अमेरिकाको डालसको यौन हिंसाको समाचार र यसका बहुआयामहरु

यतिबेला डालस टेक्सासको नेपाली समाज तरंगित बनेको छ। कारण हो रोजगारदाताद्वारा कामदारमाथिको यौन हिंसा। नेपाली समाजको घेराबाट उम्केर कानुनको ढोकामा पुगेको यो मुद्धाले धेरैलाई केहि सोंच्न बाध्य बनाएको छ। केहि दिनदेखि सामाजिक संजालमा र नेपाली अनलाइन पत्रिकाहरुमा समेत यो बिषय चर्चाको बिषय बनेको छ। यस्तो पनि हुन्छ र भन्ने देखि पीडकलाई हदै सम्मको कानुनी कारबाही देखि सामाजिक बहिस्कारको माग जताततै प्रकट भैरहेका छन्।
यौन हिंसा भन्नाले सामान्यतया इच्छा बिपरित गरिने यौनजन्य हर्कतलाई बुझ्नु पर्छ। अमेरिकी कानुनमा यौन हिंसालाई गम्भीर अपराधको रुपमा लिइएको छ। यौन हिंसा हरेक व्यक्तिको बुझाइ, सोंचाई, चरित्र, संस्कार अनुसार फरक हुने हुनाले यसलाई एकै ठाउँमा राखेर हेर्न सकिन्न। त्यहि गतिबिधि कसैको लागि हिंसा लाग्न सक्छ भने कसैको लागि सामान्य। अमेरिकी समाजमा कसैलाई छुँदा वा अंकमाल गर्दा सामान्य रुपमा लिने गरिन्छ भने पुर्बिय सभ्यतामा यो अलि अस्वीकार्य मानिन्छ। बढ्दै गएको बिस्वब्यापिकरणले यसका सिमाहरु पनि भत्केका छन्।


अमेरिकामा गरिएका विभिन्न सोध अनुसन्धान अनुसार करिव एक चौथाई जनसंख्या कुनै न कुनै प्रकारको यौन हिंसाबाट पिडित भएको पाइन्छ। अधिकांश अमेरिकीहरुको जीवन काममा बित्ने भएकोले काम गर्ने ठाउंमा हुने यौन हिंसाले नै यसको धेरै भाग ओगटेको छ। यौन हिंसा भन्नाले महिला पिडित हुन्छन भन्ने सामान्य मान्यता भए पनि अहिले त्यो फेरिंदै गएको छ। यसमा पुरुष समेत सिकार हुने गरेका छन्। बिशेष गरी समलिंगीहरुको संख्या वृद्धि हुँदै जाँदा पुरुषबाटै पुरुष हिंसाको सिकार हुनुको साथै कतिपय महिला समेत यौन हिंसामा सामेल हुने गरेका धेरै उदाहरण पाइन्छ।
नेपालमा यस्ता हिंसा बिरुद्ध गतिलो कानुन छैन। कानुनको राज चल्छ भनिएको अमेरिकामा कानुन त छ तर यौन हिंसा प्रत्यक बर्ष बढ्दै गएको छ। सन् १९६४ देखि नै कानुन निर्माण गरी यौन हिंसा बिरुद्ध कदम चालिए पनि यो प्रकोप रोकिएको छैन।पिडितहरु खुलेर बाहिर आउन नसक्नु, प्रमाणित गर्न अप्ठेरो हुनु संगसंगै लामो समय सम्म समाजमा त्यसको असर रहिरहनु यसका मुख्य कारणहरु हुन्। आफु माथि परेको अन्याय सार्बजनिक गर्दा त्यसको भारी जिन्दगीभर बोक्नु पर्ने हुनाले यो एकदमै जोखिमपूर्ण काम हो। वर्तमान अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपमाथि दर्जनौं यौन हिंसाका आरोप लागे पनि उनी अमेरिकी रास्ट्रपति बन्न सफल भए तर बाहिर आएका महिलाहरु बिभिन्न खाले धम्की, सामाजिक र पारिवारिक समस्याबाट गुज्रिरहेका छन् । हिंसा बिरुद्ध बोल्दा सामाजिक रुपमा तत्काल साथ पाइने भए पनि त्यस पछि हरेक दिन भोग्नु पर्ने समस्याहरुमा पीडक एक्लै हुनुपर्ने बाध्यता यसको ठुलो खराब पक्ष हो।

