आफ्ना समर्थकहरुलाई निराश पारेनन् मेस्सीले: अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
रुसमा जारी विश्वकपमा समुह चरण खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाइजेरियालाई २—१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे ।
अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गरे । मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने बाटो खोलेका थिए ।
अर्जेन्टिनाले खेलको ५१ औँ मिनेटमा पेनाल्टीको सामना गर्नुपर्यो । जाभिएर मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डी एरियाभित्र तानेर लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भिक्टोर मोसेसले पेनाल्टीबाट गोल गर्दै बराबरी गरेका थिए ।
८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोहोले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले राहतको श्वास मात्रै फेरेन, विश्वकपको अन्तिम १६ मा पनि पुग्यो ।
समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित भएपछि नाइजेरियाविरुद्धको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा थियो । Source: News24