डालसबासीहरुको नेपाल जर्नीलाई ठुलो सहयोग छ

समाजसेवा राजनीतिक खेल होइन । पैसा कमाएर समाजमा ठुलो मान्छे बन्न र राजनीति गर्न समाजसेवाको कुरा गर्नेहरु सच्चा समाजसेवी होइनन । तर आफ्नो छाक काटेर, आफ्नो परिवारको समय चोरेर थोरै भए पनि समाजको लागि केहि गर्नु ठुलो कुरा हो । त्यस्ता व्यक्तिहरु सहि अर्थमा समाजसेवी हुन् । त्यसमाथि बिदेसको व्यस्त र कस्टपूर्ण जिन्दगीका महत्वपूर्ण क्षणहरु आफ्नो मातृभूमिको लागि लगाउनु धेरै ठुलो कुरा हो ।
२०१५ को डिसेम्बरमा “नेपाल जर्नी” नामक संस्था खोलेर समाजसेवामा होमिएकी एक पात्र हुन् मौसमी श्रेष्ठ । आफ्नो काममा भन्दा नेपाल जर्नीको काममा बढी सक्रिय देखिने मौसमी सहयोग गर्न “दवाबमुलक आग्रह” गर्ने गरेको भनेर समेत आलोचित हुने गरेकी छिन । आलोचना गर्नेहरु उनलाई सहयोग नगर्नेहरुलाई “घुर्की” देखाउने गरेको समेत गुनासो गर्छन ।

तर उनलाई नजिकबाट बुझ्नेहरू यी सबै स्वाभाविक मान्छन । यति नगरेको भए छोटो समयमा नेपाल जर्नीले यति धेरै काम गर्न सक्ने थिएन । त्यहि उनको सक्रियताकै कारण ५ बर्ष नबित्दै नेपाल जर्नीले नेपालमा ५ वटा पुस्तकालय निर्माणमा पूर्ण र आंसिक सहयोग गर्न सफल भएको हो । त्यसबाहेक दर्जनौ अन्य सहयोगी कामहरुमा नेपाल जर्नीले सहयोग गरिसकेको छ । यहि सेरोफेरो र आगामी डिसेम्बर ८ मा हुन लागेको फन्ड रेजिंग डिनरको वरिपरि रहेर मैले नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठसंग कुरा गरेको थिएँ । त्यसकै सम्पूर्ण पाठ :

के गर्दै हुनुहुन्छ आजकल ?
दैनिक आफ्नो काम गर्दैछु । काम नगरी बिदेसमा सुख छैन । त्यो समयलाई ब्यबस्थित गरेर नेपाल जर्नीको काममा पनि लागेकी छु । समाजसेवाका ससाना काम गर्न उमेर, आम्दानी र समयले छेक्दैन भन्ने मेरो विश्वास छ । सोहि विश्वासका साथ आफ्नो सिमित साधन, समय र श्रोतहरुको बाबजुद मन मिल्ने साथीहरुसंग मिलेर यो संस्था खोलेका छौं । यसैलाई फ़लाएर फुलाएर नेपालका केहि भए पनि गरिव बालबालिकाहरुको मुहारमा उज्यालो ल्याउन काम गरिरहेका छौं । त्यस्तै उद्देस्यको लागि डिसेम्बर ८ मा एउटा फन्ड रेजिंग डिनर गर्दैछौं । त्यसैको तयारी गर्दैछौं ।
केको लागि गर्दै हुनुहुन्छ यो फन्ड रेजिंग डिनर ?
चितवन जिल्लामा एउटा सुबिधासम्पन्न र अपाङ्ग मैत्री पुस्तकालय र सामुदायिक भवन बनाउने हाम्रो योजना छ । त्यसको लागि भरतपुर महानगरपालिकाले जग्गा दिने सहमति पनि भैसकेको छ । उक्त परियोजनाको लागि ५ करोड नेपाली रुपैयासम्म लाग्ने प्रारम्भिक अनुमान छ । हामीले मात्र यति ठुलो रकम उठाउन गाह्रो हुने भएकोले अन्य सहयोगी संस्थाहरुको खोजि समेत जारी छ । तर हाम्रो तर्फबाट जति सकिन्छ गर्ने र यसको नेतृत्व हामीले नै गर्ने योजना छ । सोहि प्रयोजनको लागि अर्थ संकलन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।
तयारीको लागि के गर्दै हुनुहुन्छ ?
कार्यक्रमको घोषणा, मिति र स्थलको घोषणा संगै एक किसिमको माहोल सिर्जना भैसकेको छ । टिकेट प्रिन्ट भएर बिक्रीको लागि गैसकेको छ । प्रयोजन गर्ने व्यक्ति र कम्पनीहरुको लागि प्याकेज वितरण शुरु गरिएको छ । डालसमा रहेको टीमले आफ्नो तर्फबाट सक्रियतापुर्बक काम गरिराखेको छ । प्रायोजक खोज्ने, टिकेट बिक्रि गर्ने र अन्य सहयोगको लागि हामी सक्रिय छौं । नतिजा सकारात्मक दिशामा अघि बढेको छ ।

