द एक्स ब्याण्डसंग अन्तरक्रिया सम्पन्न; सांगीतिक मेलामा उपस्थित हुन डालसबासीमा अनुरोध
डालस, टेक्सास । जुलाई ७ गते सनिबार लास कोलिनस स्थित टोयोटा म्युजिक फ्याक्ट्रीमा सम्पन्न हुन गैरहेको सांगीतिक मेलाको पूर्व सन्ध्यामा आज यहाँ बेड्फ़ोर्ड स्थित फिस्टेल रेस्टुरेन्टमा पत्रकार तथा समुदायका व्यक्तिहरुसंग एक बिशेष अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका पत्रकारहरु, आयोजक नेप्सिनेका पदाधिकारीहरु तथा सांगीतिक मेलामा आफ्नो कला प्रस्तुत गर्न नेपाल र अमेरिकाका बिभिन्न शहरहरुबाट आउनु भएका कलाकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा सबैलाई स्वागत गर्दै आयोजक संस्था नेप्सिनेका महाप्रबन्धक रायन कार्कीले कार्यक्रमको लागि नेपाल देखिको लामो यात्रा तय गरेर आउनु भएका कलाकारहरुलाई बिशेष धन्यवाद दिनु भएको थियो । त्यसै गरी शनिबार हुनलागेको कार्यक्रमको उद्देस्य, महत्व बारे समेत प्रकास पार्नु भएको थियो । नेपाली कला, संस्कृति र संगीतको सेवा गर्ने उद्देस्यनै कार्यक्रमको उद्देस्य रहेको उल्लेख गर्दै नेपाली संगीतको विकासमा डालसबासीले साथ् दिने विश्वास व्यक्त गर्नु भएको थियो ।
त्यस्तै द एक्स ब्यान्डको तर्फबाट बोल्दै भोकलिस्ट शिव मुखियाले ब्यान्डको इतिहास र संगीत बारे चर्चा गर्नु भएको थियो । ब्याण्डको २५ बर्षे यात्रामा धेरै उतारचढाव व्यहोरेको उल्लेख गर्दै नेपाली संगीतमा द एक्स ब्याण्डले केहि इँटा थप्न सफल भएकोमा गर्ब अनुभूत भएको बताउनु भएको थियो । त्यस्तै नेपाली गीत र संगीत पारखिहरुको चाहना बमोजिम नै आफ्नो अमेरिकाको पहिलो यात्रा शुरु भएको उल्लेख गर्दै डालसबाटै यो यात्रा शुरु भएकोमा डालसबासीले यसलाई सफल बनाउनेमा आफु बिस्वस्त रहेको विचार व्यक्त गर्नु भएको थियो । द एक्स ब्याण्डका हिट गीतहरु बिबिध प्रकारका रहेको र ती कुनै न कुनै रुपमा सबै उमेर समुहका नेपालीहरुलाई समेट्न सक्ने र भोलिको कार्यक्रममा पनि यिनै हिट गीतहरुद्वारा टोयोटा म्युजिक फ्याक्ट्री गुन्जिने उल्लेख गर्दै यसमा आएर रमाउन र नेपाली संगीतको बिकासमा सहयोग गर्न समेत आग्रह गर्नु भएको थियो ।
बोस्टनबाट आउनु भएका सारंगीबादक श्याम नेपालीले बिदेसमा रहेर पनि यस्ता कार्यक्रमहरु आयोजना हुनु खुसीको कुरा भएको उल्लेख गर्दै सारंगीलाइ हाम्रो परम्परागत बाजाबाट आधुनिक मुलधारको बाजामा रुपान्तरण गर्न आफुले प्रयास गरिरहेको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा आयोजक फ्युजन इन्टरनेसनलका युबराज सिंह, नेप्सिनेका बजार ब्यबस्थापक प्रणव उप्रेती , बोस्टनबाट मण्डेज जन्किज, मिनिसोटाबाट भविस्य ब्याण्ड, एफ वान ब्याण्ड, रियर मिरर ब्याण्डका प्रतिनिधिहरुका साथै क्यालिफोर्नियाबाट आउनु भएका युवा गायक अंकित ढकाल र गायिका वर्षा कर्माचार्यले आफ्ना विचारहरु व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन नेपाली समाज टेक्सासकी महिला संयोजक आइषा ओझाले गरेकी थिइन ।