को हुन् एलेक्स जोन्स ? किन लगाए सामाजिक संजालहरुले उनी माथि प्रतिबन्ध ?
मान्छे शंकालु प्राणी हो । सूचना र संचारको विकासले मान्छेको शंकालु बानीमा थप बल पुर्याएको छ । सामाजिक संजाल मार्फत शंका र भ्रम फैलाउन मान्छे निकै प्रयास गर्छन । व्यक्तिगत रुपमा त यो भएकै छ, भैरहने छ । संगठित रुपमा संचार माध्यम संचालन गरेर भ्रम र षड्यन्त्र फैलाउनेहरु पनि संसारमा थुप्रै छन् । अमेरिका त्यसमा अछुतो छैन । अमेरिकाको संविधानको पहिलो संसोधनले मान्छेलाई बोल्ने सबै छुट दिएको छ । भ्रमपूर्ण अफबाह फैलाउनेलाइ पनि का रबाही गर्ने अमेरिकी कानुन छैन ।
इन्फो वार्स भनिने एउटा अनलाइन छ, जसलाई एलेक्स जोन्स भन्ने मान्छेले संचालन गर्छन । उनको काम २४ सै घण्टा भ्रम फैलाउनु हो । हरेक काममा उनी षड्यन्त्रको गन्ध देख्छन । अनि कल्पना र शंकाको भरमा त्यसलाई आफ्ना अनुयायीहरु बीच प्रसारण गर्छन । हरेक इमान्दार कुराहरुमा पनि शंका गर्न मान्छेलाई उक्साउने काम एलेक्स जोन्सले गर्छन ।
इन्फोवार्स भनिने यो अनलाइनको काम अति दक्षिणपन्थी विचारहरु उत्पादन र प्रसारण गर्नु हो । उनीहरु फेक न्युज अर्थात् हुँदै नभएका समाचार बनाउँछन् र त्यसलाई अमेरिकाभर प्रसारण गर्छन । धेरै मान्छेहरु उनीहरुका यस्ता सामाग्रीहरुबाट प्रभावित हुन्छन अनि कतिपय सामाजिक कुराहरुमा धारणा बनाउँछन् ।
एलेक्स जोन्स षड्यन्त्र सिद्धान्त निर्माता हुन् । १९७४ मा जन्मेका एलेक्स जोन्स टेक्सासको अस्टिनमा बस्छन । उनी षड्यन्त्र सिद्धान्तका धेरै कुराहरुमा कुख्यात छन् । उनको सबभन्दा कुख्यात षड्यन्त्रमुलक सिद्धान्त भने स्याण्डी हुक प्राथमिक बिद्यालयमा भएको गोली काण्ड जसमा दर्जनौं कलिला बालबालिकाहरुको ज्यान गएको थियो, उक्त घटनालाइ बन्दुक बोक्न पाउने स्वतन्त्रता हनन गर्नको लागि नाटक रचिएको थियो भन्ने हो । त्यस्तै उनले बाराक ओबामाको जन्म केन्यामा भएको भनेर कुप्रचार गरेका थिए जसको आधारमा वर्तमान रास्ट्रपति ट्रंपले राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाएका थिए । उनले २००१ को वर्ल्ड ट्रेड सेन्टरको हमला अमेरिकी सरकारको योजना अन्तर्गत भएको कुप्रचार गरेका थिए ।
पक्कै पनि उनले आफ्ना सहयोगी नेटवर्क मार्फत यस्ता षड्यन्त्रमुलक कुराहरु प्रचार गरिरहनेछन । तर मुलधारमा रहेका सोसल मिडियाले भने उनलाई यतिबेला प्रतिबन्ध लगाएका छन् । युट्युब, फेसबुक, एप्पल, सफ़्टिफ़ाइ र ट्विटरले एलेक्स जोन्स र उनको अनलाइन इन्फोवार्सलाइ प्रतिबन्ध लगाएका छन् । ढिलै भए पनि यी सामाजिक संजालले आफ्नो समाज र समुदाय प्रतिको दायित्व महसुस गरेका छन् । यहि प्रतिबन्धले सम्पूर्ण रुपमा उनको षड्यन्त्र सिद्धान्त असफल त नहोला तर यसले उनको प्रचारको गति र जनतामा उनको पहुँच साघुरिएको छ । प्रस्तुति: लेखनाथ गौतम