कालो झण्डाको पृष्ठभूमिमा दिनेश शर्माको परिचय
बाबुराम भट्टराई केहि दिन अघि डालस आउनु भयो । एक राजनीतिक इतिहास र बिबादास्पद इतिहासका कारण डालसमा उहाँले बिरोधको पनि सामना गर्नु पर्यो । कतिपयले बिरोधको शैलीको बिरोध गरे । कतिपयले बिरोधको बिरोध गरे । यसलाई पनि हामी सामान्य रुपमा लिनु पर्छ किन भने बिरोधको पनि बिरोध गर्न पाउनु पर्छ ।
जसले जे भने पनि हामी बस्ने यहि समाजमा हो । नेपालबाट नेताहरु आउँछन् जान्छन । नेताहरु आउँदा हुने गतिबिधि र अभिव्यक्तिहरुमा यहाँ बस्नेहरु विभाजित हुनु हुँदैन । भोली मन्दिर जाँदा त्यहि अनुहार देख्नु पर्छ । पर्सि अर्को कार्यक्रममा जाँदा त्यहि व्यक्ति संग हात मिलाउनु पर्छ । आफ्ना मनका अभिव्यक्ति व्यक्त गरौँ, तर अलि शभ्य र सालिन भाषामा । हाम्रो झगडाको फाइदा उठाउँदै अँध्यारो कुनाबाट अन्यत्र कतै बस्ने एउटा विभाजनकारी असहिष्णु पात्रले हामीलाई आक्रमण नगरोस ।
बाबुरामको वर्तमान होइन लालध्वजको रुपमा गरेका गतिबिधि सम्झेर डालसमा पांच जनाले कालो झन्डा देखाए । कालो झन्डा देखाउने सम्मको गतिविधिमा धेरैको मतभिन्नता भए पनि उनलाई बिगतको इतिहास सम्झाउनु पर्छ भन्ने जमात भने जम्मा पांच जनाको छैन । पक्कै पनि यो कदम पनि एक राजनीतिक कदम थियो । जतिसुकै सेतो बस्त्र लगाएर हिंडे पनि बाबुराम राजनीतिक प्रश्नहरुबाट यो जुनीमा उम्किन सक्नुहुन्न । यो कुरा बाबुराम भट्टराईलाइ पनि थाहा छ ।
कालो झन्डा देखाउने मध्येका एक थिए, दिनेश शर्मा । डालसको नेपाली समाजले राम्रोसंग चिनेका छन् दिनेश शर्मालाइ । डालसमा हुने हरेक जसो कार्यक्रममा सक्रिय दिनेश शर्मा नेपाली समाज टेक्सासले गर्ने स्वास्थ्य शिविरको संयोजन गर्छन । उनी सिधा र स्पस्ट बोल्छन । जीएम फाइनान्सलमा कार्यरत शर्मा नेपाली कांग्रेसको प्रबासी संगठन नेपाली जनसम्पर्क समितिसंग आबद्ध छन् । केहि दिन अघि कालो झन्डा देखाएर बिरोध गरेको तस्विर, भिडियो र समाचार भाइरल बने पछि उनी कतिपयको तारो समेत बने । उनको रास्ट्रियताको बारेमा समेत प्रश्नहरु उठाइए । उनको बिगत धेरै थाहा भए पनि मैले सबै कुरा उनकै मुखबाट सुन्न चाहन्थें । उनीसंग कुरा गर्ने निधो गरें । कुराकानीको क्रममा कतिबेला आवेगमा त कतिबेला अत्यन्त शान्त तरिकाले उनी प्रस्तुत भए । उनले कुराकानीको क्रममा के भने उनकै शब्दमा :
अलि पहिलेको कुरा हो, त्यतिबेला नेपालबाट लाहुरे बन्न भारत जाने चलन थियो । अहिले जस्तो अमेरिका, युरोप, जापान, कोरिया र खाडी मुलुक जाने चलन थिएन । बुवा पनि आसम हुँदै जागिर खाने क्रममा बम्बैमा सरकारी जागिर गर्न शुरु गर्नु भयो । बुवाको जागिरको कारणले हामी सबै जना बम्बै बस्न थाल्यौं । म धरानमा जन्मे पनि भारतमा हुर्कें, बढें र पढें । नेपाल आउने जाने भैरहन्थ्यो । पैसा कमाएर पठाएर हामीले नेपालमै जग्गा किन्थ्यौं । बम्बैमा रहंदा बस्दा हामीलाई सबैले “नेपाली बाबु” भन्थे । कतिपयले “बहादुर” समेत भन्थे । त्यो शब्द त्यति मन त पर्दैनथ्यो तर हामीलाई लाग्थ्यो, त्यो हाम्रो भारतमा बस्दाको नेपाली हुनुको परिचय थियो ।
