डालसमा मनाइयो सुदुर पश्चिमेली गौरा पर्ब
डालस, टेक्सास। अर्भिंग सिटीको केन्द्रमा रहेको नेपालीहरुको आशाको धरोहर नेपाली मन्दिरमा आज बिशेष कार्यक्रमका बीच गौरा पर्ब मनाइयो । सुदुर पश्चिम नेपाली समाजको आयोजनामा भएको उक्त गौरा पर्ब मनाउने कार्यक्रममा सुदुर पश्चिममा बस्ने नेपालीहरुका साथै अन्य नेपालीहरुको समेत निकै बाक्लो उपस्थिति थियो । देउडा नाचको समेत प्रस्तुति गर्दै उपस्थित सबैलाई फुल प्रशाद वितरण गरिएको थियो ।
अर्भिंग स्थित नेपाली मन्दिर डालसको नेपाली समाजको एकताको केन्द्र हो । यो मन्दिर निर्माणमा पहिलो दिन देखि सक्रिय समाजसेवी मुरली अधिकारी कार्यक्रम देखेर दंग हुनुहुन्थ्यो । “मन्दिरले मान्छेलाई जोड्ने काम गर्छ भाइ” हँसिलो मुद्रामा अधिकारीले भन्नु भयो । बिगत केहि बर्ष देखि नेपाली मन्दिर आफ्नै खुट्टामा उभिन शुरु समेत गरेको छ । अब यसलाई छिट्टै युलेस सिटीमा ब्यबस्थित रुपमा निर्माण गरेर स्थानान्तरण गर्ने निर्णय समेत भैसकेको छ ।
गौरा पर्व नेपालको सुदुर पश्चिम क्षेत्रको एउटा महत्वपूर्ण चाड हो । देवी पार्वतीका थुप्रै नामहरु मध्ये गौरी पनि एक हो । भगवान महेश्वर र गौरीको बिबाहको अबसरमा यो चाड मनाइन्छ । कृष्ण जन्मास्टमीको अबसरमा मनाइने यो चाड सुदुर पश्चिम लगायत मध्ये पश्चिमका केहि क्षेत्र र सुदुर पश्चिमसंग जोडिएका भारतका केहि क्षेत्रहरुमा समेत मनाइन्छ । यो पर्बमा भगवान महेश्वर र पार्वतीको पुजा गरिन्छ । यसबाट सुख सम्वृद्धि एबम सन्तान सुख हुने समेत विश्वास गर्ने गरिन्छ ।
गौरा पर्वमा महिलाहरु ब्रत बस्ने एबम पुजा अर्चना गर्छन भने पुरुषहरु महिलाहरुलाई सघाउने, नाचगान गर्ने र रमाइलो गर्न सहभागी हुन्छन । यो पर्ब “लोली गौरा” को नामले पनि पुकारिन्छ भने यसमा प्रस्तुत गरिने गीतहरुमा महेश्वर र गौरीको स्तुती गरिएको हुन्छ । कठिन पहाडी र दुर्गम क्षेत्रको जीवनलाई समेत यस्ता गीतहरुमा उतार्ने गरिन्छ ।
गौरा पर्ब किन र कसरी मनाइन्छ ?
किम्बदन्ती अनुसार भगवान महेश्वर एक गाइ चराउने परिबारमा मानव अबतारमा थिए । उता गौरी भने धनी परिवारकी थिइन । दुवै जना संगै गाइ चराउने गर्थे । लामो समय संगै गाइ चराउँदा उनीहरुले एक अर्कालाई मन पराउन थाले । महेश्वरले गौरीसंग यो कुरा राखे तर गौरीले यो निर्णय एक्लै गर्न सकिनन् । उनले महेश्वरलाइ बाबा आमासंग माग्न आउन आग्रह गरिन ।
एक दिन महेश्वरले एउटा जोगीको भेष धारण गरेर गौरीको घरमा पुगे । गौरीका मातापिताले जोगीको लागि धेरै धन ल्याएर दिए । तर जोगीले त्यो अस्विकार गर्दै भिक्षामा उनकी सुन्दरी छोरी मात्र लिने जिद्धि गरे । गौरीका मातापिताले भने सुर्य वा जुनका पुत्रलाई मात्र आफ्नी छोरी दिने आफ्नो निर्णय सुनाउंदै यस्तो जोगीलाई नदिने भन्दै जोगीको अपमानपूर्ण बचन लगाए ।
यसपछि जोगी रुपी महेश्वरले आफ्नो बास्तविक रुप धारण गरे । गौरिका मातापिताले आफ्नो गल्तिको माफ गर्न शरण पर्दै आफ्नी छोरी खुसिपुर्बक सुम्पिए । यो पर्वमा गाउने गीतहरुमा यस्तै कथाहरु व्यक्त गर्ने गरिन्छ ।
त्यसै गरी एकदिन गौरी आफ्नो माइत पुगिन । उनका दाई भाउजुले गरिब भन्दै उनलाई नराम्रो व्यवहार गरे । तर उनका भाइ बुहारीले राम्रो व्यवहार गरे । त्यो देखेर प्रसन्न भएकी गौरीले आफ्ना भाइ बुहारीलाई धन दौलतको लागि आशिर्बाद दिइन । उनीहरु एकदम धनी भए । त्यो थाहा पाएर दाई भाउजु पनि माफी मागे पछि उनीहरुलाइ पनि आशिर्बाद दिइन । यिनै कथाहरु नै गौरा पर्वमा गाइने गीतहरुका बिषय बस्तु हुन्छन ।
यो पर्ब भाद्र शुल्क पुर्णिमाको दिन मनाउने गरिन्छ । महिलाहरु बिहानै उठेर नुहाई धुवाई गरी शुद्ध हुन्छन र राम्रा राम्रा कपडा लगाउँछन् । त्यसपछि उनीहरु गौरीको प्रतिमा स्थापना गरिएको ठाउँमा जान्छन जहाँ गौरीलाई “बुढी गोरा” को रुपमा प्रतिस्थापित गरिएको हुन्छ । त्यहाँ उनीहरुले पांचवटा अनाजहरुलाइ पानीमा भिजाउने गर्छन जसलाई “बिरुडा ” भनिन्छ । गौरीलाइ मुख्यको रुपमा मान्दै त्यहाँ सबै सम्पन्न गरिन्छ र फेरी अन्य घरमा सोहि प्रक्रिया दोहोर्याईन्छ । टोल छिमेकमा रहेका सबै घरमा “बिरुडा ” बनाएर यो कुरा सम्पन गरिन्छ ।
त्यसको भोलिपल्ट फेरी त्यसलाई संकलन कार्य गरिन्छ जुन कार्य गौरी स्थापना गरिएको घरबाट शुरु गरेर त्यो क्षेत्रका हरेक घरमा पुगेर सम्पन्न गरिन्छ । त्यसपछि उनीहरु नदीमा जान्छन र उक्त बिरुडालाइ पखालेर सफा गर्छन । त्यसपछि घर फर्केर फेरी हरेक घरमा जाने गर्छन । यस्तै अन्य तरिकाले सातौँ, आठौँ, नवौं र दशौँ दिनमा बिभिन्न तरिकाले गौरी र महेश्वरको पुजा अर्चना, नाचगान गर्छन । दशौँ दिन बुढी गोराको प्रतिमालाई बिसर्जन गरेर यो चाडको समापन गरिन्छ ।