एचडीएनपीले रक्तदान कार्यक्रम सम्पन्न गर्यो: २० जनाले गरे रक्तदान
डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People) अर्थात् एचडिएनपीले गत सनिबार अर्थात जुलाई ७ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो २६ औं पटक हो।
एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै आएको छ। घरबार बिहिनहरुलाई हरेक महिना जसो खाना खुवाउने काम यो संस्थाले गर्दै आएको छ। खाना खुवाउने कार्यक्रममा देखिने भिडले अमेरिकामा पनि भोका नाङ्गा मान्छे छन् र भन्ने मान्छेहरुलाई चकित बनाउछ।
एचडिएनपीको अध्यक्षमा देवी आचार्य हुनुहुन्छ। यो संस्थाको अर्को सुन्दर पक्ष के हो भने यसमा अध्यक्ष बाहेक अरु सबै जसो युबाहरु छन्। एचडिएनपीले गर्ने हरेक कार्यक्रममा यी युबाहरुको सक्रियता लोभलाग्दो हुन्छ। उनीहरु जस्तै अन्य युबा साथीहरु “केटा वा केटी” साथीहरु लिएर मस्का मार्दै हिडिरहदा उनीहरु भने खान नपाएकाहरुलाई खुवाउन लागि परेका हुन्छन। यी युबाहरुलाई सलाम। समाजसेवा गर्न बुढो हुनुपर्छ भन्नेहरुलाई उनीहरुले काम गरेर जवाफ दिएका छन् ।
अमेरिकामा स्थापित अधिकांश संस्थाहरु नेपाली र नेपाल केन्द्रित छन्। तर एचडीएनपीले दुबैतिर सहयोग गरेको छ। आफ्नो जरो भएको ठाउँ नेपालमा पनि यसले काम गरेको छ भने आफ्नो कर्मभूमि प्रतिको कर्तब्य पनि यसले पुरा गरेको छ। आफ्नै छेउछाउ भएका व्यक्तिहरुलाई पनि सहयोग गर्नु पर्छ, आफु बसेको समुदाय प्रति पनि हाम्रो जिम्मेवारी छ भनेर यसले बोध गराएको छ।
एचडीएनपीले गर्न सबै कार्यक्रमहरुमा गोरो छाला समेत देख्न पाइन्छ। नेपालीहरुका अन्य कार्यक्रममा त्यति धेरै गोराहरुको उपस्थिति पाइदैन। तर एचडीएनपीको हरेक कार्यक्रममा गोरगोरीहरु समेत देखिन्छन। गहुँ गोरो छाला भएकाहरुको हातबाट गोरो छाला भएकाहरु लाभान्वित भएको यहाँ देख्न पाइन्छ। गोरो अनुहार देख्दा बित्तिकै डलर र सहयोगको अपेक्षा गर्ने अवस्था यस्ता कार्यक्रमहरुमा देख्न सकिन्न।
डालस नजिकै रहेको आर्लिङ्ग्टन सिटिमा रक्तदान कार्यक्रम भएको थियो भने उक्त सिटिकि मेयर लरी बियानको पनि उपस्थिति रहेको थियो। उक्त अबसरमा २० जनाले रक्तदान गरेका थिए।