बन्लान त ब्रेट क्याभना सर्बोच्च अदालतको न्यायधिष ?
वासिंटन डिसी । गत जुलाईमा सर्बोच्च अदालतका न्यायाधिष एन्थोनी केनेडीले अबकास लिए पछि ब्रेट क्याभना नियुक्त गरिए । डोनाल्ड ट्रंपको कार्यकालको पहिलो दुइ बर्ष भित्रै भएको यो दोश्रो सर्बोच्च अदालतको न्यायाधिष नियुक्ति थियो । रिपब्लिकन पार्टीको उच्च तहमा रहेर कानुनी क्षेत्रमा सक्रिय क्याभनाको नियुक्तिलाई लिएर डेमोक्र्याट र प्रगतिशील विचारका पक्षधरहरु शुरु देखि नै ससंकित थिए । उनीमाथि न्यायालयमा निर्णायक रहंदा गरेका निर्णयहरु र उनले लेखहरुमा व्यक्त गरेका विचारहरुका कारण बिभिन्न प्रश्नहरु उठिरहेका छन् ।
सर्बोच्च अदालतका न्यायाधिषहरु आजीवन मनोनित हुन्छन । मृत्यु भएमा, अबकास लिएमा, राजिनामा दिएमा वा संसदले महाअभियोग लगाएको अबस्थामा बाहेक उनीहरुको पद स्थायी हुन्छ । त्यसकारणले गर्दा उनीहरुको नियुक्तिमा पनि त्यतिनै चलखेल हुने गर्छ । कुनै पनि संबैधानिक प्रश्नहरुको अन्तिम सुनुवाई हुने ठाउँ सर्बोच्च अदालत भएकोले यसमा नियुक्त हुने व्यक्तिहरु मा थि गहिराइमा गएर छानबिन गरिन्छ । रास्ट्रपतिको आफ्नो सामाजिक मान्यतासंग मेल खाने गरी अदालतमा मुद्धाहरुको ब्याख्या गर्ने व्यक्ति उनीहरुले खोज्छन भने उक्त नियुक्तिलाई आधिकारिकता दिने वा नदिने अधिकार रहेको सिनेटमा प्रस्तावित न्यायाधिशहरुको इतिवृतान्त खोज्ने काम गरिन्छ । यस्तो अबस्थामा रास्ट्रपतिको पार्टीका सिनेटरहरु जसरी पनि प्रस्तावित न्यायाधिषको नियुक्ति सुनिस्चित गर्न चाहन्छन भने प्रतिपक्षि पार्टीले साना साना कुरामा निहु खोजेर नियुक्ति असफल बनाउने प्रयास समेत गर्छन ।
त्यसै पनि पार्टीगत कारणले नियुक्तिमा अप्ठेरो हुने गर्दछ । सिनेटमा रिपब्लिकनको ५१ र डेमोक्र्याटको ४९ सीट छ । एक भोट तलमाथि पर्यो भने पनि उक्त नियुक्ति बदर हुन्छ । यस्तोमा प्रस्तावित न्यायाधिष ब्रेट क्याभना ३ वटा यौन दुराचारका घटनामा आरोपित भएका छन् । क्रिस्टिन ब्ल्यासी फोर्ड, जुली स्वेनिक, डेब्रा रामिरेज हाइ स्कुलको समयमा करिव ३५ बर्ष अघि क्याभनाले उनीहरुलाई यौन दुर्ब्यबहार गरेको आरोप लगाएका छन् । यसले क्याभनाको सर्बोच्च अदालतको न्यायाधिष बन्ने सपनामा प्रश्न चिन्ह लगाइदिएको छ । तर रिपब्लिकनहरु भने यी सबै आरोप असत्य भएको विश्वास गर्दै सेप्टेम्बर २७ गते सिनेटमा क्याभनालाइ निश्चित गर्ने मतदान गर्ने घोषणा गरिसकेका छन् ।
अमेरिकामा सक्रिय रहेका यी दुइ पार्टीहरु एकअर्का प्रति निकै आक्रामक हुन्छन । पार्टी भित्रै पनि छुट्टै समूहहरु हुन्छन जसलाई “ककस” भनिछ । ती “ककस” हरुका आफ्नै मुद्धाहरु हुन्छन र उनीहरु आफ्नो पार्टीलाइ आफ्नो मुद्धा सम्बोधन गर्न दवाव दिन्छन । रिपब्लिकन पार्टीका दक्षिणपन्थी ककस र डेमोक्र्याटका प्रगतिशील ककसका सदस्यहरुको दुरी अत्यन्त टाढा हुन्छ । उनीहरु कुनै मुल्यमा पनि एक ठाउँमा आउंदैनन । जीवनभर कायम हुने यस्ता पदहरुमा त उनीहरु डेग समेत चल्दैनन् । सामाजिक मुद्धाहरुमा सर्बोच्च अदालतको ठुलो भूमिका भएकोले रिपब्लिकनहरु यति नै बेला क्याभनालाइ न्यायाधिष बनाइहाल्न चाहन्छन । आगामी नोभेम्बर ६ मा हुने मध्यावधि निर्बाचनमा डेमोक्र्याटहरुले बढी सिटमा जित्ने अनुमान गरेका रिपब्लिकनहरु यो मौका कुनै पनि हालतमा गुमाउन चाहंदैनन । उनीहरुलाई डर के छ भने यदि डेमोक्र्याटहरुले चुनाव जिते भने ट्रंपले प्रस्तावित गरेका कुनै पनि व्यक्तिलाई उनीहरुले स्वीकार गर्ने छैनन् । त्यसैले यस्ता संगीन आरोपहरु लाग्दा पनि त्यसको बास्तविकता नबुझी सर्बोच्च अदालतको न्यायाधिष जस्तो अत्यन्त सम्मानित र महत्वपूर्ण पदमा नियुक्त हुन लागेको व्यक्तिको बारेमा राम्रोसंग छानबिन गर्न तयार छैनन ।
पार्टीहरुको सदस्यता लिएका अधिकांश मान्छेहरुलाई यस्ता काण्डले खासै फरक पार्दैन । उनीहरु पार्टी लाइन अनुसार नै भोट हाल्छन । सत्य तथ्य भन्ने कुरा पनि पार्टी अनुसार फरक हुन्छ । वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंप पनि दर्जनौं महिलाहरुद्वारा यौन दुराचार गरेको आरोप लागेका व्यक्ति हुन् । तर त्यति ठुला काण्डहरुका बाबजुद ट्रंप रास्ट्रपति बने । रिपब्लिकन पार्टीका कार्यकर्ताहरुले पार्टी लाइन बिपरित भोट हाल्दै हालेनन । तर यसपाली स्वतन्त्र मतदाताहरु ट्रंपसंग त्यति खुसि छैनन् । फलस्वरूप मध्यावधि निर्बाचनमा रिपब्लिकनले हार्ने र सर्बोच्च अदालतको न्यायाधिषको नियुक्तिमा समस्या आउने आंकलन अनुसार रिपब्लिकनहरुले क्याभनाको नियुक्तिलाई धेरै नै महत्वपूर्ण रुपमा लिएका छन् । धेरै मुद्धाहरुमा महिलाहरुलाई अपमान गरिएको ठानेका शिक्षित महिलाहरु यो घटनाले थप चिढिने र रिपब्लिकन पार्टीबाट टाढा जाने समेत खतरा झन् बढेको छ ।
स्मरणीय रहोस, क्रिस्टिन फोर्ड र क्याभनासंग सिनेटरहरुले सेप्तेम्बेर २७ मा सवालजवाफ गर्दैछन् ।