बिदेसमा बिभिन्न नाममा पैसा उठाउने तर त्यसको हिसाब किताब कतै नदेखिन रोग देखिन्छ । त्यसले गर्दा चन्दा दिन पनि गाह्रो मान्न थालेका छन् । तिनीहरुलाई के भन्नुहुन्छ ?

हाम्रो उद्देस्य यो संस्था खोलेर ठुलो हुने, पैसा कमाउने होइन । पैसा कमाउने नै हो भने यसमा लगाएको समय काम गर्ने हो भने धेरै कमाउन सकिन्छ । हामीले यहाँ उठाएको रकम भन्दा धेरै नेपालमा लगानी गरेका छौं । यसको हिसाबकिताब हाम्रो वेबसाइटमा पनि उपलब्ध छ भने कसैले व्यक्तिगत रुपमा अनुरोध गरेमा पनि उपलब्ध गराउन सकिन्छ । यहीं दर्ता गरिएको संस्था भएकोले यसको आम्दानी र खर्चको हिसाब किताब सरकारलाई पनि बुझाउनु पर्छ । त्यो भन्दा महत्वपुर्ण कुरा नियत हो । हामी खराब नियत लिएर समाजसेवामा लागेका होइनौ । नजिकबाट मृत्यु नियालिसकेपछी नमर्दै केहि गर्नु पर्दो रहेछ भन्ने सोंचेर यो काम गरेका हौँ । जहिले सम्म सक्छौं, गर्छौं । सकिन्छ दिन्छौं, लिने काम गर्दैनौ । त्यसमा चन्दादाता र सम्बन्धित सबैलाई ढुक्क हुन आग्रह गर्छौं ।
धेरै काम पनि गरिसक्नु भएको छ । संस्था पनि डालसमा बढी सक्रिय छ । डालसको नेपाली समुदायको कत्तिको सहयोग पाउनु भएको छ ?
डालसमा धेरै संस्थाहरु छन् । अधिकांश संस्थाहरु नेपालमै केहि गर्ने भनेर खोलिएका छन् । कतिपयले फाउन्डेसन खोलेर नेपालमा सेवा गरिरहनु भएको छ । हामी पनि नेपालमा केहि गर्न भनेर नै सक्रिय छौं । धेरै संस्था भए पनि हामीले सहयोग पाइरहेका छौं । उहाँहरुकै सहयोगले हामीले यति धेरै काम गर्न सकेका हौँ । डालसमा बस्ने एउटी चेलीले गर्ने समाजसेवी काममा डालसले नगरेर कसले गर्छ त ? सबै संस्थाहरुका चन्दादाताहरु प्राय एउटै हुने हुँदा उहाँहरुलाई पनि समस्या छ । त्यो हामीले बुझ्छौं । बिभिन्न चुनौतीका बाबजुद समुदायको हामीलाई पूर्ण सहयोग छ र आगामी कार्यक्रमहरुमा पनि सहयोग हुनेमा आशाबादी छौं ।
अन्त्यमा केहि भन्नु छ कि ?
सबै कुरा भनि नै सकें । हाम्रो निजी उद्देस्य केहि छैन । नेपालमा सेवा गर्ने नै हाम्रो स्वार्थ हो । यसको लागि नेपालमा हाम्रो नेटवर्क बनिसकेको छ । नेपाल लगायत कतिपय देशहरुमा शाखा पनि खोलिसकेका छौं । तपाईंले दिएको चन्दा यहाँ हुने खर्च कटाएर शतप्रतिशत जुन उद्देश्यका लागि उठाइएको हो, त्यसैमा खर्च हुन्छ । यो महान कार्यमा व्यक्तिगत र संस्थागत रुपमा समेत संलग्न हुन चाहनु हुन्छ भने हामीसंग सम्पर्क गर्न सक्नुहुन्छ । यो परियोजना नेपालकै नमुनाको रुपमा लैजाने हाम्रो उद्देश्य छ । त्यसैले आउनुहोस, झिना मसिना कुरा छोडेर यो महान कार्यमा सहकार्य गरौँ । तपाईंहरुको साथ र सहयोगको लागि हाम्रो ढोका संधै खुल्ला छ । प्रस्तुति: लेखनाथ गौतम

 

 

 

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907