प्रबासीले नेपालको चिन्ता कति लिने कति नलिने
गएको बुधबार गैर आबासिय नेपाली संघ अमेरिका टेक्सास च्याप्टरले एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । अतिथिहरु थिए अघिल्लो सप्ताहान्तमा सान फ्रान्सिस्कोमा आयोजित बिज्ञ सम्मेलनमा सहभागी केहि व्यक्तित्वहरु । गैर आबासिय नेपाली संघका पुर्ब अध्यक्ष जीवा लामिछाने प्रमुख अतिथि थिए भने नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदी पनि अन्तरक्रियामा उपस्थित थिए । त्यस्तै एनआरएनका उपाध्यक्ष कुमार पन्त पनि कार्यक्रमका आकर्षण थिए ।आइसीसी सल्लाहकार हेमराज घिमिरे, आइसीसी सदस्य महेश श्रेष्ठ र ओम गुरुङले पनि मन्तब्य दिनुभएको थियो ।
जिन्दगीमा भाषण धेरै सुनियो । हामी नेपाली ठुला देखि सानासम्मले जानेको भनेको भाषण गर्न हो । भाषणको भारी बोक्नु पर्ने ठाउंमा मलाई जान त्यति सारो मन पर्दैन । भाषण गर्नेहरुले पनि सम्बोधनको लामो चाकडी बजाउने हाम्रो संस्कार उस्तै छ । माइक पाए पछि छोड्न नपरोस भन्ने हामीलाई लाग्छ । बोल्नु पर्ने कुराहरुका बुंदाहरु कागजमा टिपेर टक्क टक्क बोलेर आफुलाई छुट्टाइएको समयमा सिद्धाउने हाम्रो बानी छैन ।
यसपाली भने हामीले धेरै सुनेका जिवा लामिछाने, कुमार पन्त जस्ता हस्तीहरु आउने कुराले उत्साहित बनायो । अमेरिकाको एनआरएनको दुर्दशा देख्दै भोग्दै आएको हामीले उहाँहरुबाट केहि कुराहरु सुन्न पाउने छौं भन्ने लालसा थियो । समय सिमा, पदिय मर्यादा र सिमामा रहेर उहाँहरुले आफ्ना मन्तब्य व्यक्त गर्नु भयो । एनआरएनले नेपालमा गर्न सक्ने योगदान, पाउने सुविधाहरुबारे विचारहरु व्यक्त गरिए । नेपालमा जन्मेको र हुर्केको एउटा नेपालीले भावनात्मक रुपमा नेपालमा कति चासो लिनु ठिक हुन्छ भन्ने बारेमा उल्लेख नगरे पनि त्यो माटो प्रतिको ऋण तिर्नु पर्छ भन्ने नै सबैको भनाइ पाइयो । बिदेसिएका नेपालीहरु सबैको मनको कुरा त्यहि हो ।
एनआरएनहरुलाई नेपाल सरकार र नेपालीहरुले कसरी हेर्छन भन्ने जिज्ञाशा सबैमा थियो । बिशेष गरी नेपाली राजनीतिक दलहरु भित्र एनआरएनको पक्ष र बिपक्षमा राम्रै हैसियतका नेताहरु लागेको परिप्रेक्षमा राजनीतिक दलहरुको धारणा कस्तो होला भन्ने सबैको जिज्ञाशा थियो यद्यपि ती कुराहरु पनि पत्रिका, रेडियो र टेलिभिजनका पर्दाहरुमा देखी रखिएको थियो । नेपाली र नेपाली राजनीतिक दलहरुको एनआरएन प्रति अहिले कस्तो धारणा छ भन्ने .प्रस्ट पार्न बोलाइएका थिए बिद्यार्थी नेता डिल्लीराम सुबेदी ।
के भने दिल्लीराम सुबेदीले ?
