डालसमा भानु जयन्ति सम्पन्न
पश्चिम नेपालको तनहुँको चुँदीमा जन्मिएका आदिकबि भानुभक्त आचार्यलाई अमेरिकामा बस्ने नेपालीहरुले शनिबार स्मरण गरेका छन्। २०४ औं भानुजयन्तीको सेरोफेरो पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डालस च्याप्टरले शनिबार साँझ आयोजना गरेको कार्यक्रममा प्रस्तुत गीत, कबिता र गजलले कार्यक्रमलाई बेजोडको साहित्यिक संगम बनाएको थियो ।
युवा कबि एवं गजलकारका कबिता, गजल र गीतले उपस्थित साहित्यानुरागी श्रोताहरुलाई मन्त्रमुग्ध बनाएको थियो। आदिकबि भानुभक्तले नेपाली भाषा, साहित्यमा पुर्याएको अतुलनीय योगदानको चर्चा गर्दै सुरु भएको कार्यक्रमममा देशभक्ति, मायाप्रेम, सामाजिक विसंगति, प्रवासीको अन्तरद्वन्द्व लगायत विविध विषयमा केन्द्रित रहेर १७ जना कबि, गजलकारले आ–आफ्ना उत्कृष्ट सिर्जना बाचन गरेका थिए।
आदिकवि भानुभक्तका पनाती सुरेन्द्र देबले तत्कालीन शासकलाई आदिकविले व्यंग्य गरेर लेखेको कबिता वाचन गरेर आदिकविको संझना गरेका थिए। नेपालबाट आएका कबि शिरहरि फुयाँलको नेपालको ब्यथा अमेरिकाको कथा कबिताले भावुक वनेका श्रोताहरूलाई डालसका चर्चित कलाकारहरू बासु ‘पुष्पा’ अधिकारी, पवन लामिछाने, सरू काली र राधाकृष्ण काफ्लेका गजलले मन्त्र मुग्ध वनाएका थिए।
कबिहरू खेमराज गैराघरे, भगबती पौडेल, लीला श्रेष्ठ, पातलो अन्तरे, यदुनाथ अधिकारी ‘साल्दाई’, सुरेश पोखरेल , पबन लामिछाने, नेत्रप्रसाद आचार्य, पुजा वागिस, चम्पा भट्टराइ, बिकु लामाले छन्द र गद्यमा सुनाएका कबिताले श्रेतालाई साहित्यिक तृप्ति दिएको थियो। स्थानीय सांगितिक व्याण्ड ‘सहयोगीज’ ले आदिकवि भानुभक्तको कबिता ‘बिन्ती डिट्ठा विचारसित म कति गरूँ चुप रहन्छन् नबोली! बोल्छन् त ख्याल गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि!!’ लाई गीतमा प्रस्तुत गरेर माहौल तताएका थिए।
सहयोगीज ब्याण्डका सत्य थापाको स्वरलाई उज्जल, अमित, अविनाश र सुधिरले बाध्यवादनमा सहयोग गरेका थिए। कार्यक्रममा पवन पन्थले गाएको गोपाल योन्जनको ‘बनेंको छ पहराले यो छाती मेरो, बगेके छ छहरा रगतमा मेरो…’ बोलको गीत गाएर उपस्थित श्रोतालाई नेस्टालजिक बनाएका थिए।
अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्कर्माको प्रमुख आतिथ्यता, डालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमा महासचिव सुमन कार्की ‘काजी’ उद्घोषणबाट कार्यक्रममा थप रौनकता थपिएको थियो। कार्यक्रम नेपालीको संस्था नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको हलमा सम्पन्न भएको थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्माज, डालस च्याप्टरले बेलाबेलामा विभिन्न अवसर पारेर यस्ता खालका साहित्यिक कार्यक्रमको आयोजना गरेर बिदेशमा पनि नेपाली भाषा साहित्यको सम्बद्र्धन र संरक्षणमा योगदान पुर्याउँदै आएको छ।