेट गरेर एक ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन एनआरएन लगायत नेपाली समाज टेक्सास, बृहद अस्टिन नेपाली समाज, ह्युस्टन नेपाली समाज लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
एनआरएन टेक्सास च्याप्टर भानु खरेलका अनुसार भेटमा टेक्सास राज्यका सचिबालय प्रमुख रोनाल्डो पाब्लोसले नेपाली प्रतिनिधिहरुका माग प्रति अत्यन्त सकारात्मक हुँदै आबस्यक समन्वयका लागि टोली गठन गरेर सहयोग गर्न अनुरोध गर्नु भएको थियो । उक्त अबसरमा पाब्लोसले राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्न आफुहरु तयार रहेको स्पस्ट पार्नु भएको थियो । पाब्लोसको अनुरोध अनुसार अब छिट्टै नेपाली भाषामा सवारी चालक प्रमाण पत्रको लिखित परिक्षा दिने व्यवस्था गर्न आबस्यक भाषिक सहयोगको लागि एक टोली गठन गरिने च्याप्टर अध्यक्ष भानु खरेलले जानकारी गराउनु भएको छ ।
अमेरिकामा नेपालीहरुको संख्या बढ्दै जाँदा अन्य कतिपय राज्यहरुमा समेत यस्तो प्रयास हुँदै आएको छ । यसको लागि नेपाली समाज टेक्सासले समेत लामो समय देखि पहल गर्दै आएको थियो । सोहि लामो समयको प्रतिफल स्वरुप टेक्सास राज्य सरकारको तर्फबाट नेपालीभाषीहरुलाई भेटको लागि अवसर उपलब्ध गराइएको थियो । सोहि प्रयोजनको लागि डालसबाट करिब २०० माइलको यात्रा गरेर एनआरएन टेक्सास च्याप्टरका पदाधिकारीहरु, नेपाली समाज टेक्सासका पदाधिकारीहरु, एनआरएन अमेरिकाका सल्लाहकार अर्जुन बन्जाडे र प्रबक्ता बिनोद तिवारी लगायत ह्युस्टन नेपाली समाज र बृहद अस्टिन नेपाली समाजका प्रतिनिधिहरु उत्सुकतापुर्बक सहभागिता जनाउनु भएको थियो ।
प्रबासमा पनि नेपाली भाषा प्रबर्धन गर्नु यसको मुख्य उद्देश्य रहेको छ । “सचिबालय प्रमुख पाब्लोसको प्रारम्भिक उत्तरले हामी उत्साहित छौं ” च्याप्टर अध्यक्ष भानु खरेलले खुशी प्रकट गर्दै भने । यदि हामीले प्राथमिकतामा राखेर उनीहरुसंग सम्बाद जारी राख्यौं भने डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीमा लाइसेन्स लिन जाँदा नेपालीमै परिक्षा दिन सकिने अवस्था टाढा नभएको खरेलको तर्क छ । अधिकांश नेपालीहरु भाषाको ठुलो मारमा त छैनन् तर पनि नेपाली भाषामा यस्ता परिक्षाहरु दिन पाउँदा उनीहरुले अरु सजिलो महसुस गर्ने र नेपाली भाषाको पनि जगेर्ना एबम प्रबर्धन हुने कुरामा ढुक्क हुन सकिन्छ ।