सामुदायिक विकासका ‘खुल्ला विश्वविद्यालय’हरूलाई प्रवद्र्धन गर्नुपर्ने
श्रीराम फुटुङ्गे, काठमाडौं । नेपालमा प्रणालीबद्ध विकासको थालनी भएको झण्डै ६२ वर्ष पुगेको छ । तर यो अवधिमा ग्रामीण सामुदायिक विकासका ठोस नमुना भने एकदमै कम विकास भएका छन् । ती मोडेलहरूमध्ये बढी चर्चामा आउने पाल्पाको मदनपोखरा, रामेछापको गोल्माटार, नवलपरासीको गैंडाकोट, स्याङ्जाको सिरुबारी, इलामको श्रीअन्तु तथा धनुषाको मधुबासाजस्ता केही स्थानको मोडेल र सिकाइबारेमा पनि जति प्रवद्र्धन हुनुपर्ने हो त्यो हुन नसकेको कुरा विकास विशेषज्ञ तथा प्राध्यापकहरूले औंल्याएका छन् ।
नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आज राजधानीमा आयोजना गरेको एक छलफल कार्यक्रममा विकास विशेषज्ञ हिम्मतसिंह लेकालीले ‘रामेछाप गोल्माटारको नमुना विकास’का बारेमा कार्यपत्र प्रस्तुत गर्दैै भन्नुभयो, ‘गोल्माटारको विकासलाई दिगो विकासको कसी लगाएर हेर्दा त्यहाँ आजभन्दा २० वर्षअघि नै सामुदायिक विकास र एकताको उदाहरणीय मोडेल तयार भएको र विश्वका विभिन्न ठाउँमा पनि त्यसका सकारात्मक पक्षहरूको चर्चा हुने गरेको थियो, तर १० वर्षे द्वन्द्वपछि भने गोल्माटारको सामूहिक एकता र विकास गतिविधिमा पनि राजनीतिक असर देखापरेको पाइयो ।’ ‘ऊर्जाशील युवा नेतृत्वले नै स्थानीय विकासमा विशेष भूमिका खेल्न सक्ने’ पनि उहाँको निष्कर्ष थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिविविका प्राध्यापक तथा प्राकृतिक विज्ञान सङ्गहालयका प्रमुख डा. धर्मराज डङ्गोलले गोल्माटारजस्ता ग्रामीण सामुदायिक विकास मोडेलहरू वास्तवमा हाम्रा लागि विकासका ‘खुल्ला विश्वविद्यालय’ र ‘खुल्ला सङ्ग्रहालय’ नै हुन्, त्यस्ता ठाउँका बारेमा थप अध्ययन, भ्रमण, र अभिलेखन गर्ने कार्यमा विकासकर्मी तथा प्राज्ञिक जगत लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता विकासमूलक सिकाइका पाठहरू हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तकमा आउनुपर्छ ।’ अर्का टिप्पणीकार ग्रामीण विकासविद् दलबहादुर जिसीले सहभागीमूलक सामुदायिक विकासको सफलता र असफलतामा ‘होमोजिनस’ (उस्तै जाति) र ‘हेटेरोजिनस’ (फरक–फरक जाति) समुदायको प्रकारले पनि भूमिका खेल्ने हुँदा विकास विश्लेषकहरूले ती कुरा पनि सूक्ष्म तरिकाले अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सभापतित्व गरिरहनुभएका नेपानका अध्यक्ष एवम् विकासविद् चेतनाथ कणेलले ‘करिब दुई दशकअघि नेपानले गोल्माटारको सफल कथा त लेख्यो, तर अहिलेसम्म पनि सफल नै छ कि अथवा अर्कै अवस्थामा छ, त्यो बारेमा छलफल गर्नु पनि कार्यपत्रको उद्देश्य रहेको’ कुरा उल्लेख गर्नुभयो । छलफल कार्यक्रममा गोल्माटार गाउँबाट आउनुभएका ४ जना सहभागीहरूले पनि आफ्ना धारणाहरू राख्नुभएको थियो । ‘पछिल्लो समय युवा विस्थापन एवम् द्वन्द्व र २०७२ को भुइँचालोको प्रभावले पनि हाम्रा विकास प्रयासहरूलाई पहिलेकै गतिमा अगाडि बढाउन चुनौती थपिएको छ’, उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा पूर्व सांसद एवम् नेपानका कार्यकारी निर्देशक फटिक थापा, तेजबहादुर सुनार, सिंहबहादुर खड्का, केशब घिमिरे, डा. नरेन्द्रसिंह ठगुन्नालगायतले आफ्ना विचारहरू राख्नुभएको थियो । नेपानले विगत २३ वर्षदेखि विकास सवालमा समुदायको सहभागिता, समावेशिता, पारदर्शिता तथा आपसी जवाफदेहिताको अभ्यास गर्दै विकासका राष्ट्रिय मुद्दाहरू उठाउँदै आएको छ ।