गोराहरुको चिन्ता (व्हाइट एञ्जाइटी) आप्रबासीहरुको लागि नाइट मेयर बन्न सक्छ
जान्ने हुँदा देखि नै अमेरिकाको बारेमा धेरै सुनिन्थ्यो । त्यति बेला हाम्रो घरमा बज्ने २ ब्याट्री वाला रेडियोमा पनि धेरै जसो अमेरिकाका समाचारहरु दैनिक जसो प्रसारण हुन्थे । अमेरिकी रास्ट्रपतिले यसो भने, उसो भने भन्ने कुरा नै अन्तररास्ट्रिय समाचारको मुख्य अंश हुन्थ्यो । अमेरिकाले भनेको कुरा धेरैले सुन्थे, मान्थे । बालक मस्तिस्कमा अमेरिकाबारे राम्रै प्रभाव परेको थियो । संसार कै धनी र शक्तिशाली राष्ट्र अमेरिका जाने रहर लाग्थ्यो ।
विधिको बिधान कसले पो टार्न सक्छ र ? डिभी नामक चिट्ठा मार्फत अमेरिका आउने अवसर प्राप्त भयो । सोर्सफोर्स नचाहिने, धेरै धनराशी खर्च गर्नु नपर्ने हुनाले म जस्तो नेपालको शासन सत्तामा कुनै पहुँच नभएको एउटा न्युन मध्यम बर्गीय अर्ध शिक्षित मान्छेको लागि अमेरिका आउने सजिलो मध्यम डिभी थियो । अमेरिका आइयो, काम शुरु गरियो । जेनतेन जिन्दगीको गाडी चलेकै छ । छालाको कारण यो देशमा अन्तरघुलन हुन त केहि पुस्ता लाग्ने नै छ तर कानुनी हिसाबले भने अमेरिकामा बस्न गाह्रो थिएन । २०१६ को निर्बाचन पछि भने अमेरिकाको समाजमा द्वन्दको अवस्था सिर्जना हुँदै गएको देखिन्छ । वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंपको चुनावी नारा अहिले उनले अपनाएको नीति र व्यक्त गरेका विचारहरुका कारण अमेरिकाको सपना देखेका बिदेशीहरु झस्किनु पर्ने अवस्था सिर्जना भएको छ ।
केहि दिन अघि फक्स न्युजमा कार्यरत लौरा इन्हाग्रामले गोराहरुको डर सार्बजनिक गरिन । उनले गैर कानुनी आप्रबासीहरु माथि मात्र होइन, कानुनी रुपमा अमेरिका बसिरहेकाहरु पनि अमेरिकाको लागि खतरा रहेको उल्लेख गरिन । अमेरिकाका धेरै निर्बाचन क्षेत्रमा जातिय परिवर्तनले अमेरिकीहरु माथि ठुलो चुनौती आएको भन्दै “अब हाम्रो सपनाको अमेरिका बाँकी नरहेको” प्रस्ट पारिन । ट्रंप शासनकालको उपलब्धि भनेको शुषुप्त अबस्थामा रहेको गोराहरुको “चिन्ता” सार्बजनिक हुनु हो । गत बर्ष भर्जिनियाको चार्लोट्स्भिलमा भएको “अतिबादी गोराहरु” को भेलाको बेला भएको हिंसाको प्रतिक्रियामा रास्ट्रपति ट्रंपले दुवै पक्षतिर राम्रा मान्छे रहेको सार्बजनिक अभिव्यक्ति दिएका थिए । यी सबै कुराहरुको जड केहि बर्ष पछि नै अल्पमतमा जान सकिने गोराहरुको चिन्ता हो ।
यतिबेला ट्रंपको सल्लाहकार स्टेफेन मिलर गैर कानुनी होइन, कानुनी रुपमा बस्ने अमेरिकी बिरुद्ध योजना बनाउदै छन् । सामान्यतया एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्नेहरु बढी उदार हुन्छन । एक देशबाट अर्को देशमा सर्नेहरु झनै उदार हुन्छन । उनीहरुको उदारताको कारण अमेरिकामा अधिकांश प्रबासीहरु डेमोक्र्याटिक पार्टीमा छन् वा पार्टीमा नभए पनि उदार नीति मन पराउँछन् । बढ्दै गएको आप्रबासीहरुको संख्याको कारण बढी परम्पराबादी धारको प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीमा र बिशेष गरी ग्रामिण क्षेत्रमा बस्ने गोराहरु बढी चिन्तित देखिन्छन । प्रबासीहरुको मुद्धा कै कारण ट्रंप रास्ट्रपतिमा बिजयी भएका थिए । मेक्सिकोमा पर्खाल लगाउने र त्यो खर्च मेक्सिकोलाइ नै तिर्न लगाउने उनको चुनावी अभियानको प्रमुख नारा थियो । भलै त्यो पर्खाल लगाउने पैसा नछुट्टाएको आरोपमा सरकार नै बन्द गर्ने सम्मको काम ट्रंपले गरेका छन् र गर्ने धम्कि दिंदै आएका छन् ।
प्रबासीहरुको यहि उदारताको कारण लामो समय अमेरिका बस्दै आएका र अमेरिकी नागरिकता लिएकाहरु समेत “गोराहरुको चिन्ता” को शिकार हुने सम्भावना बढेको छ । बिशेष गरी स्टेफेन मिलरको योजना सफल भयो भने नागरिकता लिएकाहरु समेतलाई अनुसन्धानको घेरामा ल्याउने, सानातिना गल्ति कमजोरीहरु देखाएर नागरिकता खारेज गरी उनीहरुकै देश फर्किन पर्ने अवस्था आउन सक्छ । ट्रंपका अनुदार नीतिहरु र रिपब्लिकन पार्टी भित्र ट्रंपको लोकप्रियता हेर्दा आगामी मध्यावधि निर्बाचनमा फेरी रिपब्लिकनहरुले हाउस र सिनेटमा बर्चस्व कायम राखे भने अमेरिकामा बस्दै आएका फरक छालाका व्यक्तिहरुलाई निकै असजिलो अवस्था आउन सक्छ ।
यतिबेला अमेरिकाको नीति संरक्षणबादी रहेको छ । उदारबाद, प्रजातन्त्र र खुल्ला बजार नीतिको निर्माता अमेरिका आफै “अमेरिका पहिलो” भन्ने नाममा एउटा हुँदै गएको बिस्व अर्थतन्त्रलाई फेरी शीतयुद्ध कालिन अबस्थामा लैजान प्रयत्न गरिंदै छ । अबसरको खोजीमा आएका करोडौं आप्रबासीहरुलाई निम्न स्तरको भाषा प्रयोग गर्दै अपराधीको बिल्ला भिराउने काम भैराखेको छ । जन्मेको देशमा भगौडाको पगरी गुथेका आप्रबासीहरु अमेरिकामा अपराधीको संज्ञा लिन बाध्य भएका छन् । यसले हामीजस्ता आप्रबासीहरुको अमेरिकी सपना दिवास्वप्नमा परिणत हुन थालेको छ । २०१८ को मध्यावधि र २०२० को रास्ट्रपतिको निर्बाचनमा पनि यहि बिचारको बिजय भयो भने आप्रबासीहरुको लागि अमेरिका सपनाको देश होइन, भयङ्कर नराम्रो सपना अर्थात् नाइट मेयर साबित हुनेछ ।