आलोचना गर्ने देशकै शत्रु र भजन गाउने मित्र: ट्रंप र ओलीको साझा बिशेषता
२०१६ को नोभेम्बरमा डोनाल्ड ट्रंपले अमेरिकी रास्ट्रपतिको चुनाव जिते। त्यसपछि मात्र उनि पत्रकारहरुको तारो बने। त्यो भन्दा पहिले उनी ब्यापारी थिए। साम, दाम, दण्ड, भेद गरेर पैसा कमाउने गर्थे। जालझेल गर्थे, आफ्ना कामदारहरुलाई पैसा तिर्दैनथे, आफ्नो केस लड्ने वकिलको शुल्क तिर्दैनथे। कुनै न कुनै तिकडम प्रयोग गरेर सरकारलाई समेत कर तिर्दैनथे। उनी ठग्न सफल भएकोमा आफुलाई बुद्धिमान र ठगिने सरकार वा अन्यलाई मुर्ख ठान्थे। बिज्ञापन र अन्यमा उनले खर्च गर्ने हुनाले उनी पत्रकारहरुको गहिरो अनुसन्धानको तारो पनि बनेनन् । हिलारी क्लिन्टनको अलोकप्रियता र ट्रंपले लिएका दक्षिणपन्थी बिचारहरुको कारण अमेरिकामा बढ्दो प्रबासीहरुको प्रभावबाट चित्त नबुझेर वाक्क दिक्क भएको अतिदक्षिणपन्थी जमातमा उर्जा थपियो। उर्जाबिहिन हिलारी पराजित भइन।
चुनाव जितेपछि प्रेसले उनको ७० बर्षे बिगतको खोजी गर्न थाल्यो। उनका आर्थिक गतिबिधि बाहिर आउन थाले। एक आम नागरिकबाट सरकारी मानिसमा बदलिए पछी स्वभावत: उनको निजी जिन्दगी र निजी क्रियाकलापहरु सार्बजनिक हुने नै भए। उनले बोलेका कुरा बाहिर आए । उनले गरेका नराम्रा कुराहरु सार्बजनिक गरिए।
ट्रंप न्युयोर्क निवासी घर जग्गाका कारोबारी हुन् । घरजग्गाको कारोबारमा सफल भए पछि उनले मनोरंजन ब्यबसायमा हात हाले । बिस्व सुन्दरी प्रतियोगिताको साथै एप्रिण्टाइस नामक रियालिटी शो संचालन गरे । छुद्र र अभद्र बोलि, महिलाहरुको इज्जत माथी संधै प्रहार गर्ने र अपमान गर्ने, षड्यन्त्रमुलक विचार पोखेर उनी संधै चर्चामा रहन्थे । बिपक्षि माथी तल्लो स्तरको भाषा प्रयोग गरेर गाली गर्थे । उनले ब्यक्त गर्ने त्यस्ता अभद्र शैलीका बिचारहरु पत्रकारहरुले अनाबस्यक रुपमा चर्चा परिचर्चा गर्थे जुन उनी चाहन्थे । सकारात्मक वा नकारात्मक रुपमा जे भए पनि आफु टिभीमा देखिइरहनु उनको चाहना थियो । २०१८ को व्हाइट हाउस करेस्पनडेन्स डिनरमा हाँस्य कलाकार मिसेल वल्फ़ले पत्रकारहरुलाई व्यंग्य गर्दै भनेकी थिइन ” बर्षौं अनाबस्यक चर्चा दिएर यो राक्षस निर्माण गर्यो, अब त्यसैलाई भजाएर पैसा कमाउदै छौ” ।
रास्ट्रपति बने पछि भने पत्रकारहरुले उनले बोलेका कुराहरुलाई लिएर जवाफदेहिता खोज्न थाले । उनले पत्रकारहरु माथी हमला शुरु गरे । आफुलाई मन नपर्ने, आफ्नो बिरोध गरिएको समाचारलाइ फेक न्युज अर्थात् झुठो समाचार भनेर निरन्तर आक्रमण गर्न थाले । देश भित्र मात्र होइन देश बाहिर पनि पत्रकारहरुको बेइज्जत गर्ने काम जारी राखे । उनको प्रशंसा गरिएका र उनको कामको समर्थन गरेर भजन गाउने पत्रकार र समाचार संस्था मात्र असल हुन् उनको कार्यशैली, कार्य र बोलीमा प्रश्न उठाउनेहरु सबै अमेरिकी नागरिकका शत्रु हुन् भन्ने षड्यन्त्रमुलक संदेश लगातार प्रस्तुत गरेर तथ्य र सत्यमाथी नाङ्गो प्रहार गरिरहे । बिस्वमैदानमा तानाशाह र हत्याराहरुको पक्षमा दह्रो गरि उभिने र प्रजातान्त्रिक विचार राख्ने नेताहरुलाई तल्लो स्तरको शब्द प्रयोग गरेर आलोचना गरिरहे ।
