इन्द्रेणीमा रुपेश न्यौपाने अध्यक्षमा आउने: बुढाहरुलाई बाटो छोड्न आग्रह
डालस, टेक्सास । इन्द्रेणी सांस्कृतिक संघ डालस क्षेत्रमा नयाँ नाम होइन । २००७ मा स्थापना भए देखि नै यसले डालसको नेपाली समाजमा छुट्टै स्थान बनाउदै आएको छ । प्रबाशमा नेपाली संस्कृतिलाई जोगाउने र प्रबर्धन गर्ने काम यसले गर्दै आएको छ । नेपाली परम्परागत चाडबाड सामुहिक रुपमा मनाउन यसले काम गर्दै आएको छ । नेपाली नयाँ पुस्ताको नेपाली संस्कृति प्रतिको अरुचि देखिएको अबस्थामा यसको उपादेयता झन् बढेको छ ।
संस्था चलाउन एउटा प्रणाली र प्रणाली चलाउन एउटा टीमको जरुरत पर्छ । इन्द्रेणी सांगीतिक संघमा पनि स्वयंसेवकहरुको समिति छ । हरेक दुइ बर्षमा नयाँ नेतृत्व आउने गर्छ । निबर्तमान हुन लागेको कार्यसमितिमा तारा भुषाल अध्यक्ष हुनुहुन्थ्यो भने महासचिवमा रुपेश न्यौपाने ।
कतिपय संस्थाहरुमा नेतृत्वमा आउन होडबाजी हुन्छ भने कतिपयमा अगाडी आउने मान्छे पाइन्न । काम गरेर बचेको समय आफ्नै परिवारमा लगाउँछु भन्नेहरु यहाँ बग्रेल्ती छन् । त्यसैले गर्दा पनि स्वयंसेवक बनेर काम गर्न, समय र पैसाको खर्च गरेर समाजसेवा गर्न खोज्नेहरु अमेरिकाको नितान्त ब्यक्तिबादी समाजमा पाउन गाह्रो छ । त्यसमाथि संस्थाहरु भित्र हुने खिचातानी, हानथाप र अस्वस्थ प्रतिष्पर्धा गर्नु पर्ने हुनाले पद र पैसामा हुरुक्क नहुनेहरु नेतृत्व गर्न चाहन्नन् । बास्तविक रुपमा काम गर्ने र समाजसेवा भित्रि मन देखि बिना स्वार्थ गर्ने मान्छे पाउनु ठुलो कुरा हो । इन्द्रेणी सांस्कृतिक संघले सक्रिय समाजसेवीहरु समाजको लागि प्रदान गर्दै आएको छ ।
यहि मेसोमा आगामी कार्यकालको लागि अध्यक्ष पदमा युवा रुपेश न्यौपानेले आफ्नो उम्मेद्वारी दिएका छन् । हालको कार्यसमितिमा महासचिवको पदमा रहेर काम गरेका न्यौपानेले फेसबुक मार्फत बिज्ञप्ति जारी गर्दै उम्मेद्वारी घोषणा गरेका छन् भने युबाहरुको लागि बाटो छोड्न बुढाहरुलाई अनुरोध समेत गरेका छन् । प्रस्तुत छ उनको बिज्ञप्ति जस्ताको तस्तै:
आदरणीय डालसवासी नेपाली समुदायका अग्रजहरु, संघ संस्थाका ब्यक्तीत्वहरु, इन्द्रेणी सांस्कृतिक संघ सँग आबद्द हुनुभएका यस संस्था लाई माया गर्नुहुने शुभ चिन्तकहरु ,
यस संस्था मार्फत हाम्रा जन्म भुमीका मौलीक पहिचान नेपाली चाड पर्व कला सस्कृती तथा नृत्य लाई जगेर्ना गर्दै अमेरीकी कर्म भुमीमा यहाँका स्थानीय बिभिन्न भाषीक समुदाय जन जाती बिच बिसुद्द रुपमा सहकार्य गरी अगाडी बढाउने उद्देस्यले यस संस्थाको स्थापना गर्नुहुने सम्पुर्ण संस्थापक ज्यु हरू सदस्य ज्यु हरू प्रती उहाहरुको दीर्घ कालीन सोच प्रती नमन गर्न चाहान्छु ।
बिगतका दिनहरुमा यस संस्थालाई अगाडी बडाउन महत्व पुर्ण भुमीका नीर्वाह गर्नुहुने संस्थाका अध्यक्ष ज्यु हरु सल्लाहकार ज्यु हरु तथा कार्यसमितीमा रहेर यस संस्थालाई अगाडी बढाउन महत्व पुर्न भुमीका नीर्वाह गर्नुहुने सम्पूर्ण प्रती हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।
आदर्णीय अग्रजहरु शु-भ चिन्तकहरु मैले बिगत दुइ कार्यकाल देखी यस संस्थामा रही बिभीन्न कार्यक्रमहरु लाई होस्टेमा हैंसे गर्दै अगाडी बढउन महत्व पूर्ण भुमीका खेलेको कुरा यहाँहरु सबै अवगतै हुनुहुन्छ, त्यसर्थ अव छिट्टै हुनगैरहेको आगामी कार्य समितीको नयाँ नेतृत्व चयन को पुर्व सन्ध्यामा यस संस्था लाई थप उचाइमा पुर्याउन तथा हाम्रो सस्ंस्था लाई अमेरिकि मुल धार सँग सहकार्य गराइ सस्थाको मुल मर्म प्रती समाहित हुन अमेरीकी चाड पर्व तथा बिभीन्न कार्यक्रमहरुमा हाम्रा नृत्य झाँकीहरू सहित हाम्रो उपस्थिती बढाउन र यहाँको स्थानीय सरकार सँग लिन मिल्ने सुबिधाहरू लिनका निमित्त पुर्व अग्रज हरुको मार्ग निर्देसनमा हामीजस्ता नयाँ पीडिका युवाहरुको सकृयता बाट ससक्त रुपमा अगाडी बडाउन सकिने हुँदा अग्रजहरु बाट आगामी कार्यकाल को नेतृत्व नयाँ पुस्थामा हस्तान्तरण गरी सहयोगी अभिवावक को भुमीका नीर्वाह गरी दिनुहुने छ भन्ने अपेक्षा लीदै आगामी कार्यसमितीको अध्यक्ष पदको उमेर्दवार बन्ने बिचार का साथ अगाडी बडेको कुरा यहाँहरु सम्पुर्ण मा जानकारी गराउँदछु।धन्यवाद
रूपेश न्यौपाने
कार्यसमिती महासचिव
इन्द्रेणी सांस्कृतिक संघ
डालस- टेक्सास