डालसमा अन्तरक्रिया गर्न आएका बाबुरामको बिरोध किन ?
बाबुराम भट्टराई यतिबेला अमेरिका भ्रमणमा छन् । एक पूर्व प्रधानमन्त्रिको रुपमा उनको भ्रमण नेपाली समुदायको लागि खुसीको बिषय हुनु पर्ने हो । माइतीको कुकुर पनि प्यारो भए झैं प्रबासमा बस्ने नेपालीहरुलाई नेपालबाट आउने प्राय सबै प्यारा लाग्छन । कलाकार देखि नेतासम्म सम्मान र मायाको पोको बोकेर नेपाल फर्किन्छन । पाहुनाहरुलाई कसले स्वागत गर्ने, कसले पाहुना बनाएर घरमा राख्ने वा कसले सम्मान गर्ने भन्ने होडबाजी हुन्छ । बाबुराम भट्टराईको बारेमा भने फरक माहोल देखिंदैछ । डालसमा आउन लागेका भट्टराईको बिरोधमा प्रदर्सन गर्ने तयारी भएको समाचार छ । आखिर किन यस्तो ?
नेपालमा सन् २००६ को नोभेम्बरमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओबादी अध्यक्ष प्रचण्ड बीच बृहद शान्ति सम्झ्यौता सम्पन्न भयो । त्यो एक ऐतिहासिक घडी थियो । १० बर्षे माओबादी सशस्त्र द्वन्दलाइ पार लगाएको त्यो सम्झ्यौताले धेरै नेपालीहरुलाई शान्तिको सास फेर्ने अवसर दियो । दैनिक सुनिने हत्या र हिंसाका घटनाहरुमा कमी आयो । माओबादीको नाममा वा सरकारी सुराकीको नाममा हुने हत्याहरुमा कमी भए पछि मानिस अन्य सामाजिक र आर्थिक बिकासका मुद्धाहरुमा केन्द्रित भए । तर दुखको कुरा शान्ति सम्झ्यौता भएको १२ बर्ष पछि देश झन् कंगाल भएको छ । १७००० को ज्यान लिएको उक्त कथित जनयुद्ध शुरु हुनुभन्दा अघिको अवस्था भन्दा अहिले अलिकति राम्रो अवस्था भएको भए पक्कै बाबुरामलाई डालसमा स्वागत मात्र गरिन्थ्यो ।
डालसको नेपाली समाज यतिबेला बाबुरामको बिरोध र सहानुभूतिमा विभाजित छ । कसैले जनयुद्धकालका हत्याहरुमा नेतृत्वको हिसाबले उनको जिम्मेवारी रहेको र उक्त युद्धको समाजमा पुस्टि गर्न नसकेको आरोप लगाउंदै उनको बिरोधमा जुलुश निकाल्ने तयारी गर्दैछन् । अर्को तिर कतिपयले शान्ति सम्झ्यौता भैसके पछि र उनी अहिलेको राजनीतिक परिदृश्यमा आइसकेपछि पुराना कुरा कोट्याउन हुन्न भन्ने धारणा राखेका छन् ।
आयोजक एनआरएन र नेपाली समाज टेक्सास समेत बिबादको घेरामा परेका छन् । एनआरएन कै केहि पदाधिकारीहरुले यसको बिरोध जनाएका छन् भने नेपाली समाज टेक्सासले पनि यस बारेमा आफ्ना सदस्यहरुलाई जवाफ दिनु पर्ने अवस्था शृजना भएको छ ।
उनको बिरोधमा जनयुद्धकालीन पिडितहरु अगाडी छन् भने समर्थनमा भने युद्धमा रौँ पनि नहल्लेका मान्छेहरु छन् ।
