योगमाया सम्मानबाट निहारिका र ज्ञाानमणि सम्मानित
पुष्पा खनाल । काठमाडौँ । नेपाल स्रष्टा समाजले समाजसुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान योगमाया दिवसको अवसरमा प्रदान गरेको छ ।
२५,१११ राशिको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र २०,१११ राशिको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरिएको हो ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीका हातबाट स्रष्टा निलम कार्की निहारिकालाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान अर्पण गरिएको थियो । योगमायामा विषयमा वृहत अनुसन्धान गरी आख्यानको माध्यमबाट योगमायालाई समाजमा चिनाउन गर्नुभएको योगदानका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो । त्यस्तै नेपाल स्रष्टा समाजमा अध्यक्ष पवन आलोक र सम्मानका संस्थापक राजेश न्यौपानेका हातबाट योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान अर्पण गरिएको हो ।
यस वर्ष योगमाया विशेष सम्मानबाट हिरण्यप्रसाद भण्डारीलाई पनि सम्मान गरिएको छ । योगमायाको सान्निध्य पाउनु भएका ९९ वर्षका भण्डारीले योगमायाको व्यक्तित्वलाई बाहिर ल्याउन तथा उहाँका धेरै कुराहरुको संरक्षणमा विशेष योगदान पुर्याउनु भएको छ । उहाँका परिवारका छ जना सदस्य पनि योगमायासँगै जलसमाधिमा गएका थिए । उहाँहरुमा श्रद्धाञ्जली अर्पण गर्दै निज भण्डारीले योगमायाको व्यक्तित्वलाई उजागर गर्ने असल काम गरेकोले नेपाल स्रष्टा समाजलाई १० हजार आर्थिक सहयोग प्रदान गर्नुभयो ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान वि.सं. २०६५ सालदेखि प्रदान गर्दै आइएको हो भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष २०७५ मा स्थापना गरिएको हो । यी दुवै सम्मानहरु सामाजिक, सांस्कृतिक वेथिति र कुरीतिका विरुद्ध विद्रोह गर्ने समाजसुधारक योगमायाले ६८ जना अनुयायीका साथ अरुण नदीमा जलसमाधि लिएको दिन पारेर प्रदान गरिएको हो ।
सम्मान समारोहमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समाजमा रहेको विभेदलाई अन्त्य गर्न तथा त्यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन योगमायाको ठूलो योगदान रहेको बताउनुभयो । समाजसुधारक योगमायाको व्यक्तित्वलाई उजागर गर्न नेपाल स्रष्टा समाजले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै कुलपति उप्रेतीले भन्नुभयोः त्यसको फलस्वरुप नेपाल सरकारले समेत योगमायाका विषयमा विभिन्न गतिविधिहरु शुरु गर्न थालेको छ । अझै योगमायाका नखुलेका तथ्यहरुको सार्वजनिकीकरणमा सरकारले सहयोग पुर्याउनु पर्दछ ।
नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दै आफूले योगमाया जस्ती बहुप्रतिभाशाली व्यक्तित्वको विषयमा उजागर गर्न र उहाँको प्रसिद्धिलाई अझ उचाईमा पुर्याउन योगमाया राष्ट्रिय सम्मान स्थापना गरी विगत १० वर्षदेखि यो सम्मान प्रदान गर्दै आएको बताउनुभयो ।
सम्मानित स्रष्टा निलम कार्की निहारिकाले योगमायाको नाममा स्थापित सम्मान पाउँदा आफूलाई धेरै गौरव लागेको बताउँदै यसले अझ जिम्मेवारीवोध गराएको र समाज रुपान्तरणका लागि अझ डटेर लाग्ने प्रोत्साहन मिलेको बताउनुभयो ।
योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट सम्मानित स्रष्टा ज्ञानमणि नेपालले योगमाया त्यसबेलाको समाजमा एउटा सशक्त विद्रोहको रुप भएको र उहाँको व्यक्तित्वको प्रभाव धेरै मानिसहरुमा परेको बताउनुभयो । योगमायालाई सशक्त सामाजिक अभियन्ता योगमायालाई चिनाउन आपूmले अझै धेरै गर्ने इच्छा रहेको पनि उहाँले बताउनुभयो ।
योगमाया सामाजिक आन्दोलन समितिका संयोजक, पूर्व सांसद जयन्ती राईले भन्नुभयोः विधिको शासन हुनुपर्छ भन्दै आजका राजनीतिक दलहरुले बोकेको एजेण्डा योगमायाले त्यस बेला नै उल्लेख गर्नुभएको र उहाँकाले समाज परिवर्तनका लागि विद्रोह गनुृभएकाले उहाँको योगदानको उच्च कदर गर्नु राज्यको दायित्व रहेको बताउनुभयो ।
नेपाल स्रष्टा समाजका कार्यसमिति सदस्य गोकुल अधिकारीले सम्मानित व्यक्तित्वहरुको संक्षिप्त परिचय दिनुभएको थियो ।
योगमाया र उनका योगदानहरु तथा योगमाया दिवस मनाउने परम्पराको थालनीको औचित्यबारे नेपाल स्रष्टा समाजका कार्यकारी सदस्य प्रा.डा. गोविन्दमानसिंह कार्कीले प्रकाश पार्नुभएको थियो । उहाँले योगमाया भनेको नारी समानताका विषयमा आवाज उठाउने महिला, धाराप्रवाह रुपमा काव्यात्मक अभिव्यक्ति दिनसक्ने आँशुकवि, र समाजको हर क्षेत्रमा सुधार आवश्यक छ भनेर राणा शासनसमक्ष आवाज उठाउने एक कुशल नेतृ रहेको बताउँदै योगमायाका विषयमा राज्यले पनि गम्भिर भएर सोच्ने बेला आएको बताउनुभयो । उहाँको आन्दोलनको मर्म अझै पूर्ण नभएको र अझ सशक्त रुपमा सो मुद्दालाई उठाउन योगमाया दिवस मनाउनु पर्दछ भन्ने नेपाल स्रष्टा समाजको मान्यता रहेको र आजकै दिनबाट योगमाया दिवस मनाउने परम्पराको थालनी गरिएको उहाँले उल्लेख गर्नुभयो ।
योगमायाका बारेमा विद्यावारिधि गर्ने डा. दिपेश न्यौपानेले योगमायाको जलसमाधि सामाजिक कुरीति र विसङ्गतिका विरुद्ध विद्रोह र बलिदान गर्दै धर्म राज्य स्थापनाका लागि राणाशासनलाई चुुनौति दिने कदम रहेको बताउँदै राज्यले योगमायालाई विभूतिको रुपमा मान्यता दिनुपर्ने र योगमाया दिवस मनाउनु पर्ने बताउनुभयो ।
समारोहमा योगमाया न्यौपाने राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपाने तथा न्यौपाने वन्धु समाजका संरक्षक दयाकृष्ण न्यौपानेले पनि मन्तव्य राख्नुभएको थियो ।
नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कँणेल ‘हरित’ ले समारोहमा स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले नेपाल स्रष्टा समाजले विगत दश वर्षमा गरेका कार्यहरुको जानकारी दिँदै संघीय, प्रादेशिक तथा स्थानीय तहसम्मले साहित्यिक संस्थाको स्थायित्व र विकासमा सहयोग पुर्याउनु पर्ने कुरा औँल्याउनुभयो । कोषाध्यक्ष पुष्पा खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
समारोहमा नेपालका मुर्धन्य साहित्यकारहरु, योयमायालाई श्रद्धा गर्ने अनुयायीहरु तथा योगमायासँग सम्बद्ध विभिन्न संघसंस्थाहरुका पदाधिकारी, सदस्यता तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।