स्तम्भकार: लेखनाथ गौतम

केहि समय पहिला पत्रकार रबि लामिछानेसंगको सम्बादमा अमेरिका टेक्सासबाटै एक नेपाली चेलीको दर्दनाक घटना सार्बजनिक भएको हो। त्यस अघि लोकप्रिय गायिका निक्की कार्कीले फेसबुक लाइभ मार्फत आयोजकमध्यका एक जनाले गरेको हर्कतको खुलासा गरेकी थिइन। अहिले सतहमा आएको घटना भने ग्याँस स्टेसन र होटेलमा काम गर्ने नेपाली चेलीहरुमाथि गरिएको छ। कामदारहरुका बिभिन्न खाले कमजोरीको फाइदा मालिकहरुले उठाउन खोज्ने प्रवृति दुनियाँमा नौलो होइन। परदेशमा आफ्नै नेपालीहरुबाट यस्तो हर्कत भएकोले यसको सम्बेदनशिलता बढेको पाइन्छ।
अमेरिकाको टेक्सास धेरै नेपाली बिद्यार्थीहरुको लागि सजिलो ठाउँ मानिन्छ। सस्तो बसोबास, सस्तो कलेज फी र काम पाउन सजिलो हुने हुनाले नेपाली बिद्यार्थीहरुको लागि डालस केन्द्र बनेको छ। धेरै नेपाली बिद्यार्थीहरु होटेलहरुमा र मलहरुमा काम गर्छन भने कतिपय ग्याँस स्टेसनमा समेत काम गर्ने गर्छन। ग्याँस स्टेसन धेरै नै जोखिमयुक्त ठाउँ हो। धेरै मान्छेहरु र हरेक बर्गका मान्छेसंग सम्पर्क हुने हुनाले यसमा हिंसाको सम्भावना अधिक छ। तर विभिन्न कारणले गर्दा यस्तो ठाउंमा काम गर्न नेपाली चेलीहरु बाध्य छन् बिशेष गरी बिद्यार्थीहरु।
टेक्सास सजिलो भनिए पनि बिद्यार्थीहरुको लागि अमेरिका फलामको च्युरा हो। पढ्न अमेरिका गए पनि नेपालमा परिबारको अपेक्षाको भारी देखि अमेरिकामा बस्न खान, कलेजको स्टाटस कायम गर्नु पर्ने हुनाले बिद्यार्थीहरु अझ बिशेष गरी केटीमान्छेहरु हिंसाको सिकार हुने सम्भावना अत्यधिक हुन्छ। काम गर्ने बैधानिक बाटो नहुँदा र नेपालबाट पैसा ल्याएर पढ्ने अवस्था नहुँदा उनीहरु काम गराउने मालिकहरुको गिद्दे नजरमा पर्ने सम्भावना रहन्छ। थोरै पैसामा काममा लगाउने, कुनै बिदा नदिने, कुनै सुविधाहरु नदिने प्रचलन यहाँ ब्यापक छ। उनीहरुको स्टाटसको फाइदा उठाएर गिद्दे नजर लगाउने मालिकहरुको यहाँ कमी छैन। तर बिभिन्न बाध्यताका कारण उनीहरु त्यस बिरुद्ध बोल्न सक्दैनन्। बोल्न हिम्मत गर्नेहरुको पनि फलो अप नहुने हुनाले निरास हुनुपर्ने अवस्था छ।
यसको अर्को पक्ष भनेको पर्सेप्सन अर्थात् “कसरी लिने” भन्ने पनि हो। त्यहि कुरा कसैलाई मजा लाग्ने हुन सक्छ भने कसैलाई असजिलो। यस्तोमा हरेक मान्छेको व्यवहार फरक मान्छे संग फरक हुनुपर्छ। यस्तोमा पर्सेप्सनको ठुलो भूमिका हुन्छ। त्यसैले यस्ता कुराहरुबाट बच्न आफु अघिको मान्छेको पृष्ठभूमि बुझ्न जरुरी हुन्छ। पक्कै पनि कुनै व्यक्तिले एकै चोटी त्यस्तो हर्कत गर्न सक्दैन एकाध बाहेक। त्यसैले यौन हिंसा बाट बच्न सुरुवातको अबस्थामा उचित प्रतिक्रिया जनाउन जरुरी हुन्छ। सुरुमा गरिएका सानातिना कुराहरुलाई नजर अन्दाज गर्ने तर स्थिति बिकराल भए पछि मात्र धेरै मान्छे बाहिर आउने गरेको देखिन्छ।

