टेक्सासमा महावीरका वीर कुरा: रास्ट्रीय आविस्कार केन्द्रको धोको होला त पुरा ?
१९५५ मा म्याग्दीको एउटा बिकट गाउँमा जन्मेको एउटा ठिटो भाग्यको खेल अमेरिका सम्म आइपुग्यो । अमेरिका आएर पढ्यो । तर उसलाई आफ्नो गाउँ र देशको मायाले छोडेन । अर्कैले बनाइदिएको बनिबनाउ संरचनामा उसले आफ्नो सुखद भबिस्य कोर्न सक्थ्यो । तर उसले त्यसो गरेन । उसलाई लाग्यो आफ्नो मातृभूमिको ऋण तिर्नु पर्छ । अनि संसारकै धनी देशको नागरिक बन्ने सपना छोडेर पुग्यो फेरी म्याग्दीका तिनै गाउँहरुमा जुन गाउँमा उ हुर्केको बढेको थियो । आफ्ना ती सपनालाई देश र जनताको हितमा समर्पण गर्ने त्यो नायकको नाम हो महावीर पुन ।
प्राय औसत मान्छेहरुको सोंच हुन्छ, पढ्ने, जागिर खाने, पैसा कमाउने र मस्ती गर्ने । तर महावीरको प्राथमिकतामा त्यो कहिल्यै परेन । उनी अमेरिका आए, पढे र फर्के । उनी जन्मे हुर्केको गाउँमा लाहुरे बन्ने चलन थियो तर उनले पढाइ रोजे । ब्रिटिश लाहुरे बनेर उनले पैसा कमाउन सक्थे तर उनले त्यसो गरेनन । उनी अमेरिका गएर पढे अनि फर्के आफ्नै गाउँमा एउटा सपना बोकेर । आगो बाल्न समस्या हुने गाउँहरुमा उनले कम्प्युटर र इन्टरनेटका कुरा चलाए । ठुलो मिहिनेत पछि उनी त्यसमा सफल भए । म्याग्दीका कतिपय गाउँहरुलाई इन्टरनेटसंग जोडे । गाउँ अलिकति उज्यालो भयो ।
त्यसपछि पनि उनले बिश्राम लिएनन । उनले गाउँहरुमा स्वास्थ्य क्लिनिक ल्याउन पहल गरे । गाउँका सामान्य किसानहरुलाई आय आर्जनका कुरा सिकाए । बाख्रा पालन, मौरी पालन देखि तरकारी खेतीका मध्यमबाट आय आर्जनका योजनाहरु गाउँ गाउँमा लागे । तर करिव दुइ दशक पछि उनलाई लाग्यो, यी झिना मसिना कामले देश बन्दैन । यी कामले जनताको गाउमा मल्हम त लाग्छ, उनीहरुको जिन्दगी सुखद हुँदैन भन्ने उनले बुझे ।
संसार घुम्दै र बुझ्दै जाँदा उनले धेरै पुरस्कार पाए । म्यागासेसे पुरस्कार देखि अनगिन्ति प्रमाणपत्र उनले प्राप्त गरे । तर पनि उनी सन्तुस्ट भएनन । उनले समग्र देशको आर्थिक उन्नति नगरी देश उन्नत हुन्न भन्ने कुरा उनले ठम्याए । धेरै संग सल्लाह लिए । अनि योजना बनाए, आविस्कार केन्द्र खोल्ने ।
संसार विकास र उन्नतिका सगरमाथाहरु चढि रहंदा नेपाल भने अत्यन्त परम्परागत उत्पादन प्रणालीमा रुमलिएको थियो । काम चलाउ उत्पादन प्रणाली थियो । बिस्व उदारीकरण र व्यापारीकरणको युगमा पुग्दा पनि नेपाल भने परम्परागत उत्पादन प्रणालीमा आधारित थियो जसले कुनै उत्पादन पनि निर्यात गर्न सम्भव थिएन ।
उनलाई लाग्यो आर्थिक विकास बिना देश विकास सम्भव छैन । आर्थिक बिकासको लागि उत्पादन आबस्यक छ । उत्पादन गर्न कुन बस्तु बिक्रि हुन्छ भन्ने जान्न जरुरी छ । त्यसको लागि अनुसन्धान हुन जरुरी छ । उत्पादनको पहिलो खुड्किलो नै अनुसन्धान हो भन्ने बुझेर आफु जस्तै समाजसेवी र आफ्नो विचारसंग सहमत हुनेहरुसंग मिलेर एउटा नयाँ परियोजनाको खाका तयार पारे । खाका थियो रास्ट्रिय आबिस्कार केन्द्रको स्थापना गर्ने ।
हो, त्यहि आविस्कार केन्द्रको स्थापना र संचालन गर्ने पबित्र उद्देश्य सहित उनी बिगत ४ बर्ष देखि सक्रिय छन् । त्यसैको लागि उनी यतिबेला अमेरिकाको भ्रमणमा छन् । आर्थिक सहयोग जुटाउने, नयाँ नयाँ विचारहरु जम्मा पार्ने योजना अनुरुप अमेरिकाको टेक्सासमा आइपुगेका महावीरको कुरा सुन्न आज एक कार्यक्रम आयोजना समेत गरियो ।
गैर आबसिय नेपाली संघ टेक्सास च्याप्टरको आयोजनामा स्थानीय फिस्टेल रेस्टुरेन्टमा महावीर पुनसंग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरियो । च्याप्टर अध्यक्ष भानु खरेलले सबैलाई स्वागत गरे पछि शुरु भएको उक्त कार्यक्रममा महावीर पुनले आफ्नो बिगत देखि वर्तमानसम्मको बेलिबिस्तार लगाउंदै अनुसन्धान केन्द्रको लागि सहयोग गर्न अपिल गरे । सहभागीहरुका प्रश्नहरुको जवाफ दिंदै यो देश निर्माणको महायज्ञमा भाग लिन आग्रह गरे । विचार, शिप, पैसा र समय जे सकिन्छ त्यो लागानी गर्न उपस्थितहरुलाई आग्रह गर्दै कार्यक्रम समापन भयो । प्रस्तुति:लेखनाथ गौतम