इन्द्रेणी सांस्कृतिक संघले सेप्टेम्बर १ सनिबार शिला आलेसंग तीज मनाउने
डालस, टेक्सास । लामो समय देखि टेक्सासमा नेपाली संस्कृतिको निरन्तरता र विकासमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले सेप्टेम्बर १ गते सनिबार तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । संघका अनुसार सनिबार साँझ ७ देखि १२ सम्म अविच्छिन्न रुपमा चल्ने उक्त तीजको दर खाने तथा सांस्कृतिक कार्यक्रम हाइवे १८३ को दक्षिणपट्टि रहेको डिएफ़्डब्ल्यु एयरपोर्ट होटेलमा हुनेछ ।
नेपाली चाडबाडहरु इन्द्रेणीले हरेक बर्ष धुमधामसंग मनाउने कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यस्ता कार्यक्रमहरुमा बिभिन्न क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको समेत सहभागिता हुने गर्छ । यस बर्ष पनि लोकप्रिय गायिका शिला आलेले दर्शकहरुलाई बुरुक बुरुक नचाउने छिन । त्यस्तै गरी इन्द्रेणी सांस्कृतिक संघका कलाकारहरुका बिभिन्न खाले प्रस्तुतिहरु हुनेछन । उपस्थित महिलाहरुको लागि जुत्ता फाट्ने र खुट्टा दुख्ने गरी नाच्न मिलोस भनेर प्रशस्त ठाउँ व्यवस्था गरिएको इन्द्रेणीले जनाएको छ । डालस वरपर रहनु भएका सम्पूर्ण दिदीबहिनीहरुलाइ निमन्त्रणा दिंदै उपस्थित भएर इन्द्रेणी संगै तीज पर्ब मनाउन आव्ह्वान गरिएको छ । तीजको यो कार्यक्रममा शिला आलेको साथमा डालस क्षेत्रमा रहेर नेपाली संगीत क्षेत्रमा सक्रिय भुटानी नेपाली समुदायका कमल घले र गायिका सेरी तम्लिंग सेनेहाङ्गले समेत प्रस्तुति दिनेछिन ।
इन्द्रेणी सांस्कृतिक संघ २००७ देखि अमेरिकाको टेक्सास राज्यमा संचालित एक गैर नाफामुखी सामाजिक संस्था हो । प्रबासमा रहंदा चाडबाडको बेलामा खल्लो महशुस हुन नदिन यसले निरन्तर रुपमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।