मानाबधिकार, खुल्ला अर्थतन्त्र र बिस्वब्यापिकरण बिगत ७५ बर्ष देखि अमेरिकाले बनाएका संसार जोड्ने खम्बाहरु हुन । ट्रंपले अमेरिका फर्स्ट भन्ने लोकप्रिय शब्द प्रचारमा ल्याएर आफ्नो दक्षिणपन्थी आधारलाई जिवन्त राखिराखे । चेक एंड ब्यालेन्सको शिद्धान्त अनुसार कांग्रेसले उनका गतिबिधि अमेरिकाका मूल्य र मान्यतामाथि प्रहार गर्दा अंकुस लगाउनु पर्नेमा त्यो पुरै असफल रह्यो । अमेरिकी प्रजातन्त्रका आधारहरु र संस्थाहरुमा नाङ्गो प्रहार गरे तर तिनै संस्थाहरुको योगदानबाट प्रजातन्त्रको उपभोग गरिरहेको रिपब्लिकन पार्टी ट्रंपको बिरुद्ध चुँ पनि बोल्न सकेन । बोल्न नसक्ने मात्र होइन बोल्नेहरु बिरुद्ध जेहाद समेत छेडेको छ । कमसेकम अरु २८ महिना व्यहोर्नु पर्ने ट्रंप प्रशासनले अमेरिकी समाज र बिस्व समुदायमा गरेको क्षति पूर्ति गर्न निकै लामो समय लाग्ने प्रस्ट देखिन्छ ।
नेपालमा ओलीको शैली
भाषा प्रयोगको हिसाबले रुपमा तुलना गर्ने हो भने ट्रंप र वली दाजुभाइ हुन् । ट्रंप दाइ हुन् भने ओली भाइ हुन् । बिपक्षिहरु माथि यी दुवै जना अनुदार र अभद्र देखिन्छन । यी दुबैको अभिव्यक्ति सत्यतथ्यमा आधारित भन्दा पनि तोडमरोड गरेर आफ्नो अगाडी उभिएका दर्शकहरुलाई उफार्ने खालका हुन्छन । ट्रंपले स्वतन्त्र प्रेसलाइ दुश्मन देख्छन भने ओली नेपाली जनताको सस्तो र स्तरिय संबिधान प्रदत्त स्वास्थ्य सेवाको लागि लड़नेहरुलाई दुश्मन देख्छन । चुनाव जितिसके पछि सबै जनतालाई हित हुने काम गरेर जनसमर्थन जारी राख्नुको सट्टा जितको उन्माद मै अधिकांश समय र उर्जा दुबैले खर्च गर्ने गरेका छन् ।
धेरैको भोगाइ के छ भने सत्ताले मान्छे अन्धो बनाउँछ । सत्ताको बागडोर हातमा हुँदा अन्धो नभएको भएर राजा यतिबेला जंगलमा होइन नारायणहिटीमा हुन्थे । सत्ताको उन्मादमा अन्धो नभएको भए शेरबहादुर यतिबेला सडकमा होइन सिंहदरबारमा राज गरिरहेका हुन्थे । बिगतबाट नसिक्ने र भबिस्यको लेखाजोखा गर्न नसक्ने कुनै पनि पार्टी, व्यक्ति वा संस्था दिगो हुन सक्दैन । एक राजनेताले अबको १०० बर्ष पछिको योजना बनाउँछ, राम्रो काम गर्छ र नाम कमाउछ । ४-५ बर्षे सत्ताको मुते न्यानो अनुभूत मात्र गर्ने हो भने दिन कटाउने अहिलेको तरिका जारी राख्दा नै राम्रो हुन्छ ।
ट्रंपले आफ्नो प्रशंसा नगर्ने र बिरोध गर्नेहरुलाई गाली गरे जस्तै ओली पनि त्यसै गर्छन । कार्यकर्ता, जनता र पत्रकारहरुको काम देशको बागडोर संचालन गरेर बसेकाहरुलाई निरङ्कुश हुन नदिनु, उनीहरुले बाटो बिराउँदा सजग गराउनु हो । कार्यकर्ता, जनता र पत्रकारहरुको काम गल्ति औंल्याउने हो । उनीहरुलाई गल्ति गर्न नदिनु उनीहरुको कर्तब्य हो एक सजग नागरिकको रुपमा । सत्ता र सरकारको आडमा बसेर लाभ लिनेहरुले मात्र भजन गाउने हो । भजन गाउने त एक महिना नटिक्ने बाटो बनाउन अर्बौंको ठेक्का लिनेहरुले हो । भजन गाउने त मेडिकल कलेज रुपी पसल खोलेर जनताको स्वास्थ्य माथि खेलवाड गर्दै पैसा कमाउनेहरुले हो । त्यसमाथि देशमा अवसर नपाएर विदेश भास्सिनेहरुले त बेथिति गर्नेहरुमाथि बिरोधको आवाज उठाउने हो, उनीहरुको जुनसुकै बहानामा भजन गाउनु उपयुक्त हुँदैन । अमेरिकामा रिपब्लिकन पार्टीले आफ्नो रास्ट्रपतिले गरेका गम्भीर गल्तिहरु प्रति आँखा चिम्ले जस्तै ओलीहरुकै अकर्मण्यताले बिदेसिन बाध्य नेपालीहरुले नेपालमा वर्तमान सरकारले गर्ने गम्भीर गल्तीहरूमा आँखा चिम्लिने छैनन् भन्ने आश गरौँ । सचेत भनेर दावी गर्ने ती बिदेशिएका नेपालीहरुले ठिक बेठिक छुट्टाउन सक्ने नसक्ने भन्ने कुरा थाहा पाउन भने केहि समय कुर्न गाह्रो मान्नु हुँदैन ।