नेपाल ठिक छ, तपाईंहरुले धेरै चिन्ता लिइराख्नु पर्दैन । बलियो सरकार आएको छ, यसले काम गर्दै जान्छ । हामी लामो समयसम्म राजनीतिक संक्रमणबाट गुज्रिनु पर्यो । त्यसकारणले हामीले भने जति विकास गर्न सकेनौ । हाम्रो राजनीतिक प्रणाली कस्तो बनाउने भन्ने बहसमै हामीले करिव ८ दशक बितायौं । तर हामीले अब त्यो बाटो पहिल्याएको पाएका छौं । नेपालको संविधानले सबैलाई बराबरीको हक प्रदान गरेको छ भने सबैको पहिचानलाई स्वीकार गरेको छ ।
केहि पत्रपत्रिकाहरुको हेडलाइन हेरेर नेपालको अहिलेको स्थिति जान्न सकिन्न । समाचारमा आएका नकारात्मक कुराहरु सबै सहि होइनन । नेपाल बर्बादै भयो भन्ने सोंच्नु पर्दैन । राजनीतिक दलहरु झगडा गरे भनेर चिन्ता लिइरहनु पर्दैन तपाईंहरुले । हामीहरु झगडा गर्छौं अनि मिल्छौं पनि । यहाँ बसेर नेपालका नेतालाई गाली गर्नु भन्दा आफुले सिकेका कुराहरु हामीलाई भन्नुस । उता भन्दा यतै आफ्नो स्थिति बलियो पार्न ध्यान दिनुस । तपाईंहरुले सिकेका राम्रा कुराहरु नेपालमा ल्याउनुस । नेपालमा लगानी गर्नुस । राजनीतिक स्थिरताको कारण अब नेपालमा लगानी गर्न हिच्किच्याउनु पर्दैन ।
डिल्लीराम सुबेदीका यी शब्दहरु जति मिठा थिए त्यति नै स्पस्ट पनि । उनले शब्दमा नभने पनि अर्थमा भने प्रबाशी नेपालीहरु भावनामा भन्दा यथार्थमा ज्युन आग्रह गरे । उनले बिदेशी नागरिकता लिइसकेपछि नेपालको राजनीतिमा चिन्ता लिनु स्वाभाविक नभएको विचार घुमाउरो पाराले व्यक्त गरे । सकिन्छ सहयोग गर्नुस नत्र गाली चाहिं नगर्नुस भन्ने नै उनको आसय थियो । लालबाबु पण्डित जस्ता बिदेशिएका नेपाली बिरोधि स्वरहरुको उच्चारण सम्म नगरी एनआरएनहरुलाई सुबेदीले आस्वस्त पार्न खोजे ।
प्रबाशी नेपाली र नेपालमा बस्ने नेपालीबिचको खाडल
अहिले सार्क राष्ट्र बाहेक अन्य देशमा ६० लाख भन्दा बढी नेपालीहरु बसोबास गर्छन । उनीहरु भूगोलको नेपालमा नबाँचे पनि भावनाको नेपाल नै बाँचेका छन् । आफु बसेको देशमा हुने दुर्घटनामा भन्दा नेपालमा हुने दुर्घटनामा उनीहरु बढी चिन्तित हुन्छन । हार्भी नामक हुरी अमेरिकामा जाँदा भन्दा नेपालको तराइ जलमग्न हुँदा उनीहरु बढी पिडा महशुश गर्छन । आफु बस्ने देशमा हजारौको ज्यान लिने बिपत्तिको भन्दा नेपालमा जाने भूकम्पको उनीहरुलाई बाढी चासो हुन्छ । यसरी उनीहरु भावनाको नेपाल बाँचेका छन् भूगोलको होइन । नेपालमा बसेर नेपाल आमालाई नै चुस्नेहरु भन्दा बिदेशमा दुख गरेर नेपालको भलो चिताउने नेपाली सच्चा नेपाली हो भन्ने उनीहरु विश्वास गर्छन ।
नेपालमा बस्नेहरु मध्ये कतिपयले भगौडा समेत भनेको पाइन्छ । केहि बर्ष अमेरिका बसेर नेपाल फर्केर केहि गर्छु भनेर लागेका पत्रकार रबि लामिछाने बिरुद्ध गरिएको षड्यन्त्र हामीले देखी सकेका छौं । यसले नेपाल फर्केर केहि गरौँ भन्नेहरुलाई सोंच्न बाध्य बनाएको छ । यो वा त्यो नाममा सरकारी तबरबाटै बिदेशिएका नेपालीहरुलाई फर्किन अभिप्रेरित गर्नु भन्दा दुरुत्साहित गर्ने अभिस्ट धेरैमा देखिन्छ । जन्मेको देशमा फर्किंदा पनि डाहा गर्ने प्रवृति कतिपयमा देखिएको छ । यो राम्रो होइन ।
जे होस् नेपालको विकास र उन्नति प्रबासी नेपालीहरुको एकमात्र चाहना हो । उनीहरु मध्ये अधिकांशको यसमा अर्को कुनै स्वार्थ छैन । जन्मेको हुर्केको ठाउंमा फर्किन चाहे जतिबेला पनि उनीहरु फर्किन सक्छन । तर डिल्लीराम सुबेदीले भने जस्तै प्रबासी नेपालीहरुले कर्मभुमिमै राम्रो गरेर नेपाललाई गाली होइन सकारात्मक योगदान गर्नु पर्छ । नेतालाई गाली गर्ने जमात त नेपालमा नै छंदैछ ।
अन्तरक्रियाको आयोजक एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष भानु खरेलले उपस्थित सबै पाहुनाहरुलाई स्वागत तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव पदम ठकुराठीले गर्नु भएको थियो । उक्त कार्यक्रममा डालस क्षेत्रका विभिन्न संघ संगठनका पदाधिकारीहरुको साथै एनआरएन आइसीसीका क्षेत्रिय अध्यक्ष गौरी जोशीको समेत उपस्थिति थियो। प्रस्तुति : लेखनाथ गौतम