जुन ९ गते सनिबार नेपाली समाज टेक्सासको स्वास्थ्य शिविर
डालस, टेक्सास, मे २९ । नेपाली समाज टेक्सासको आयोजनामा जुन महिनाको ९ गते सनिबार फेरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । महिला संयोजक आइषा ओझाका अनुसार कार्यक्रम बिहान ९ बजे देखि दिउसो १ बजे सम्म चल्नेछ ।
नेपाली समाज टेक्सासले लामो समय देखि यस्ता सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ । स्वास्थ्य शिविर समाजको सबभन्दा लोकप्रिय कार्यक्रम रहँदै आएको छ । डालस वरपर रहेका नेपालीहरुलाई संगठित गर्दै उनीहरुका समस्याहरुमा सक्दो सहयोग गर्ने मात्र होइन नेपालमा आइपर्ने दैवी बिपत्तिहरुमा पनि उल्लेख्य सहयोग गर्दै आएको छ । सन् १९९८ स्थापित नेपाली समाज टेक्सास बिस्वभरि रहेका धेरै नेपाली संस्थाहरुमध्ये अग्रणी र सक्रिय संस्था हो ।
बिगतमा स्वास्थ्य शिविर गरिंदै आए पनि यसपटक त्यसको दायरा फराकिलो गर्न लागिएको आइषाले बताइन । हामीले पक्कै नेपालीहरुलाई फोकस गर्नु पर्छ तर हामी नेपालीहरु मै सिमित हुनु हुँदैन । त्यसको लागि यसपटकको स्वास्थ्य शिविरमा अरु देशबाट आएकाहरुको लागि पनि खुल्ला गरिएको छ । त्यसै गरि यस अघि नेपाली डाक्टर, नर्स र स्वयंसेवीहरुको मात्र सहभागितामा शिविर संचालन हुने गरेको थियो भने यसपटक डालस फोर्ट वर्थ वरिपरि रहेका हस्पिटलहरु र स्वास्थ्य संस्थाहरुसंग सहकार्य गर्न लागिएको ओझाले बताइन ।
स्वास्थ्य शिविरमा नियमित चेक जांच गरिनुको साथै ४० काटेका महिलाहरुको लागि मेमोग्राम, ५० काटेकाहरुको लागि कोलोन क्यान्सरको स्क्रिनिंग समेत गरिनेछ । त्यस्तै आँखाको जांच, दांतको जांच, रगत परिक्षण, हेपाटाइटीस बि र सीको स्क्रिनिंग लगायत अन्य सेवाहरु संचालन गरिनेछ भने कतिपय सेवाको लागि पूर्व तयारी गर्नु पर्ने भएकोले दर्ता गर्न अनुरोध गरिएको छ । त्यसको लागि नेपाली समाज टेक्सास कि महिला संयोजक आइषा ओझालाई सम्पर्क गर्न समेत सुचित गरिएको छ ।