स्कुल कलेजमा अंग्रेजी र मराठी भाषा बोलिन्थ्यो । तर हाम्रो घरमा ती दुवै भाषा बर्जित थिए । बुवाले घरमा नेपाली नै बोल्नु पर्छ भनेर उर्दी जारी गर्नु भएको थियो । त्यसैले घरमा हामी सबै नेपाली भाषा बोल्थ्यों । हाम्रो घरका भित्तामा नेपालका झन्डा, नेपालका नक्सा हुन्थे । घरमा आउँदा नेपाल कै कुरा हुन्थे ।
त्यति बेला नेपालमा पंचायत शासन थियो । नेपालका राजनीतिक दलहरु प्रतिबन्धित थिए । पंचायत बिरोधीहरुलाई जेल जानु पर्थ्यो । त्यसैले धेरै नेताहरु भारतमा बसेर संगठन गर्न थाले । हाम्रो बुवा पनि राजनीतिमा रुची राख्ने भएकोले नेताहरुको आवतजावत हुन्थ्यो । त्यहि क्रममा नेपाली कांग्रेसको प्रबासी संगठन नेपाली जनसम्पर्क समिति हाम्रै घरमा स्थापना भयो । त्यहि जनसम्पर्क समिति नै अहिले संसारका धेरै देशहरुमा खोलिएको छ ।
बुवाले जागिरबाट रिटायर्ड हुने बेला भयो । त्यसपछि बुवा नेपाल फर्किनु भयो । हामी आफ्नै तरिकाले भविस्य निर्माणमा लाग्यौं । करिव १८ बर्ष अघि म अमेरिका आएँ । अमेरिका आएको १८ बर्ष पछि आज पनि मसंग नेपाली नागरिकता, नेपाली पासपोर्ट र अमेरिकन ग्रिनकार्ड छ । लामो समय अमेरिका बसे पनि मैले नेपाली नागरिकता त्यागेको छैन । अमेरिकी नागरिकता लिनु पर्छ भन्ने धेरै आफन्त र साथीहरुको दवाव छ । तर म ग्रिनकार्ड मै अहिले सम्म अमेरिकामा कार्यरत छु ।
भारत प्रबासमा रहंदा देखि अमेरिका सम्म पनि मेरा राजनीतिक गुरु सुशील कोइराला हुनुहुन्थ्यो । अमेरिका आउँदा कोइराला मेरो घरमा बस्ने गर्नु हुन्थ्यो । उहाँलाई मैले अङ्कल भन्ने गर्थें । २००६ मा आउँदा उहाँले सम्बोधनको क्रममा “तिमी त धेरै भयो अमेरिका आएको, अमेरिकी नागरिक पनि भैसक्यौ होला” भन्नु भएको थियो । त्यति बेला मैले उहाँलाई रोकिन तर सम्बोधन सके पछि ” अङ्कल मैले त अमेरिकाको नागरिकता लिएको छैन नि, नेपाली नागरिकता नै छ मसंग” भनेको थिएँ । उहाँले जवाफमा “तिमीहरु जस्तो शिक्षित र योग्य युवाहरुले बिदेशी नागरिकता लिनु हुन्न, देशमै फर्केर केहि गर्नु पर्छ । तिमीले पनि अमेरिकी नागरिकता नलिनु” भन्नु भएको थियो । त्यसपछि मैले ग्रिनकार्ड नविकरण गरिरहें, अमेरिकी नागरिकता लिइन ।
यतिबेला भने लाग्दैछ, परिस्थिति फेरिएको छ । मेरा राजनीतिक गुरु सुशील कोइराला पनि यो संसारमा हुनुहुन्न जसले मलाई अमेरिकी नागरिकता नलिनु भन्नु भएको थियो । अहिले नेपालबाट आउने हरेक नेताले भनेको सुन्छु, नेपाल आउनु पर्दैन पैसा पठाउनुस, लगानी गर्नुस । नेपालको बारेमा चासो नलिनुस, यता हामी नै स्याहार्छौँ । विदेश पलाएन भएका तिमीहरुले सक्छौ ताली देउ, पैसा देउ नत्र भने नेपालका नेतालाई गाली नगर । मेरा राजनीतिक गुरु सुशील कोइरालाको देहावसान संगै मेरो नेपाली नागरिकता बोकिरहने सपनाको पनि अबसान मैले टड्कारो देखेको छु । तर जुनसुकै देशको नागरिकता लिए पनि “यो मन त मेरो नेपाली” नै हो । नेपाललाइ मायाँ गर्ने, नेपाललाई मुटुमा सजाउने मेरो चाहनालाई भने मेरो भलो चाहनेहरु मात्र होइन मेरो बोली, प्रमाणपत्र र हेराइमा रास्ट्रियता खोज्नेहरुले समेत रोक्न सक्ने छैनन् । म नेपाल र नेपालीहरुको भलोमा मृत्युपर्यन्त लागिरहनेछु । प्रस्तुति: लेखनाथ गौतम
ल यो पनि हेर्नुस दिनेश शर्माले नेपाल आमाको बारेमा रचेर बाचन गरेको कविता :