अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर
रामेछाप, असोज ९ गते । रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका स्थानीय सरकारी निकायसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले शिविर सञ्चालन गरेको हो ।
भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण गतिविधिअन्तर्गत् अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री पहिचानका लागि शिविरको आयोजना गरिएको हो ।
शिविरमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटीलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापीसम्बन्धित चिकित्सकहरूले स्वास्थ्य जाँच गरी आवश्यकताको पहिचान गरिएको थियो ।
हिजो रामपुरमा सञ्चालित स्वास्थ्य शिविरमा ४६ जना र आज मन्थलीमा सञ्चालित शिविरमा ३७ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरिएको हो ।
सम्बन्धित क्षेत्रका चिकित्सकहरूको सिफारिसका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री वितरण गर्ने रेडक्रसको योजना रहेको छ ।