यौन हिंसा बिरुद्ध लड्न आइषा र श्रद्धाहरुलाई समाजले साथ दिन जरुरी छ
अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपले सपथ लिएको दिन देखि शुरु भएको “मी टू” आन्दोलन अहिले पनि जारी छ। ट्रंपको आफ्नो जीवनकालमा एक ब्यापारीको रुपमा महिलालाई हेर्ने दृस्टीकोण निकै तल्लो स्तरको थियो। उनले महिलाहरुलाई बस्तु ठान्थे र पैसावाला र ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने धारणा राख्थे। पैसाकै भरमा उनले धेरैलाई बोल्न बन्द गराएका थिए। उनी रास्ट्रपतिमा निर्बाचित भए संगै धेरै महिलाहरु आफूमाथि कथित ठुलाबडाहरुले गरेका यौन हिंसाको बिरुद्धमा आन्दोलन शुरु गरे। त्यसकै कारण बिगत केहि समय देखि पद र पैसाको भरमा महिलाहरु माथि हिंसा गर्नेहरु पदबाट राजिनामा दिन बाध्य भए। “मी टू” आन्दोलनले एक किसिमले समाजमा राम्रै प्रभाव पार्न सफल भयो।
यो आन्दोलनले अमेरिकी समाजमा एक किसिमको जागरण पैदा हुन थालेको आभाष हुँदैछ। आफ्नो शरीर माथि आफ्नै हक हुनुपर्छ भन्ने धारणाले आम जनमानसमा प्रभाव पार्न थालेको छ। एकातिर ट्रंप प्रशासन अघि बढेको अमेरिकी समाजलाई न्यायालय, प्रशासन र अन्य संयन्त्रद्वारा पछाडी धकेल्ने प्रयत्न गर्दैछन भने त्यसलाई चुनौती दिन महिला, अल्पसंख्यक, युबा र आप्रबशीहरु एकजुट हुँदैछन्। फलस्वरूप तत्काल अर्को कुनै परिस्थिति सिर्जना नभएको अबस्थामा २०१८ को नोभेम्बरमा हुने मध्यावधि निर्बाचनमा प्रतिनिधिसभा रिपब्लिकन पार्टीको नियन्त्रणबाट डेमोक्र्याट पार्टीको बहुमतमा जाने आंकलन गरिएको छ। अमेरिकाको राजनीतिमा भैरहेको यस्तो भिडन्तले अमेरिकामा रहेको नेपाली समाज समेत तरंगित बनेको आभाष हुँदैछ। इज्जतको डर देखाएर, भिषाको स्टाटसको डर देखाएर यौन शोषण गरिरहेका केहि ठुलाबडाहरु नाङ्गिने क्रम शुरु भएको छ।
हिजो अर्थात् जुन ७ बिहिबार नेपाली समाज टेक्सासको आयोजनामा “यौन हिंसा” सम्बन्धि जनचेतना जगाउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा डालस फोर्ट वर्थका “नेपाली तारा”हरु आइषा ओझा र शारदा श्रेष्ठले कार्यक्रम संचालन गरे। भर्खरका कलिला उमेरका ती नानीहरुको साहस र उर्जाको जति नै बयान गरे पनि कम हुन्छ। शारदा श्रेष्ठले बिद्यार्थीको रुपमा डालस आउँदा भोगेको हिंसाको व्यथा सुनाइन। “यौन हिंसा” मन नपरेको जुनसुकै यौनिक गतिबिधि भएको कुरा सुनाउदै आफु जस्तो खुबै तगडा मान्छे समेत यौन हिंसाको शिकार भएको उदाहरण दिंदै पिडित मान्छेले भोग्ने समस्यामा उक्त घटना बाहिर ल्याउँदा कमी नहुने भए पनि पीडकले पाउने सजायले अन्य पीडकहरु सजग हुने हुनाले अरुले त्यो भोग्नु नपर्ने अवस्था आउने उनले बताइन।
कार्यक्रममा आइषा ओझाले भावुक हुँदै डालसको सेरोफेरोमा भएका घटना बारे रोष प्रकट गरिन। ६ वटा घटनाको रिपोर्ट आफुलाई प्राप्त भए पनि कानुनको ढोकामा एउटा मात्र घटना पुगेको र ५ वटा घटना दबाइएकोमा उनले गम्भीर असन्तुस्टी जनाइन। समाजमा मै हुँ भन्नेहरु, व्यवसायीहरु र नेताहरु नै सहकर्मी र आफ्ना कामदार माथि यौन हिंसामा संलग्न भएको भन्दै आक्रोश व्यक्त गरिन। हाम्रै दाजुभाइहरुबाट हाम्रा दिदीबहिनीहरु असुरक्षित हुने हो भने यो प्रबाशमा हाम्रो अवस्था कस्तो होला भन्ने प्रश्न गर्दै हरेक समस्यामा आफुले समाधानको लागि उनीहरु तर्फ हेरेको तर तिनै व्यक्तिहरु यस्ता कर्तुतहरुमा संलग्न भएको देख्दा आफुलाई लज्जाबोध भएको सुनाइन। पैसाको चलखेल गरेर पिडितलाइ बाहिर आउन नदिने कुकर्म भएकोमा त्यसले भोलि अरु घटना पनि दबाइने र पीडकहरु उत्साहित हुनसक्ने उनको तर्क थियो । कार्यक्रममा प्रमिषा तिमिल्सिनाले “आइ, मी एंड ही” शिर्षकको कबिता बाचन गरेर सुनाएकी थिइन्।
