गाजा: सोमवार मारिएका ५८ जनाको अन्तिम संस्कार
गाजामा सोमवार प्यालेस्टनी विरोध प्रदर्शनका क्रममा इजरेली सेनाले गोली चलाउँदा मारिएका ५८ जना मानिसहरूको अन्तिम संस्कार भइरहेको छ।
सोमवार भएको हिंसालाई सन् २०१४ को लडाइँ यताको सबैभन्दा खराब भनिएको छ।
मृतकहरूलाई समाधिस्थ गरिँदै गरेको दिन इजरेलको स्थापनापछि सामूहिक रूपमा प्यालेस्टिनीहरू विस्थापित भएको नक्बा भनिने दिन को सत्तरीऔँ वार्षिकी परेको छ।
इजरेली सेनाले मङ्गलवार पनि थप भिडन्तका लागि तयार अवस्थामा रहेको बताएको छ।
तर प्यालेस्टिनी समूहहरूले विरोध प्रदर्शनलाई केही नियन्त्रित गर्ने सङ्केत दिएका छन्।
संयुक्त राज्य अमेरिकाले जेरुसलेममा आफ्नो पहिलो दूतावासको उद्घाटन गरेका बेला सोमवार हिंसा भएको थियो।
परिवर्तन
त्यस्तो विवादास्पद अमेरिकी कदमले दशकौँदेखि निरन्तर अमेरिकी नीति परिवर्तन गरेको थियो र प्यालेस्टिनीहरूलाई आक्रोशित तुल्याएको थियो।
प्यालेस्टिनीहरू पूर्वी जेरुसलेमलाई आफ्नो भावी प्यालेस्टिनी राज्यको राजधानीका रूपमा दाबी गर्ने गर्दछन्।
त्यहाँ दूतावास सार्ने अमेरिकी कदमलाई समग्र शहरलाई नै नियन्त्रण गर्न खोज्ने इजरेली चाहनाको समर्थनको रूपमा लिइएको छ।
जेरुसलेमलाई इजरेलले आफ्नो अविभाज्य राजधानी मान्ने गर्दछ।
‘आत्मरक्षा‘
सोमवारको हिंसालाई ‘आम नरसंहार’ भन्ने गरेका प्यालेस्टिनीहरूले त्यसमा २७ सय मानिस घाइते भएको बताएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उनको देशको सेनाले आत्मरक्षाका लागि कदम चालेको दाबी गरेका छन्।
इजरेलले गरेको बल प्रयोगलाई संयुक्त राष्ट्र सङ्घीय मानवाधिकार कार्यालयले चर्को आलोचना गरेको छ।
गाजासिटीमा रहेका बीबीसीका मध्यपूर्व सम्पादक जेरमी बोवेन भन्छन्, “जुन स्तरमा मानिसहरू मारिएका छन् त्यसबाट गाजामा स्तब्धता छाएको छ।”