त्यो पंक्तिमा माओबादीबाट मारिएका मान्छेहरुका आफन्त मात्र छैनन्, सरकारबाट माओबादीको नाममा मारिएका पिडित परिबारका व्यक्तिहरु पनि छन् । हज्जारौंको ज्यान लिएको, देशको आर्थिक अवस्था जर्जर पारेको र शैक्षिक क्षेत्र ध्वस्त पारेर आज के भयो भन्ने प्रश्न उनीहरुले गरिरहेका छन् । स्कुलहरुलाई बंकरको रुपमा प्रयोग गर्ने र जनताका छोराछोरीहरुलाई बन्दुक भिराउने तर आफ्नी छोरीलाई बिदेशमा पढ्न पठाउने बाबुरामले पक्कै यी प्रश्नहरुको जवाफ दिनै पर्छ । थुप्रै सपना देखाएर निमुखा जनताहरुलाई बन्दुक भिर्न लगाउने तर सम्झ्यौता मार्फत आफ्नो व्यक्तिगत दुनो सोझाउने बाबुरामहरुले आजको नेपालको दुर्दशाको जिम्मेवारी लिनु नै पर्छ ।
हो, युद्धमा मान्छे मर्छन । हो परिवर्तनको लागि युद्ध हुन्छन । तर त्यो युद्ध त्यति बेला जायज मानिन्छ जतिबेला त्यसपछि आउने शासनले जनतालाई सुख दिन्छ । आफ्ना छोराछोरीको हत्याको पिडा मान्छे त्यति बेला बिर्सिन्छ र हत्याराहरुलाई माफ गर्छ जतिबेला देश उज्यालो हुन्छ । देशमा बसीखान हुन्छ । जब युद्धको बेला आफन्त गुमाएकाहरु युद्ध पश्चात खाडीमा बेल्चा हान्न जानु पर्छ, त्यति बेला उनीहरुले त्यो घाउ अझै बल्झेको अनुभव गर्छन । अमेरिकालाई साम्राज्यबादी भन्दै बिरोध गर्न सिकाएको नेता जब अमेरिका आएर फेरी उनीहरुलाई नै लेक्चर दिन थाल्छ, त्यति बेला पुर्पुरो नतातेर के तात्छ ?
बिगत ३० बर्ष देखि बाबुराम नेपालको सत्तामा कुनै न कुनै रुपमा छन् । एक इन्जिनियरको रुपमा देशको नक्सा बनाउने काम भन्दा बिगार्ने काममा बाबुरामको भूमिका देखेकाहरू फेरी उनकै लेक्चर सुन्न कदापि तयार छैनन् । पक्कै एक व्यक्तिले सबै गर्न सक्दैन । तर के बाबुरामले यो करिव ३० बर्षको बिचमा गर्ब लाग्ने एउटै काम गरेका छन् ? अमेरिकामा बाबुरामको पछि लागेर हिड्नेहरुले पनि उनलाई यो प्रश्न गर्ने हिम्मत गर्नु पर्छ ।
जे होस्, डालसमा बाबुरामले बिरोधको सामना गर्नु पर्ने भएको छ । उनका कुरा सुन्न पनि मान्छे जालान । समर्थनमा पनि अभिव्यक्ति आउलन । तर कुरो को चुरो भने उनले गरेको कथित १० बर्षे युद्ध र त्यसले नेपाल र नेपालीलाई कंगाल बनाएको कुरा नै हो । मान्छेमा उनीप्रति सहानुभूति हुन नेपालले शान्ति र बिकासमा फड्को मारेको हुनु पर्थ्यो । हिंसा, बलात्कार, भ्रस्टाचारको दलदलमा फसेको देशलाई गफाडी ओलीको हातमा छोडेर बिदेशमा बस्ने नेपालीहरुलाई लेक्चर दिन आउने भट्टराईलाइ अलिकति भए पनि डालसका नेपालीहरुले बिगत सम्झाउने प्रयत्न गर्दैछन । जे गरे पनि नेता भए पछि छुट पाइन्छ भन्ने सोंचाई अन्त्य गर्न पनि जवाफदेही बनाउने यस्ता काम जारी राख्नु पर्छ । तर बिरोध शान्तिपूर्ण र सभ्य हुनुपर्छ ।