नेपाली समाज टेक्सासले सेप्टेम्बर ८ मा तीज मनाउने
डालस, टेक्सास । डालसका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटी अफ टेक्सासले तीज पर्वको चेलीहरुलाई “दर” खुवाउने कार्यक्रम गर्ने भएको छ । आगामी सनिबार अर्थात् सेप्टेम्बर ८ गते उक्त चाड उल्लासपुर्बक मनाउन लागिएको कुरा महिला संयोजक आइषा ओझाले जानकारी गराउनु भएको छ । सनिबार समयमै अर्थात् अपरान्ह ५ बजेदेखि राति १ बजे सम्म अविच्छिन्न रुपमा मनाउन लागिएको तीज बिशेष कार्यक्रममा खुट्टा दुख्ने गरी नाच्ने व्यवस्था गरिनुका साथै स्थानिय कलाकारहरुको सहित अन्त्यमा डिजेले समेत धमाका मच्चाउनेछन् ।
तीज कार्यक्रमलाई ब्यबस्थित बनाउन फराकिलो हल व्यवस्था गरिएको छ । इंडिया बजार भन्ने ग्रोसरी स्टोरको पछाडी पट्टि रहेको हलमा उक्त कार्यक्रम आयोजना गरिएको छ जहाँ १००० भन्दा बढी चेलीबेटीहरु सजिलै नाचेर रमाइलो गर्न सक्छन । प्रवेशको लागि ८ बर्ष मुनिका बालबालिकाहरुलाइ निशुल्क व्यवस्था गरिएको छ भने ८ बर्ष देखि माथिकालाई मिठो खाना र धमाकेदार प्रस्तुति हेर्दै नाच्नको लागि जम्मा १५ डलर प्रवेश शुल्क तोकिएको छ । उक्त दिन क्यालेन्डरमा उल्लेख गरी समय निकालेर नेपाली महिलाहरुको महान चाड तीज उल्लासपुर्बक मनाउन नेपाली समाज टेक्सासको कार्यसमितिका दुइ ताराहरु आइषा ओझा र श्रद्धा श्रेष्ठले जानकारी गराएका छन् ।
तीजको ऐतिहासिक महत्व के छ ?
तीज बिशेष गरी नेपाली महिलाहरुको महत्वपूर्ण चाड हो । तर यो नेपालमा मात्र सिमित भने छैन । भारतका बिशेष गरी मारवाडी समुदायमा यो झनै लोकप्रिय छ । भारतको राजस्थान र पंजावमा पनि तीज पर्ब मनाइने गरिन्छ । वर्षा ऋतुको अन्त्य र शरद ऋतुको आगमनको खुसियालीमा भगवान महादेव र देवी पार्वतीको पुजा, भजन र उपासना गर्दै यो चाड मनाउने गरिन्छ । नेपालका ग्रामिण भेगहरुमा तीजमा गाइने गीतहरुमा दैनिक जीवनको भोगाइको चित्र पाइन्छ । घरको कामले फुर्सद नपाउने चेलीहरु कमसेकम बर्षमा एकपटक बुवा आमा, दाजुभाई तथा आफ्ना माइतीहरूसंग भेट्ने अबसरको रुपमा यसलाई लिइन्छ । घरमा सासु ससुरा र अन्यहरुबाट भोगेका पिडा माइतीलाई सुनाउने अबसरको रुपमा समेत यसलाई लिने गरिन्छ ।
धार्मिक रुपमा भने देवी पार्वतीले महादेव पति पाउँ भनेर लामो तपस्या गरेको र तीजको दिन उक्त इच्छा पुरा भएको दिनको रुपमा लिने गरिन्छ । पार्वतीले आफुले चाहेको पति महादेव प्राप्त गरेकोले यो दिन उपासना गरेर ब्रत बसी भगवान महादेवको पुजा अर्चना गरेमा इच्छित बर पाइने बिस्वसका साथ अबिबाहित किशोरीहरु ब्रत बस्ने गर्छन भने बिबाहित स्त्रीहरु आफ्नो पतिको सु-स्वास्थ्य र दिर्घायुको लागि ब्रत बस्ने गर्छन । तीजको अघिल्लो दिन दिदीबहिनीहरु भेला भएर मिठो मिठो खाने, लगाउने र नाचगान गर्ने गर्छन । तीजको दिनमा भोकै बसी, महादेवको पुजा अर्चना गर्दै भजन र गीतहरु गाउँदै नाच्दै यो चाड खुसी पुर्बक मनाउने गर्छन ।
विकृत हुँदै तीज
नेपाली समाज आधुनिक बन्दै जाँदा यसले आफ्नो सांस्कृतिक धरातल छोड्न थालेको प्रस्ट देखिन्छ । हाम्रा हरेक चाडबाड ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका छन् । यी चाडहरुमा हुने गतिविधिहरुमा रहेको सांस्कृतिक र बैज्ञानिक महत्व अहिले ओझेलमा पर्न थालेको छ । हाम्रा हरेक चाडबाडहरु सांस्कृतिक बिचलनको रुपमा देखिन थालेका छन् जुन गम्भीर कुरा हो ।
चाडबाड मनाउने नाममा सबभन्दा विकृत र विसंगतिपूर्ण बन्दै गएको चाड तीज हो । दुइ तीन दिन मनाइने तीज महिना दिन भन्दा अघि देखि मनाउने चलन शुरु भएको छ । गहनाको प्रदर्शन, फेसन प्रदर्शन, अरुलाई आफ्नो रबैया देखाउने पर्वको रुपमा तीज प्रयोग हुन थालेको छ । गीतमा बेदनाका कथा कहानी भन्दा पनि भद्धा यौनिक चाहनाहरु अभिव्यक्त गर्न थालिएको छ । तीजका कार्यक्रमहरुमा कहिँ पनि नेपाली परम्परागत संस्कृतिलाई भन्दा कथित आधुनिक बिकृतिहरुलाई प्रस्तुत गरिन्छ । तीजको बास्तविक मर्म मरेर मोजमस्ती गर्ने एउटा पार्टीको रुपम तीज मनाइन थालिएको छ । मनोरंजन तीजको एक महत्वपूर्ण बिषय भए पनि अहिलेका तीजहरु मनोरंजनलाइ मात्र केन्द्रमा राखेर गरिन्छ जसमा हाम्रो धार्मिक र सांस्कृतिक निरन्तरता संग कुनै साइनो छैन ।
तीजमा पक्कै रमाइलो गर्नु पर्छ तर हाम्रो संस्कृतिलाई विकृत नबनाइकन । तपाईं हामी सबै मिली यस्तो रमाइलो तीज मनाउ जसले संस्कृति बचाओस र रमाइलो पनि होस् । तीजको उपलक्षमा युएसएण्डनेपाल डट कम सबै चेलीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।