कसरी बच्ने यौन हिंसाबाट ?
पर्सेप्सन अर्थात् बुझाइको भूमिका यसमा ठुलो हुने भएकोले यसमा ध्यान पुर्याउन धेरै जरुरी छ । गलत पर्सेप्सनको कारण पिडित मात्र होइन पीडक मानिएको व्यक्तिको सामाजिक र पारिबारिक क्षति अपुरणिय हुने हुँदा यसमा झन् ख्याल राख्नु पर्ने हुन्छ। यसको बास्तबिकता सामाजिक संजालमा भनिएका कुराहरुबाट मापन गर्न सकिन्न। पीडक मानिएका व्यक्तिले आफ्नो कुरा राख्ने अवसर पाउनु पर्छ भने पीडकले न्यायको भिख माग्दै रुँदै घरघर धाउनु पर्ने अवस्था हुनुहुँदैन। सबभन्दा राम्रो भने यस्ता हिंसाबाट बच्न के गर्न सकिन्छ भनेर सोहि अनुसार आफुलाई तयार गर्दै सुरक्षित रहनु हो।
यसको शुरुवात स्वयम् आफुबाटै हुनुपर्छ। कसैले आफु माथि खराब नजर लगाएको भान हुने बित्तिकै त्यसलाई त्यहीं रोक्न प्रयत्न गर्नु पर्छ। त्यसलाई बेवास्ता गरेर अघि बढ्न खोज्यो भने पीडकलाई उत्प्रेरणा प्राप्त हुन सक्छ। तिमीले गरेको गतिबिधि स्वीकार्य छैन भन्ने स्पस्ट संदेश उसलाई दिनु पर्छ। त्यसको लागि सकिन्छ उसकै अगाडी मलाई यस्तो मन पर्दैन भन्न सकिन्छ भने एसएमएस मार्फत आफुलाई उसको कुन गतिबिधि मन परेको छैन उल्लेख गरेर पठाउनु पर्छ। त्यसपछि पनि रोकिएन भने अन्य उपाय तिर लाग्नु पर्छ। पहिलो चोटी कोहि यौन हिंसा तिर अग्रसर भएको छ र त्यसले पहिलो चोटीमै बिरोधको सामना गर्नु पर्यो भने ९०% व्यक्ति पछि हट्ने सम्भावना रहन्छ।
यौन हिंसाबाट बच्न आफु अनुसासित हुन जरुरी हुन्छ। आफ्नो बोलि र गतिबिधि पीडकलाई प्रोत्साहित गर्ने खालको नहोस भन्ने तर्फ सचेत रहनु पर्छ। सकेसम्म समूहमा बस्ने, कसैले भेट्न बोलाएको बेलामा साथि लिएर जाने हो सार्बजनिक ठाउंहरुमा भेट्नु उपयुक्त हुन्छ। यी साना तर धेरै महत्वपूर्ण काम गर्दा भबिस्यमा आउन सक्ने अप्ठेरो स्थिति बाट बच्न सकिन्छ। नम्रता र सम्मानपुर्बक बोल्नु यस्ता खाले हिंसाबाट जोगिने अर्को अस्त्र हो । तपाईंले कोर्नु भएको सम्मानको लक्ष्मणरेखा काट्ने हिम्मत अधिकांशमा हुँदैन।