महिलाहरुलाई यौन हिंसा के हो र त्यसबाट कसरी बच्ने भन्ने अन्तरक्रियात्मक कार्यक्रम भए पनि महिलाहरुको उपस्थिति भने नगन्य थियो। कार्यक्रमकै समयमा मुसलधारे पानी परेकोले कतिपयलाई आउन कठिनाइ समेत भएको थियो।
समाजको अपेक्षा र संचार माध्यमको भूमिका
कार्यक्रमको अबधिभर म धैर्यतापुर्बक बसें। कतिपयले संचारकर्मीहरुले यो समस्यामा आँखा चिम्लेको गुनासो गरे भने कतिले त यी घटना दबाउन समेत भूमिका खेलेको आरोप लगाए। मलाई थाहा भएन त्यो संकेत को तर्फ थियो। तर समाजसेवाको रुपमा संचारकर्म गरेको म जस्तोको लागि त्यो नमिठो लाग्यो। मैले यो घटनाको गहिराइमा पुगेर अध्ययन गरेको छैन। पेशागत रुपमा म पत्रकार नभएकोले धेरै समय बिताएर यस्ता घटनालाई बाहिर ल्याउन मलाई सम्भव छैन। पिडितहरु सिधै हामीसंग नआउने तर जहाँ आउँछन उनीहरुले हामीलाई सूचना दिन्नन। पीडक भनिएका व्यक्तिहरुको नाम दिन कसैले मानेनन्। कसैको नुन नखाएकोले मलाई सहि, सत्य र बास्तविक आरोपहरु बाहिर ल्याउन मलाई कुनै अप्ठेरो छैन। यहाँका जुनसुकै ठुलाबडाहरुको नाम आयो भने पनि तिनलाई समाजसामु उदाङ्ग पार्न मलाई कुनै डर छैन।समाजमा बिभिन्न भूमिकामा रहेका महिलाहरु समेत आइषा र शारदा जस्ता “तारा” हरुको सहयोगमा सक्रिय नहुनु अर्को बिडम्बना हो।
हिजोको भेलामा ४ जना मात्र महिला उपस्थित हुनु लाजमर्दो अवस्था हो । यति ठुला माछाहरु संलग्न भएका अपराधहरुमा लड्न यी कलिला नानीहरुले मात्र कसरी सक्छन ? यिनीहरुलाई समाजको अलिकति पनि चिन्ता भएकाहरुले साथ् नदिने हो भने हाम्रो समाज अझ धेरै कलंकित हुनेछ। काम दिने नाममा, काम गर्ने इजाजत नभएको नाममा कमजोरीको फाइदा उठाउँदै यौन हिंसा गर्ने, काम गरेको पैसा नदिने, काम बापत उचित पैसा नदिएर श्रम शोषण गर्नेहरुलाई आफ्नो आफ्नो तर्फबाट प्रतिबाद नगर्ने हो भने यिनीहरु अझै प्रोत्साहित हुनेछन्। कतिपयले त यसलाई बाहिर ल्याउँदा बिद्यार्थीहरुको रोजगारी समेत प्रभावित हुने कुतर्क समेत गर्ने गर्छन। यहाँ व्यक्तिगत सम्पर्कको आधारमा बाहेक कसैले बिचरा भनेर र टीठ लागेर कसैलाई जागिर दिएको छैन। नेपालीहरु अरु भन्दा बढी इमान्दार, परिश्रमी र भरपर्दा हुने भएकोले नेपाली ब्यापारीहरुले पनि नेपाली नै खोज्ने गरेका हुन। श्रम बजारमा अन्य श्रमिकहरुको अभाव पनि बिद्यार्थीहरुले काम पाउने अर्को कारण हो। आफ्नै बिभिन्न स्वार्थको कारणले नै हो उनीहरुलाई काम लगाएको, काम दिएको छु भनेर कसैले फुर्ति नगरे हुन्छ।
यो घटनाको रुप बाहिर आए संगै त्यस्ता कर्तुत गर्नेहरुको मनमा ढ्याङ्ग्रो ठोकेको छ। पैसा छ भनेर जे गरे पनि हुन्छ भन्नेहरु कानुनको मात्र होइन समाजको कठघरामा एकदिन पक्कै उभिनु पर्नेछ। पैसा वा प्रभावको आडमा केहि घटना त दबाउन सकिएला तर समयको चक्र परिबर्तन संगै तिनीहरुले पनि अरु माथि गरेको पापको नियति पक्कै भोग्नु पर्नेछ।प्रस्तुति: लेखनाथ गौतम