युएनएद्वारा आयोजित भलिबल टुर्नामेन्टमा “स्टार बोयज क्लब रातो अर्भिंग” च्याम्पियन बन्यो
डालस, टेक्सास । युनाइटेड नेपालिज एसोसियसनको तेश्रो सम्मेलन गत आइतबार सम्पन्न भयो । सम्मेलनको उद्देस्य नेपाली युबाहरुलाई अमेरिकाको मुलधारमा समाहित गर्न आबस्यक पुर्बधार निर्माण गर्नु हो । खेलकुद ती पुर्बाधारहरु मध्ये एक महत्वपूर्ण क्षेत्र हो । सो अबसरमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल जस्ता खेलहरुको आयोजना गरियो । अमेरिकाका बिभिन्न राज्यहरुबाट खेलाडीहरु आए, आफ्नो कुशलता प्रदर्शन गरे ।
नेपाल पहाडी मुलुक भएकोले फुटबल र क्रिकेट जस्ता खेलहरुको लागि उपयुक्त मैदान पाउन गाह्रो छ । त्यसैले नेपालमा बिशेष गरी पहाडी क्षेत्रमा धेरै पहिले देखि नै भलिबल लोकप्रिय थियो । अमेरिका आएका अधिकांश प्रौढ व्यक्तिहरु भलिबल खेल्न र हेर्न अत्यन्त रुचाउँछन् । सोहि लोकप्रियताको कारण युएनएले भलिबल टुर्नामेन्टको आयोजना गरेको थियो ।
भलिबल खेलमा डालस र अस्टिनका युलेस ए र बी , प्रोग्रेसिभ फोर्ट वर्थ टीम, स्टार बोयज रातो र निलो अर्भिंग, सुदुर पश्चिमेली समाज, रुकुमेली समाज र एभरेस्ट स्पाइकर्स गरी ८ वटा टीमहरुको सहभागिता थियो भने सबै टीमले राम्रो प्रदर्शन गरेका थिए । अन्त्यमा एकदमै प्रतिष्पर्धात्मक खेलका बीच स्टार बोयज रातो अर्भिंग बिजयी हुन सफल भएको थियो । लीग र नकाउट चरणमा खेलाइएको उक्त खेलमा रुकुमेली समाज अस्टिन रनर अप हुन सफल भएको थियो ।
टुर्नामेन्टमा भएका प्राय सबै खेलहरु रोचक र प्रतिष्पर्धात्मक थिए । दर्शक दीर्घामा रहेका कोहि पनि खेल अबधिमा निदाउने परिस्थिति सिर्जना भएन । खेलको शुरुवात गैर आबसिय नेपाली संघका पुर्ब अध्यक्ष शेष घलेले सर्भिस गरेर गरेका थिए भने सो अबसरमा छोटो मन्तब्य दिंदै खेलकुद र शिक्षामा जोड दिन खेलाडीहरुलाइ आग्रह गर्नुभएको थियो ।
यसबर्षको च्याम्पियन बन्न सफल स्टार बोयज रातो अर्भिंगका खेलाडीहरुमा भुवन आले, भिम थापा, रमेश बोहोरा, राजेन्द्र थापा, भरत केसी, श्याम खत्री, जीवा बुढा, संजय रानाभाट, दिपक छेत्री र दिपक खत्री थिए । खेल अबधिभरको मुल्यांकन अनुसार स्टार बोयज क्लब रातो अर्भिंगका स्पाइकर रमेश बोहोरा मोस्ट भेलुएबल प्लेयर भएका थिए भने फाइनल खेलमा स्टार बोयज क्लब रातो कै भिम थापा म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै सेमिफाइनलमा रुकुमेली समाज अस्टिनका दिपक थापा र स्टार बोयज रातो अर्भिंगका भरत केसी म्यान अफ द म्याच बन्न सफल भएका थिए ।
खेलमा स्थानीय समाजसेवी हरि थापा, महेश नेपाल, नगेन्द्र लिम्बु र भोजन छेत्रीले रेफ्रीको भूमिका कुशलतापुर्बक निभाउनु भएको थियो । गत आइतबार एक बिशेष समारोहका बीच सम्पूर्ण खेलाडीहरुलाई प्रमुख अतिथि शेष घलेले नगद पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गर्नु भएको थियो । पहिलो हुने स्टार बोयज रातो अर्भिंगले पुरस्कार स्वरुप एक हजार डलर प्राप्त गरेको थियो भने दोश्रो हुने रुकुमेली समाज अस्टिनले पांच सय डलर प्राप्त गरेको थियो ।