जे होस् अहिलेको यो घटनाले नेपाली समुदायमा एक खाले जागरण शुरु भएको छ। परिस्थितिको फाइदा उठाउने रोजगारदाताहरु पनि सचेत भएर आफ्ना कामदारहरुलाई मानबीय व्यवहार गर्दै कामदारहरुलाई घरमा जोत्न राखेको हलीको रुपमा होइन आफ्नै ब्यबसायको अभिन्न अंगको रुपमा व्यवहार गर्न चेतना मिल्ने आशा गर्न सकिन्छ। यसमा संलग्न पीडकको उचित सजाय होस् र नेपाली चेलीहरुले फेरी डालसमा यस्तो हर्कतबाट पिडित हुन नपरोस, यहि नै हामी सबैको चाहना हो।

 

सम्बन्धित समाचार

1 Comment for “अमेरिकाको डालसको यौन हिंसाको समाचार र यसका बहुआयामहरु”

  1. Dirgha Sharma

    मैले थाहा पाएसम्म एनएसटी को नवनिर्वाचित १-२ जना पदाधिकारी आर्थिक र नैतिक मामिलामा अत्यन्त बदनामी कमाएका मान्छेहरु हुन् l उदाहरणको लागि, नवनिर्वाचित एकजना ओक्लोहामामा रहंदा सेक्सुअल र इमेल चोरी गरेको काण्डमा परेको व्यक्ति हुन् l उनले त्यहाँ रहेको केही नेपाली महिलाको इमेल एकाउन्ट खोलेर हेरेको, त्यसको दुरुपयोग गरेको, एउटी चेलीलाई आफ्नी श्रीमती नेपालमा हुँदाहुँदै मेरो विवाह गरेको छैन, तिमीलाई अपनाउछु भनेर बर्षौं सम्म नाजायज फाइदा लिएको, नक्कली इमेल आइडी बनाएर अरु नेपालीलाई यौनजन्य गन्ध आउने तथानाम इमेल पठाएको जस्ता घृणित कामहरु गर्ने व्यक्तिलाई कसरी जिताइयो? ती व्यक्ति नर्म्यान ओक्लाहोमाको नेपाली समाजको सामाजिक बहिष्कारमा परेका थिए, नेपालीहरुको गेट-टुगेदर र प्रोग्राम हुँदा सबैलाई बोलाइएपनि ती ब्यक्ती लाई कहिले पनि बोलाइदैनथ्यो l एउटा यस्तै यौनजन्य घटनामा ती व्यक्तिले आइन्दा यस्तो नगर्नु भनेर त्यहाँको यूनिवर्सिटी बाट वार्निंग समेत पाएको हुन् ! हामी त्यो बेलामा त्यहाँको नेपाली समाजमा काम गरेको मान्छे हौँ, यो कुरा विश्वास लाग्दैन भने त्यतिबेलाको त्यहाँ रहेका नेपालीहरु जस्तै चारु, सुभा, प्रिती, किरण, नम्रता, सन्दिप, केशव, सन्तोष, नारायण थापा, त्यहाँको समाजसेवी पन्त सर आदि सबैलाई सोधेर बुझे हुन्छ l त्यस्तै NST को निर्बाचन आयोगमा रहेको एकजना नेपालमा रहंदा धेरैजनाको लाखौं पैसा हिनामिना गरेर ठगी काण्डमा परेको व्यक्ति हुन् अनि यस्तो मान्छेहरु रहेको संस्थाले गर्ने छानबिन कस्तो होला, आफैं बिचार गरौँ l

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907