समुद्री आंधी फ्लोरेन्स उत्तर र दक्षिण क्यारोलिना तर्फ अघि बढ्दै
वासिंगटन डिसी, अमेरिका । समुद्री आंधी अमेरिकाको लागि धेरै महँगो पर्ने गरेका छन् । हार्भी नाम गरेको आंधी र मारिया नाम गरेको अर्को आंधीले अमेरिकाको पूर्व तयारीलाइ हावा खुवाइदिएको थियो । ठुलो साधन र श्रोतको उपलब्धताको बाबजुद अत्यन्त ठुलो क्षति हुन पुगेको थियो । फलस्वरूप “मारिया” समुद्री आँधीमा करिव ३ हजार पोर्टो रिकनहरुको ज्यान गएको थियो ।
यतिबेला अमेरिका फेरी समुद्री आंधीको संघारमा छ । “फ्लोरेन्स” नाम दिइएको यो आंधी नर्थ क्यारोलिना र साउथ क्यारोलिनाका समुद्री किनारहरू तर्फ अघि बढिरहेको छ । राष्ट्रिय मौसम केन्द्र र राष्ट्रिय आंधी केन्द्रले यसलाई नजिकबाट नियालिरहेका छन् । समुद्री आंधी आउने मार्ग निश्चित गर्दै सो मार्गबाट मानिसहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । यतिबेला यसको गति २० माइल प्रति घण्टा छ तर समुद्री तटमा अवतरण हुँदा यसको गति एकसय बिस माइल प्रति घण्टा हुनेछ जसलाई ३ बर्गको आंधीमा वर्गीकृत गरिएको छ ।
उद्धारको काममा सघाउन फिमा (फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी) ले प्रयाप्त तयारी गरेको जनाएको छ । करिव १५ लाख मानिसहरुलाई फ्लोरेन्सको बाटोबाट हट्न आग्रह गरिएको छ । अटेर गरेर बस्दा तपाईंको ज्यान जोखिममा त हुन्छ नै तपाईंहरुलाई उद्धार गर्दा हाम्रा उद्दारकर्ताहरुलाई समेत जोखिम हुने भएकोले सुरक्षित ठाउँमा जान अनुरोध गरिएको छ । आंधीको असर नपर्ने ठाउँहरुमा आपतकालीन आश्रय केन्द्रहरु निर्माण गरिएको छ । हज्जारौं सेना र उद्धारकर्ताहरु प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको छ ।
समुद्रमा निर्माण भएर समुद्री तटतर्फ बढिरहेको फ्लोरेन्स ८३ फीट सम्म अग्लो देखिएको छ । यो आंधीका कारण समुद्री तटहरुमा ४० फीटसम्म पानी पर्ने अनुमान गरिएको छ । नर्थ क्यारोलिना र साउथ क्यारिलोनाका गभर्नरहरुले आपत्काल घोषणा गर्दै तत्काल सुरक्षित क्षेत्रमा जान अनुरोध गर्दै बक्तब्य जारी गरिसकेका छन् । आंधी जमिनसम्म आइपुग्न सुक्रबारसम्म लाग्ने भए पनि बुधबार बेलुकी देखि ठुलो वर्षाको सुरुवात भने बुधबार बेलुकी देखि नै हुनेछ भने यो आंधी सम्पूर्ण रुपमा शान्त हुन सोमबारसम्म लाग्नेछ । त्यसबीचमा उच्च गतिमा हावा बहनुको साथै ठुलो वर्षा हुनेछ । (लेखनाथ गौतम)